भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालको बेथिति आफैँले बोलाएको बैठकमा कार्यकारी निर्देशक अनुपस्थित

भक्तपुर क्यान्सर अस्पतालको बेथिति आफैँले बोलाएको बैठकमा कार्यकारी निर्देशक अनुपस्थित

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूको सेवाको सर्त र सुविधासम्बन्धी विनियमावली २०८३ बारे स्पष्ट पार्ने एकल एजेन्डासहित आइतबार बोलाइएको अस्पताल व्यवस्थापन समितिको बैठकमा सदस्य सचिव एवं अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसे आफै बिनाजानकारी अनुपस्थित भएको समाचार छ ।
२०७७ साल कार्तिक २४ गते नेपाल सरकारले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन आदेश जारी गरी सरकारी स्वामित्वमा लिएदेखि नै त्यहाँ कार्यरत डाक्टर, नर्सलगायतका कर्मचारीहरूको सेवा सुविधासम्बन्धी विनियमावली तयार गरी स्वास्थ्य मन्त्रालयमार्फत पारित गराउने प्रक्रिया थालिएको थियो । लामो समयसम्मको प्रयासपछि २०८३ जेठ १३ गते व्यवस्थापन समितिको बैठकले पारित गरेको थियो । उक्त विनियमावलीबारे थप स्पष्ट पार्ने उद्देश्यले सदस्य सचिवको हैसियतले कार्यकारी निर्देशक डा. चालिसेले औपचारिक पत्र प्रेषित गरेर आइतबार बिहान ८ बजेका लागि आप्mनै कार्यकक्षमा बैठक बोलाएको तर उनी आफै अनुपस्थित भएको बताइएको छ ।
“बैठकमा अध्यक्ष स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ र भक्तपुर नगरपालिकाका प्रतिनिधि रवीन्द्र ज्याख्व उपस्थित थिए । सरोकारवाला कर्मचारीहरू बिहानैदेखि बैठकको तयारीमा जुटेका थिए । संसदीय समितिका सांसदहरू प्रमिला कुलुजु र कुसुम महर्जन पनि बिहानैदेखि कार्यकारी निर्देशकको कार्यकक्षमा थिए । तर, बैठक डाक्ने कार्यकारी निर्देशक अनुपस्थित भए,” बैठकको तयारीमा जुटेका एक कर्मचारीले बताए । उनका अनुसार व्यवस्थापन समितिका अध्यक्षले पटक–पटक कार्यकारी निर्देशकलाई फोन गर्दा पनि उनी सम्पर्कविहीन भए ।
कार्यकारी निर्देशकको गैरजिम्मेवारीपूर्ण कार्यले एकातिर ‘भोज डाकेका व्यक्ति आफै भोजस्थलबाट बेपत्ता भएको’ चर्चा चलिरहेको थियो भने अर्कोतिर सांसदहरूको समेत अपमान भएको अनुभव गरिएको थियो । बिहान ८ बजेदेखि साढे चार घण्टासम्म कुर्दासमेत कार्यकारी निर्देशकको अत्तोपत्तो नहुनु र फोन सम्पर्कमा समेत नआउनु के गैरजिम्मेवारी होइन । अस्पतालजस्तो संवेदनशील संस्थाको जिम्मेवारी बोकेका डाक्टर त चौविसै घण्टा सम्पर्कमा रही सचेततापूवर्क निर्देशन दिनुपर्नेमा आफैँले डाकेको बैठकमा आफैँ अनुपस्थित हुनु के विश्वासघात होइन ?
