भर्खरै :

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन : ओएचसीएचआर

गाजाको कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित छैन : ओएचसीएचआर

जेनेभा, ५ साउन (क्यूएनए) । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले युद्ध–विराम घोषणा भएको नौ महिना भइसक्दा पनि गाजापट्टिका कुनै पनि क्षेत्र प्यालेस्टिनीहरूका लागि सुरक्षित नभएको पुष्टि गरेको छ ।
इजरायली सेनाले युद्ध–विरामको बाबजुत पछिल्लो समयमा गाजापट्टिका विभिन्न क्षेत्रमा आफ्ना आक्रमणहरू बढाएको जनाइएको छ । जसका कारण अधिकांश प्यालेस्टिनी महिला तथा बालबालिकालगायत अन्य मानिसहरूले मृत्यु वरण गर्नु परेको ओएचसीएचआरले जनाएको छ । इजरायली सेनाले आवासीय भवनहरू, आन्तरिक रूपमा विस्थापित मानिसहरूलाई आश्रय दिने विस्थापित शिविर र अन्य मानवीय जन–घनत्व धेरै भएका क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गर्दा धेरै मानवीय क्षति भएको ओएचसीएचआरले प्रस्ट पारेको छ ।
ओएचसीएचआरका प्रवक्ता थमीन अल–खितानले कार्यालयले सन् २०२५ अक्टोबरदेखि सन् २०२६ अप्रिलको मध्यसम्म इजरायली आक्रमणमा परी ६८५ जना प्यालेस्टिनी नागरिकको हत्या भएकोे पुष्टि गरेको छ । जसमा अधिकांश महिला तथा बालबालिका रहेको जनाउँदै उहाँले सनाखत तथा प्रमाणीकरणको काम जारी रहेको बताउनुभएको छ ।
गत जुलाई १३ देखि २० सम्म ओएचसीएचआरलले इजरायली सेनाले ६ जना बालबालिका र आठ जना महिलासहित कम्तीमा ५७ जना प्यालेस्टिनीको हत्या गरेको रेकर्ड गरेको छ । यी पीडितहरूमध्ये ३४ जना इजरायली सेनाले लगाएको ‘पहेँलो रेखा’ बाट टाढाका क्षेत्रमा मारिएको प्रवक्ताले प्रस्ट पार्नुभएको छ ।
निरन्तरको आक्रमणहरूमा भएको नागरिकहरूको हत्याले गाजामा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन र युद्ध अपराध तथा अन्य सम्भावित दुर्घटनाको जोखिम बढेको चिन्ता उत्पन्न गरेको ओएचसीएचआरले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार सर्वसाधारणलाई जानाजानी आक्रमण गर्नु युद्ध अपराध भएको ओएचसीएचआरको कार्यालयले औंल्याएको छ ।
लामो युद्धका कारण गाजामा प्यालेस्टिनीहरू सधैँ सङ्कुचित जीवन बाच्न बाध्य रहेको जनाउँदै ओएचसीएचआरले इजरायली कब्जा शक्तिले ‘पहेँलो रेखा’ बाट लगातार पश्चिमतिर सर्दै निरीह प्यालेस्टिनीहरूको जीवनलाई निरन्तर खतरामा राखी प्यालेस्टिनीहरूमाथि नियमित रूपमा द्वन्द्वको श्रृङ्खला चलाएको उल्लेख गरेको छ ।
यसैबिच ओएचसीएचआरका प्रवक्ता अल–खितानले गाजामा प्यालेस्टिनीहरूमाथि निरन्तर जारी गरिएका मानव अधिकार उल्लङ्घनजन्य पीडा र दुःखलाई बेवास्ता गर्न नसकिने विषयमा जोड दिनुभएको छ ।
सन् २०२३ अक्टोबर –७ देखि गाजापट्टिमा इजरायली कब्जाले चलाएको नरसंहारजन्य युद्धबाट मृत्यु हुनेहरूको सङ्ख्या ७३ हजार २९३ पुग्नुका साथै एक लाख ७३ हजार ९०६ जना घाइते भएको जनाइएको छ । इजरायली कब्जा बलहरूले गाजापट्टिका धेरै क्षेत्रहरूमा थप गोलाबारी, छापा र भारी आक्रमण गरेर गाजापट्टिमा युद्ध–विराम सम्झौताको उल्लङ्घन गर्ने कार्य जारी राखेको पनि ओएचसीएचआरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *