राजनीति, सरकार र सुशासनको नारा
- श्रावण ११, २०८३
भक्तपुर, ११ साउन । भक्तपुर नगरपालिकाले काठमाडौँ र ललितपुरका बुद्धिजीवी, संस्कृतिकर्मी तथा सम्पदाप्रेमीहरूको टोलीलाई भक्तपुरमा स्वागत गर्दै नगरको सम्पदा संरक्षण, शिक्षा, विकास र पुनर्निर्माणका अनुभवबारे जानकारी गरायो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले आफ्नो गतिविधि र अनुभवलाई भावी पुस्ताका लागि दस्ताबेजीकरण गर्ने उद्देश्यले विभिन्न पुस्तकहरू प्रकाशन गर्दै आएको बताउनुभयो । उहाँले राजनीतिक दलहरू नैतिकता, सदाचार र सामाजिक उत्तरदायित्व सिकाउने विश्वविद्यालयजस्तो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले प्रजग कोरियाको उदाहरण दिँदै सानो देश भए पनि ठुलो शक्तिको अगाडि नझुक्ने, आत्मनिर्भरता र आत्मविश्वासका साथ अघि बढ्ने साहसबाट हामीले पनि सिक्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक दृष्टिले देशकै समृद्ध नगरमध्ये एक रहेको उल्लेख गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितले अघि सारेका शिक्षा सुधारका प्रयास तथा ‘एक घर, एक स्नातक’ अभियानले भक्तपुरको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरमा सामुदायिक र संस्थागत विद्यालयबिच कुनै विभेद नराखी समान अवसर प्रदान गरिएको उल्लेख गर्दै नगरपालिका देशमै पहिलोपटक आफ्नै कलेज सञ्चालन गर्ने स्थानीय तह बनेको सन्दर्भबारे पनि उल्लेख गर्नुभयो । उहाँले उच्च शिक्षालाई प्रोत्साहन गर्न शैक्षिक ऋणको व्यवस्था गरिएको तथा इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्रलगायतका विषय अध्ययन गर्ने नगरवासी विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणसँगै नगरको मौलिक पहिचान जोगाउँदै विकासको काम अघि बढाइएको उहाँले गर्नुभयो । उहाँले सम्पदा र विकासलाई सँगसँगै अघि बढाउने भक्तपुरको अभ्यास नै नगरको विशिष्ट परिचय बनेको बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले उत्तर कोरियाको विकास र समृद्धि आफूले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसर पाएको उल्लेख गर्दै उत्तर कोरियालाई सुन्दर र व्यवस्थित देशको रूपमा चित्रण गर्नुभयो ।
उहाँले उत्तर कोरियामा बालबालिकाको शिक्षालाई विशेष प्राथमिकता दिइएको, त्यहाँका बालदरबार (किन्डरगार्टेन) अध्ययनयोग्य रहेको तथा प्रत्येक नागरिकको लागि खेलकुदलाई अनिवार्य बनाइएको बताउनुभयो ।
सांसद गोसाईँले भक्तपुरको विकास पनि लामो सङ्घर्ष, स्पष्ट दृष्टिकोण र जनसहभागिताको परिणाम भएको उल्लेख गर्दै बुद्धिजीवी, सम्पदाप्रेमी, भाषाप्रेमी तथा आम जनताको सहयोगका कारण आजको उपलब्धि सम्भव भएको बताउनुभयो ।
उहाँले ख्वप विश्वविद्यालय स्थापनाको प्रयास राजनीतिक पूर्वाग्रहका कारण अघि बढ्न नसकेको उल्लेख गर्दै ख्वप विश्वविद्यालय स्थापनाले भक्तपुरको शैक्षिक तथा बौद्धिक विकासले अझ नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले टोलीलाई स्वागत गर्दै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले भूकम्पीय इन्जिनियरिङ र सहरी डिजाइन र सम्पदा संरक्षणजस्ता विषयहरू अध्ययन र अध्यापन गराउँदै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तारालाल श्रेष्ठले भक्तपुरको अध्ययन तथा अनुसन्धान गर्ने क्रममा आफूहरू यहाँ आएको बताउँदै विदेशी सहयोगबिना भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण गरेको कार्य अनुकरणीय रहेको बताउनुभयो ।
उहाँले भक्तपुरको विकास मोडेलबाट आफूहरू निकै प्रभावित भएको उल्लेख गर्दै यसलाई नजिकबाट बुझ्न र अध्ययन गर्न भक्तपुर अध्ययन भ्रमणमा आफूहरू आएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा, पुराना र नयाँ बस्तीको योजनाबद्ध विकास, सम्पदा संरक्षण तथा नगरले अवलम्बन गरेका विकासका अभ्यासबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागी बुद्धिजीवी र संस्कृतिविद्हरूले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको शैक्षिक ऋण कार्यक्रम, त्यसको कार्यविधि, लाभग्राही छनोट प्रक्रिया तथा प्रभावकारिताबारे जिज्ञासा राख्नुभएको थियो ।
त्यसैगरी उपभोक्ता अधिकारको संरक्षण तथा बजार अनुगमन कसरी प्रभावकारी रूपमा सञ्चालन गरिएको छ भन्ने विषय र शिक्षा क्षेत्रसँग सम्बन्धित पाठ्यक्रम समयानुकूल परिमार्जन र अद्यावधिक गर्ने विषयमा पनि छलफल भएको थियो ।
भक्तपुरलाई ‘मानवताको सहर’ को रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ प्रभावकारी ढङ्गले चिनाउनुपर्ने सुझाव दिँदै उहाँहरूले भक्तपुरको कला, संस्कृति र सम्पदाले नै नगरको पहिचान निर्माण गरेको धारणा व्यक्त गर्नुभयो ।
नेपालभाषाको लिपि संरक्षण र प्रवद्र्धनमा थप जोड दिनुपर्ने, भाषा र लिपिको संरक्षणले सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने बताउँदै उहाँहरूले भक्तपुरले नेपालको कला, संस्कृति, सम्पदा र सभ्यताको पहिचान जोगाउन त्यसको संरक्षण र प्रवद्र्धनलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभएको थियो ।
नगर प्रमुख सुनिल प्रजापतिले उपस्थित बुद्धिजीवी, संस्कृतिकर्मी तथा सम्पदाप्रेमीहरूलाई भक्तपुर नगरपालिकाद्वारा प्रकाशित विभिन्न पुस्तक तथा प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
उक्त टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको निरीक्षण तथा अवलोकन भ्रमण गरी त्यहाँ सञ्चालन भइरहेको शैक्षिक, स्वास्थ्य तथा प्राविधिक सेवाबारे जानकारी लिएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तारालाल श्रेष्ठसहित, अभियन्ता सुमन सायमी, राकेश कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ, राजमान मानव, सामाजिक अभियन्ता तथा लेखक गौरी नेपाली, प्राध्यापक रवि महर्जन, समाजसेवी रामकुमार श्रेष्ठलगायत ३० जनाको उपस्थिति थियो ।
Leave a Reply