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको निर्देशनमा विनियमावली पारित भएको विषयमा आपूmहरूले गत असार ३२ गते बिहीबार अस्पतालमा आएर व्यवस्थापन समितिका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल गरेको र त्यसकै आधारमा आइतबारका लागि व्यवस्थापन समितिको बैठक बसेर सोहीअनुरुपको प्रतिवेदन मन्त्रालयमा बुझाउन आफूहरू बैठकमा सहभागी भएको उल्लेख गर्दै व्यवस्थापन समितिले गत जेठ १३ गते गरेको निर्णय नै आधिकारिक भएकोले मन्त्रालयमा स्वीकृति प्रक्रिया अगाडि बढाउन मन्त्रीलाई अनुरोध गर्ने निर्णय भएको बुझिएको छ ।
बैठकमा उपस्थित हुन नसकिने व्यहोराको पत्र दर्ता नै फर्जी !
बैठकको सुरुमै अध्यक्षले व्यवस्थापन समितिका केही सदस्यहरू बैठकमा उपस्थित हुन नसक्ने तथा बैठकको स्थान र मिति सार्न अनुरोधसहितको पत्र मोबाइलमा प्राप्त भएको जानकारी गराए । तर, दर्ता मिति साउन १ गते उल्लेख गरिएको उक्त पत्र साउन २ गते शनिबार बेलुकी ७ बजे एक कार्यालय सहयोगीमार्फत दर्ता गरिएको सीसी टीभी फुटेजमा देखिएको र उक्त पत्रको सक्कल प्रति कार्यालयमा अभिलेखमा नरहेको स्रोतले बतायो । अघिल्लो दिनको मिति राखेर शनिबार सार्वजनिक बिदाको दिन बेलुकी ढिलो गरी पत्र दर्ता गर्नु र उक्त पत्रको सक्कल प्रति दर्ता गर्ने आफैँले लिएर जानु सन्देहात्मक रहेको बताइन्छ ।
अस्पतालको लागि आवश्यक करोडौँ मूल्यको मेडिकल इक्वीपमेन्ट खरिद तथा औषधि खरिद प्रक्रियामा भ्रष्टाचार भएको र कार्यकारी निर्देशकले नियमविपरीत अस्पतालबाट लिँदै आएको लाखौँ रकम असुलउपर गर्नुपर्ने ठहरसहित महालेखा परीक्षण प्रतिवेदन सार्वजनिक भएको समाचार प्रकाशित भइसकेको छ ।
अस्पताल सञ्चालनका लागि नभई नहुने तथा तीन सत्न्दा बढी कर्मचारीहरूको हितमा जारी हुने विनियमावली स्वीकृतिको प्रक्रियामा ढिलाइ गर्न खोज्नुका पछाडि कार्यकारी निर्देशकको भ्रष्टाचार काण्ड बाहिरिने डर त होइन ? अथवा विनियमावलीले आफूलाई पनि बाँधिने हुँदा मनपरी गर्न नपाइने चिन्ता त होइन ? – चर्चाको विषय बनेको छ ।
बैठकमा उपस्थित हुन नसक्ने व्यहोरासहितको संयुक्त पत्रमा हस्ताक्षरित पदाधिकारीहरू सबैजना नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) सँग सम्बन्धित रहेको र तिनीहरूले अस्पतालको भलो नचाहेको चर्चा पनि छ । क्यान्सर पीडित बिरामीहरूबाट उठाइएको रकममा भ्रष्टाचार गरी भक्तपुर क्यान्सर अस्पताललाई दुहुनो गाई बनाएको विरोधमा एनसीआरएसको विरुद्ध सङ्घर्ष गर्दै उक्त अस्पताललाई सरकारीकरण गरिएको थियो ।
‘घण्टी’ सांसदहरू पनि अस्पताल विकासको पक्ष र विपक्षमा !
भ्रष्टाचार र नातावादको विरोध तथा सुशासनको नारा बोकेर जनमत बटुलेका ‘घण्टी’ सांसदहरू नै भक्तपुर क्यान्सर अस्पतालको कर्मचारी विनियमावलीको पक्ष र विपक्षमा बाँडिएको चर्चा छ । दलगत वा गुटगत स्वार्थका कारण अस्पतालका कर्मचारीहरूको भविष्य र बिरामीहरूको स्वास्थ्य उपचारमाथि खेलबाड गर्ने छुट कसैलाई छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *