भर्खरै :

जनविश्वासको केन्द्र बन्दै ख्वप अस्पताल

  • श्रावण ७, २०८३
  • कृतिका प्रजापति
  • विचार
जनविश्वासको केन्द्र बन्दै ख्वप अस्पताल

एक वर्षमा ७४ जिल्लाका ३ लाख २७ हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले नागरिकलाई गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । भक्तपुर नगरपालिकाले स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माण, आधुनिक उपकरण खरिद तथा विशेषज्ञ सेवा प्रवाहमा निरन्तर जोड दिँदै आएको छ । नागरिकलाई आफ्नै नगरभित्र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुसार ख्वप अस्पताललाई क्रमशः आधुनिक सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्दै आएको छ । यसबाट नगरवासी मात्र नभई भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक तथा काठमाडौँ उपत्यकाका अन्य क्षेत्रका सेवाग्राहीले समेत प्रत्यक्ष लाभ पाइरहेका छन् । देशैभरका अस्पतालहरू हप्तामा दुई दिन बिदा भई बिरामीहरू समस्यामा परिरहेको बेला भक्तपुरको ख्वप अस्पतालले भने हप्तैभरि सेवा दिएर उदाहरण प्रस्तुत गरेको छ ।
ख्वप अस्पतालमा ओपीडी सेवा, आकस्मिक उपचार, प्रयोगशाला परीक्षण, एक्स–रे तथा अल्ट्रासाउन्ड सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, स्वास्थ्य परामर्श सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन् । हाल बाल रोग, नाक–कान र घाँटी रोग, हाडजोर्नी तथा नशा रोग, दम तथा छाती रोग, स्त्री रोग, छाला रोग, भिडियो एक्स रे, इन्टरनल मेडिसिन, एम.डी.जी.पी., दन्त सेवा, जनरल सर्जरी, मुटुरोग, न्युरो सर्जरी सेवा, मानसिक रोग सेवा, नेफ्रोलोजी सेवा, युरोलोजी सेवालगायतका विशेषज्ञ सेवा अस्पतालले प्रदान गर्दै आएको छ ।
अस्पतालले आधुनिक स्वास्थ्य उपकरण, दक्ष जनशक्ति तथा सेवामैत्री वातावरणमार्फत उपचार सेवालाई थप प्रभावकारी बनाउँदै लगेको छ । साथै, जनस्वास्थ्य प्रवद्र्धन, रोगको समयमै पहिचान तथा स्वास्थ्य सचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
स्थानीय तहको आफ्नै स्वास्थ्य संस्थाका रूपमा ख्वप अस्पतालले भक्तपुरवासीलाई सहज, भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै समुदायको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
ख्वप अस्पतालको इतिहास भक्तपुर नगरपालिकाद्वारा वि.सं. २०३० सालमा स्थापना गरिएको जनस्वास्थ्य सेवा केन्द्रसँग जोडिएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले ख्वप अस्पताललाई स्तरोन्नति गरी १०० शøयाको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने, वडा–वडामा स्वास्थ्य उपचार केन्द्रको विस्तार गरी विशेषज्ञ चिकित्सकहरूसहितको नियमित स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायत प्रतिबद्धता गरेको थियो । भक्तपुरवासीलाई गुणस्तरीय तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त जनस्वास्थ्य सेवा केन्द्रलाई भक्तपुर नगरपालिकाले वि.सं. २०७८ साउन १ गतेदेखि ख्वप अस्पतालका रूपमा सञ्चालन गरेको हो । २०७३ सालमा २५ शøयाको अस्पताल सञ्चालनको स्वीकृति प्राप्त भएको थियो र पछि सेवा विस्तार गर्दै प्रदेश स्वास्थ्य मन्त्रालयबाट १०० शøयासम्म सञ्चालन गर्ने स्वीकृति पनि प्राप्त भएको थियो ।
ख्वप अस्पतालको वार्षिक सेवा प्रवाह
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा वार्षिक रूपमा लाखौँ सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य सेवा लिइरहेका छन् । आ.व. २०८२/८३ मा भक्तपुरसहित विभिन्न ७४ जिल्लाका ३ लाख २७ हजार ३१८ जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । यो सङ्ख्या आ.व. २०८१/८२ मा सेवा लिएका २ लाख ८८ हजार ९४६ जनाको तुलनामा ३८ हजार ३७२ जना (करिब १३.३ प्रतिशत) ले बढी हो ।
ख्वप अस्पतालमा हाल विभिन्न स्वास्थ्य सेवाअन्तर्गत कुल २०१ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरू कार्यरत छन् । अस्पतालमा ४७ जना कन्सल्टेन्ट (विशेषज्ञ चिकित्सक), २७ जना मेडिकल अफिसर, ३ जना बीडीएस (दन्त चिकित्सक), ८० जना स्टाफ नर्स तथा ४४ जना प्यारामेडिक्स कार्यरत छन् । यी जनशक्तिमार्फत अस्पतालले विशेषज्ञ सेवा, आकस्मिक उपचार, नर्सिङ सेवा तथा अन्य स्वास्थ्य सेवाहरू प्रभावकारी रूपमा प्रदान गर्दै आएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा ख्वप अस्पतालले विभिन्न निदान, उपचार तथा सहायक स्वास्थ्य सेवामार्फत उल्लेखनीय सेवा प्रदान गरेको छ । यस अवधिमा अस्पतालको प्रयोगशालाबाट १ लाख २७ हजार १२० जना बिरामीले सेवा लिएका छन् भने ४२ हजार ९४२ जनाले एक्स–रे, २७ हजार ४३४ जनाले भिडियो एक्सरे, १४ हजार ६२७ जनाले ईसीजी, ४ हजार ५३४ जनाले इको र १ हजार २६९ जनाले सी.टी.जी. सेवा प्राप्त गरेका छन् । त्यसैगरी, ९ हजार १४ जनाले ड्रेसिङ सेवा, १६ हजार ८४६ जनाले फिजियोथेरापी सेवा तथा ४ हजार ६१८ जनाले श्वासप्रश्वास पुनःस्थापना केन्द्रबाट सेवा लिएका छन् । अस्पतालले यस अवधिमा २ हजार ४६५ पटक एम्बुलेन्स सेवा, १ हजार १६ पटक कोभिड÷सामान्य एम्बुलेन्स सेवा र २३१ पटक शववाहन सेवासमेत उपलब्ध गराई बिरामी तथा सेवाग्राहीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरेको छ ।
नगरपालिकाबाट सञ्चालित सहरी स्वास्थ्य केन्द्रको सेवा
आर्थिक वर्ष २०८२/८३ मा भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित सहरी स्वास्थ्य केन्द्र तथा आधारभूत स्वास्थ्य संस्थाहरूबाट हजारौँ सेवाग्राहीले आधारभूत स्वास्थ्य सेवा पाएका छन् । यस अवधिमा ब्यासी सहरी स्वास्थ्य क्लिनिकबाट २० हजार ४५२ जना, भगवती क्लिनिकबाट १६ हजार २४३ जना, भक्तपुर अस्पतालस्थित मातृ तथा शिशु स्वास्थ्य क्लिनिकबाट १४ हजार ३७५ जना, सल्लाघारी आधारभूत स्वास्थ्य केन्द्रबाट ६ हजार ५२३ जना, दत्तात्रय सहरी स्वास्थ्य केन्द्रबाट ४ हजार ९४८ जना तथा बेखाल स्वास्थ्य केन्द्रबाट २ हजार ५३२ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । यी स्वास्थ्य संस्थामार्फत समुदायस्तरमै सहज, सुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै नगरवासीको स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुगेको छ ।
१६ हजारभन्दा बढी अक्सिजन सिलिन्डर निःशुल्क वितरण
भक्तपुर नगरपालिकाले नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ ख्वप अस्पतालमार्फत आवश्यक परेका बिरामीलाई निःशुल्क अक्सिजन तथा रगत उपलब्ध गराउँदै आएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा ख्वप अस्पतालले बिरामीको उपचारका लागि आवश्यक अक्सिजन सेवा प्रभावकारी रूपमा उपलब्ध गराउँदै आएको छ । यस अवधिमा सानो अक्सिजन सिलिन्डर ९ हजार ३६४ वटा र ठुलो अक्सिजन सिलिन्डर ६ हजार ९६८ वटा गरी कुल १६ हजार ३३२ वटा अक्सिजन सिलिन्डर वितरण तथा उपयोग गरिएको छ ।
अस्पतालले आकस्मिक, आईसीयू, श्वासप्रश्वाससम्बन्धी तथा अन्य उपचार आवश्यक भएका बिरामीलाई निरन्तर अक्सिजन सेवा उपलब्ध गराउँदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
निःशुल्क रगत वितरण सेवा
भक्तपुर नगरपालिकाले नगरवासी जनताका लागि निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था सञ्चालन गर्दै आएको छ । ख्वप अस्पतालमार्फत पनि भक्तपुर नगरपालिकाले सम्पूर्ण नगरवासीलाई निःशुल्क रगतको व्यवस्था गर्दै आएको छ । आर्थिक वर्ष २०८२/८३ मा भक्तपुर नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई रु. २७ लाख ४९ हजार २७५ भुक्तानी गरेको तथ्याङ्क छ ।
अन्तरङ्ग उपचार सेवा
आर्थिक वर्ष २०८२/८३ मा ख्वप अस्पताल अन्तरङ्ग सेवामार्फत कुल ३ हजार ६९५ जना बिरामी भर्ना भई उपचार सेवा प्राप्त गरेका छन् । विभागगत रूपमा औषधिमा १ हजार ४९ जना, स्त्री तथा प्रसूतिमा ८१४ जना, अर्थोपेडिक्समा ६७९ जना, शल्यचिकित्सामा ६३७ जना, बालरोगमा २९० जना, नाक–कान–घाँटीमा ९४ जना, आईसीयूमा ७६ जना तथा छाला तथा यौनरोगमा ५६ जना भर्ना भई उपचार सेवा लिएका छन् ।
शल्यक्रिया सेवा
आर्थिक वर्ष २०८२/८३ मा ख्वप अस्पतालमा विभिन्न प्रकृतिका कुल २ हजार ९२९ वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन् । यसमध्ये १ हजार ५३८ वटा मेजर, १ हजार ७२ वटा माइनर तथा ३१९ वटा इन्टरमिडियट शल्यक्रिया गरिएको छ । त्यसैगरी, आधुनिक प्रविधिमार्फत ५०६ वटा ल्याप्रोस्कोपिक शल्यक्रिया सम्पन्न गरिएको छ, जसले कम चिरा, छिटो निको हुने र बिरामीमैत्री उपचार सेवाको विस्तार भएको देखाउँछ । प्रसूति सेवाअन्तर्गत १ हजार १५२ वटा कार्डियोटोकोग्राफी परीक्षण गरिएको छ, जसबाट गर्भवती तथा शिशुको स्वास्थ्य अवस्थाको नियमित निगरानी गरिएको छ ।
प्रसूति सेवा
आर्थिक वर्ष २०८२/८३ मा ख्वप अस्पतालमा कुल ३ हजार ६१ वटा शल्यक्रिया तथा प्रसूति सेवा प्रदान गरिएको छ । यस अवधिमा १७७ वटा सामान्य प्रसूति र ३५१ वटा सिजेरियन प्रसूति सम्पन्न भएका छन् । विभागगत रूपमा अर्थोपेडिक्समा ९००, जनरल सर्जरीमा ८३४, स्त्री तथा प्रसूतिमा ४७४, नाक–कान–घाँटीमा १५८, युरोलोजीमा १३६ तथा छाला तथा यौनरोगमा ३१ वटा शल्यक्रिया सम्पन्न भएका छन् । विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र दक्ष स्वास्थ्यकर्मीको सेवामार्फत अस्पतालले सुरक्षित प्रसूति तथा विभिन्न प्रकारका जटिल शल्यक्रिया सफलतापूर्वक सञ्चालन गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
सुरक्षित मातृत्व
आर्थिक वर्ष २०८२/८३ मा ख्वप अस्पतालअन्तर्गत सञ्चालन भएको सुरक्षित मातृत्व कार्यक्रममार्फत कुल ७२६ जना गर्भवती तथा सुत्केरी महिलाले सेवा प्राप्त गरेका छन् । यस कार्यक्रमअन्तर्गत गर्भावस्थादेखि प्रसूति र प्रसूतिपश्चात् आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा सुरक्षित मातृत्वसम्बन्धी सेवा प्रदान गर्दै आमा र नवजात शिशुको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पु¥याइएको छ । ख्वप अस्पतालको प्रसूति सेवा थप सहजताको लागि २०८२ असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।
विशेष तथा आधुनिक निदान एवं उपचार सेवा
आर्थिक वर्ष २०८२/८३ मा ख्वप अस्पतालले विभिन्न विशेष तथा आधुनिक निदान एवं उपचार सेवाहरू पनि सञ्चालन गरेको छ । यस अवधिमा ३२ वटा कोल्पोस्कोपी/युरोलोजी, ३४ वटा सिस्टोस्कोपी, ३४ वटा स्थायी परिवार नियोजन, ५३ वटा इन्डोस्कोपी तथा ८३० वटा सीटी–स्क्यान सेवा प्रदान गरिएको छ । त्यसैगरी, १२ वटा एन.पी.एल.सम्बन्धी सेवा पनि उपलब्ध गराइएको छ । यी विशेषज्ञ सेवाहरू सञ्चालनमा आएपछि बिरामीले जटिल रोगहरूको निदान तथा उपचारका लागि बाहिर जानुपर्ने आवश्यकता कम भई स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज भएको छ ।
स्वास्थ्य शिविर
आर्थिक वर्ष २०८२/८३ मा ख्वप अस्पतालले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यस क्रममा दन्त स्वास्थ्य शिविर, बालरोग स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर र अर्थोपेडिक (हाडजोर्नी) शिविरमार्फत कुल १ हजार ३४२ जनाले विशेषज्ञ सेवा प्राप्त गरेका छन् । यस्ता स्वास्थ्य शिविरहरूले समुदायस्तरमै रोगको प्रारम्भिक पहिचान, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् ।
सिटी स्क्यान सेवा
ख्वप अस्पतालले २०८२ माघ १ गतेबाट अत्याधुनिक सिटी स्क्यान सेवा सुरु गरेको छ । वाग्मती प्रदेश सरकारको ५ करोड रूपैयाँ अनुदान तथा भक्तपुर नगरपालिकाको करिब ६ करोड रूपैयाँ बजेट लगानीमा स्थापना गरिएको उक्त सेवाले भक्तपुरका साथै आसपासका जिल्लाका नागरिकलाई सहज, गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध भएको छ । अस्पतालको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा ८३० जनाले सिटी स्क्यान सेवा लिएका छन् ।
ख्वप अस्पतालमै सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि जटिल रोगको पहिचान, आकस्मिक उपचार तथा विशेषज्ञ चिकित्सकीय सेवामा उल्लेखनीय सुधार भएको छ । आधुनिक प्रविधिसहितको सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि बिरामी तथा सेवाग्राहीहरू खुसी भएका छन् । जटिल रोगको पहिचानका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटेको भन्दै उनीहरूले छिटो, भरपर्दो र गुणस्तरीय परीक्षण सेवा आफ्नै नगरमा उपलब्ध हुनु सकारात्मक उपलब्धि भएको बताउँछन् । ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु हुनु भक्तपुर नगरपालिकाको स्वास्थ्य क्षेत्र सुधार अभियानको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्न सकिन्छ ।
ख्वप–तिलगङ्गा आँखा अस्पतालले ३१ हजारभन्दा बढीलाई सेवा
भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त सञ्चालनमा रहेको ख्वप–तिलगङ्गा आँखा अस्पतालले आर्थिक वर्ष २०८२/८३ मा ३१ हजार ५५७ सेवाग्राहीलाई आँखा परीक्षण सेवा प्रदान गरेको छ । यस अवधिमा ८२३ जनाको मोतिबिन्दुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।
अस्पतालमा विशेषज्ञ चिकित्सकद्वारा मोतिबिन्दु, जलबिन्दु, रेटिना (आँखाको पर्दा), युवाइटिस
(आँखाको मध्यपत्र), बाल आँखा रोगलगायत विभिन्न आँखा रोगहरूको परीक्षण, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध छन् । अत्याधुनिक ओसीटी र रेटिनल लेजर प्रविधिमार्फत गुणस्तरीय उपचार प्रदान गर्दै अस्पतालले नियमित आँखा शिविर, आँखा दान प्रतिज्ञा अभियान तथा समुदायमुखी कार्यक्रम सञ्चालन गरी आँखा उपचार सेवाको पहुँच विस्तार गरिरहेको छ ।
अस्पतालमा आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीमार्फत गुणस्तरीय, भरपर्दो र सहज आँखा उपचार सेवा प्रदान हुँदै आएको छ । यहाँ सामान्यदेखि जटिल आँखाका रोगहरूको परीक्षण, उपचार तथा शल्यक्रियासमेत प्रभावकारी रूपमा उपलब्ध छन् ।
मोतिबिन्दुको शल्यक्रियाअघि आवश्यक पर्ने आँखाको सटीक मापनका लागि अत्याधुनिक अप्टिकल सेवा पनि सञ्चालनमा रहेको छ । यस प्रविधिबाट शल्यक्रियापछि प्रत्यारोपण गरिने कृत्रिम लेन्सको सही मापन गर्न सकिने भएकाले शल्यक्रियालाई अझ सुरक्षित, प्रभावकारी र सफल बनाउन सहयोग पुग्ने अस्पतालले जनाएको छ । यसै आर्थिक वर्षदेखि अत्याधुनिक ओ.सी.टी. सेवा पनि सञ्चालनमा ल्याइएको छ, जसबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी रोगहरूको सूक्ष्म तथा प्रभावकारी परीक्षण गर्न सकिन्छ ।
तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा हरेक मङ्गलबार विभिन्न विधामा फेलोसिप प्राप्त विशेषज्ञ चिकित्सकद्वारा विशेष आँखा रोग सेवा प्रदान गरिँदै आएको छ । त्यसैगरी, आइतबार, सोमबार, बुधबार र बिहीबार रेटिना रोग विशेषज्ञ, मङ्गलबार युवाइटिस विशेषज्ञ तथा शुक्रबार ओकुलोप्लास्टी विशेषज्ञद्वारा नियमित सेवा उपलब्ध गराइँदै आएको छ ।
अस्पतालले बिहान ८ः०० बजेदेखि बेलुका ४ः३० बजेसम्म नियमित रूपमा सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालका व्यवस्थापक धिरज अधिकारीका अनुसार आगामी वर्षहरूमा भक्तपुर तथा आसपासका जिल्लाका नागरिकले आँखासम्बन्धी सम्पूर्ण उपचार सेवा यही अस्पतालबाट प्राप्त गर्न सकून् भन्ने लक्ष्यका साथ सेवा, विशेषज्ञता तथा अत्याधुनिक प्रविधिको निरन्तर विस्तार गरिने बताउँदै यसबाट सामान्यदेखि जटिल प्रकृतिका आँखा रोगहरूको उपचारका लागि अन्यत्र जानुपर्ने आवश्यकता क्रमशः अन्त्य हुने विश्वास लिएको बताउनुभयो ।
घरदैलो नर्सिङ सेवा
भक्तपुर नगरपालिकाले नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा घरमै उपलब्ध गराउने उद्देश्यले घरदैलो नर्सिङ सेवा सञ्चालन गर्दै आएको छ । यस सेवामार्फत प्रशिक्षित नर्सहरू बिरामीको घरमै पुगेर स्वास्थ्य परीक्षण, परामर्श, आवश्यक नर्सिङ सेवा तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने गर्छन् । विशेष गरी ज्येष्ठ नागरिक, दीर्घरोगी, अशक्त, सुत्केरी महिला, नवजात शिशु तथा नियमित स्वास्थ्य निगरानी आवश्यक पर्ने व्यक्तिहरू यस सेवाबाट लाभान्वित हुँदै आएका छन् । उक्त सेवाको लागि आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन ख्वप अस्पतालमार्फत गरिँदै आएको छ, जसले नगरवासीलाई अस्पताल धाउनुपर्ने झन्झट कम गरी समयमै स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित घरदैलो नर्सिङ सेवाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा नगरका २८ हजार ६० घरधुरीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । यस सेवाबाट कुल ५४ हजार १८७ जना लाभान्वित भएका छन् ।
आ.व. २०८२/८३ को प्रतिवेदनअनुसार समुदायमा उच्च रक्तचाप सबैभन्दा बढी देखिएको रोगका रूपमा रहेको छ । प्रतिवेदनअनुसार उच्च रक्तचापका १३ हजार ९४, मधुमेहका ६ हजार ६४२ तथा नसासम्बन्धी रोगका ७ हजार ४२३ बिरामी रहेका छन् । त्यसैगरी, थाइराइडका १ हजार ५५३, दमका १ हजार ८०३, कोलेस्ट्रोलका १ हजार ४९२, हाडजोर्नीका १ हजार ६४, ग्यास्ट्रिकका ८७५, मानसिक रोगका ३६५ तथा क्यान्सरका १७१ बिरामी समुदायमा भेटिएका छन् ।
घरदैलो नर्सिङ सेवाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ भरि समुदायमा विभिन्न स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । साउन महिनामा स्तनपान तथा पोषण, भदौमा डेङ्गु तथा दन्त स्वास्थ्य, असोजमा उच्च रक्तचाप तथा मानसिक एवं दन्त स्वास्थ्य, कार्तिकमा मधुमेह र सरसफाइ, मङ्सिरमा थाइराइड तथा महिनावारी सरसफाइ, पुसमा दीर्घ श्वासप्रश्वास र रेबिज, माघमा हृदयाघात र प्राथमिक उपचार, फागुनमा उच्च रक्तचाप तथा आँखाको सामान्य हेरचाह, चैतमा हृदयाघात तथा दृष्टि परीक्षण, वैशाखमा विषादी सचेतना र पोषण, जेठमा डिफ्थेरिया तथा महिनावारी सरसफाइ र असारमा डेङ्गुसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको ख्वप अस्पतालको प्रतिवेदनमा उल्लेख छ । यस किसिमका सचेतना कार्यक्रममार्फत समुदायमा रोगको रोकथाम, समयमै पहिचान तथा स्वस्थ जीवनशैली अपनाउने विषयमा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ ।
नागरिक आरोग्य केन्द्र
भक्तपुर नगरपालिकाले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वडा नं. ६, चोछेँमा नागरिक आरोग्य केन्द्र सञ्चालन गर्दै आएको छ । केन्द्रमार्फत आयुर्वेद तथा वैकल्पिक उपचार सेवा, स्वास्थ्य परीक्षण, औषधि वितरणलगायतका स्वास्थ्य सेवाहरू प्रदान गरिँदै आएको छ । यस केन्द्रले स्थानीय नागरिकलाई समुदायस्तरमै निःशुल्क तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै रोगको रोकथाम, स्वास्थ्य प्रवद्र्धन र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । भक्तपुर नगरपालिकाले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुरसँग समन्वय गरी आयुर्वेद स्वास्थ्य सेवासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।
ख्वप अस्पतालको सेवाप्रति सेवाग्राहीको धारणा
ख्वप अस्पतालप्रति सेवाग्राहीको सकारात्मक धारणा रहेको छ । अस्पताल ३६५ दिन सञ्चालनमा रहेकोले वर्षभरि नै स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध भएको भन्दै सेवाग्राहीहरू अस्पतालको सेवाप्रति सकारात्मक छन् । उनीहरूले स्वास्थ्य बीमा कार्यक्रम प्रभावित भएको अवस्थामा समेत बीमामार्फत सेवा निरन्तर उपलब्ध गराउँदै आएको, अन्य सरकारी अस्पतालको तुलनामा सेवा राम्रो भएको, पूर्वाधार तथा सेवामा निरन्तर सुधार हुँदै गएको र उपचार सेवा प्रभावकारी रहेको बताएका छन् । कतिपय सेवाग्राहीले आफूले प्राप्त गरेको सेवा उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । साथै अस्पताललाई थप प्रभावकारी बनाउन कर्मचारीको व्यवहार अझै सेवामैत्री र सौहार्दपूर्ण हुनुपर्ने, टिकट वितरण र चिकित्सकको सेवा समय व्यवस्थापन सुधार गर्नुपर्ने, औषधि उपलब्धता सुनिश्चित गर्नुपर्ने, ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने, भिडियो एक्स–रे तथा अन्य सेवामा लाइन व्यवस्थापन सहज बनाउनुपर्ने, सुत्केरीका लागि आईसीयू सेवा विस्तार गर्नुपर्ने तथा अस्पताल परिसर र प्रयोगशालाको व्यवस्थापन थप व्यवस्थित बनाउनुपर्ने सुझाव दिएका छन् । समग्रमा, सेवाग्राहीहरूले ख्वप अस्पतालप्रति विश्वास व्यक्त गर्दै अस्पतालका कमी कमजोरीलाई क्रमशः सुधार गर्दै अझ गुणस्तरीय, प्रविधिमैत्री र सेवाग्राहीमैत्री स्वास्थ्य सेवाको अपेक्षा रहेको बताएका छन् ।
अस्पतालका भावी योजनाहरू :
ख्वप अस्पतालको भावी योजनाबारे अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालले आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै अत्याधुनिक प्रविधि, विशेषज्ञ सेवा विस्तार र आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाउने लक्ष्यसहित विभिन्न महत्वपूर्ण योजना तथा कार्यक्रम अघि सारेको बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षमा उच्चस्तरीय निदान सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक एमआरआई मेसिन खरिद, जडान तथा सञ्चालनमा ल्याइने जसबाट बिरामीहरूले सहज, छिटो र गुणस्तरीय रेडियोलोजी सेवा प्राप्त गर्ने अपेक्षा गरेको बताउनुभयो ।
त्यसैगरी, जटिल तथा गम्भीर अवस्थाका बिरामीहरूको उपचारका लागि आवश्यक पूर्वाधार, अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहित सघन उपचार कक्ष (आई.सी.यू.) स्थापना गरी सञ्चालनमा ल्याइने योजना रहेको उहाँले बताउनुभयो । असमयमा जन्मिएका, कम तौल भएका तथा विशेष उपचार आवश्यक पर्ने नवजात शिशुहरूको उपचारका लागि नवजात शिशु सघन उपचार कक्ष स्थापना गरी मातृ तथा शिशु स्वास्थ्य सेवालाई थप प्रभावकारी र सुदृढ बनाउने लक्ष्य लिएको पनि उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवाको पहुँचलाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले भक्तपुर नगरपालिका वडा नं. ७ मा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइने, वडा नं. १ स्थित आधारभूत स्वास्थ्य केन्द्रको सेवा तथा पूर्वाधार स्तरोन्नति गर्नुका साथै त्यहीँ प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरी स्थानीयवासीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने योजना पनि ख्वप अस्पतालले राखेको छ ।
बढ्दो बिरामीको चापलाई व्यवस्थापन गर्दै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या वृद्धि गरिने जसबाट स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारितामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको डा. मल्लले बताउनुभयो ।
यसका साथै, अस्पतालको भौतिक पूर्वाधार, अत्याधुनिक स्वास्थ्य उपकरण, सूचना प्रविधि, मानव स्रोत विकास तथा सेवा व्यवस्थापनमा सुधार गर्दै संस्थागत क्षमता अभिवृद्धि र सुदृढीकरण गरिने निमित्त मेडिकल डाइरेक्टर मल्लले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *