भर्खरै :

काठमाडौँ उपत्यकाः प्रदूषणको थलो बन्यो र जमिन भासिने जोखिममा प¥यो

काठमाडौँ उपत्यकाः प्रदूषणको थलो बन्यो र जमिन भासिने जोखिममा प¥यो

सङ्घीय राजधानी काठमाडौँ र जोडिएका ललितपुर तथा भक्तपुर जिल्ला धुवाँ, धुलो, ध्वनि, रसायन प्रदूषणको पनि थलो भएको छ । बढ्दो सवारी साधनको कारण यहाँ सडक जाम र बढ्दो बसाइँसराइको कारण यहाँ फोहरमैलाको व्यवस्थापन पनि भइरहेको छैन । थोरै जनसङ्ख्याको बेला यो राजधानी उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा औद्योगिक क्षेत्रहरू पनि स्थापना गरिए । यी औद्योगिक क्षेत्रबाट निस्कने धुवाँ, ध्वनि र रसायन प्रदूषण यतिबेला देशघाती नै भएको छ ।
भक्तपुर औद्योगिक क्षेत्रको २–३ सय मिटर दूरीमा रहेको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकले क्यान्सरका बिरामी उपचार गराउन ढिलो अस्पताल पुग्ने गरेको बताए । यो अस्पतालले आफ्नै आँगनको रूपमा रहेको भक्तपुर औद्योगिक क्षेत्रबाट धुवाँ, ध्वनी र रसायन प्रदूषण कति निस्कन्छ र यसले फोक्सोको क्यान्सर बिरामी कति बढायो, अहिलेसम्म अध्ययन गरेन ।
पैँतीस वर्षयता सरकारमा गएका दल र तिनका प्रम एवम् अर्थमन्त्रीहरूले आफ्ना नीति तथा कार्यक्रम र बजेटमा काठमाडौँ उपत्यकामा रहेका प्रदूषण फाल्ने औद्योगिक क्षेत्रहरू बस्ती नभएको ठाउँ उपत्यकाबाहिर स्थानान्तरण गर्ने प्रतिबद्धता पटक पटक गरे तर कुनै पनि सरकारले आफ्ना वाचा पूरा गरेनन् । रास्वपाको सरकारले काठमाडौँ उपत्यकामा रहेका प्रदूषण फाल्ने औद्योगिक क्षेत्रहरूलाई स्थानान्तरण गर्ने उच्चारण नै गरेन ।
यही साउन १८ गतेको ‘गोरखापत्र’ दैनिकमा प्रकाशित भयो– विश्वभर प्रत्येक वर्ष २५ लाखभन्दा बढी मानिसमा फोक्सोको क्यान्सर हुने, तीमध्ये १८ लाखको त उपचारको बन्दोवस्त नहुँदा मृत्यु हुने, फोक्सोको क्यान्सरमध्ये ८५ प्रतिशत प्रत्यक्ष अप्रत्यक्ष धुम्रपानका कारण हुने, नेपालमा कुल क्यान्सरमध्ये १५–२० प्रतिशत फोक्सोको क्यान्सर हुने र हरेक वर्ष कूल २२–२५ हजारसम्म नयाँ क्यान्सर बिरामी थपिने, यीमध्ये २–३ हजारमा फोक्सोको क्यान्सर देखिएको प्रकाशित भयो ।
श्वासप्रश्वास तथा छाती रोगका वरिष्ठ विशेषज्ञ डा. राजु पङ्गेनीले फोक्सोको क्यान्सर बढ्नुमा नेपालीहरू धेरै धुम्रपान सेवनमा लाग्नु, सवारीसाधन र उद्योगबाट निस्कने धुवाँ बढ्दै आउनु, घरभित्र दाउरा तथा अन्य ठोस इन्धन प्रयोग हुनु, इँटा उद्योगलगायतबाट वायु प्रदूषण बढी हुनु मुख्य कारण भएको बताए । तर, नेपालका कुनै पनि सरकारले धुम्रपानलाई दुरुत्साहन गर्ने नीति र कार्यक्रम बनाएनन् बरु सरकारहरूले सुर्तीजन्य पदार्थमा कर लगाएर क्यान्सर अस्पताललाई अनुदान पठाए । यसो गर्नुभन्दा सुर्तीजन्य पदार्थ उत्पादन र बिक्रीमा रोकथाम गर्नु बुद्धिमानी होइन र ? के नेपालीले कमाएको सर्वश्व स्वास्थ्य उपचारमै सकाउन दिने सरकारको काम हो ?
काठमाडौँ उपत्यकाको जमिन पनि कमजोर भएको र यहाँ बनेका भारी संरचनाहरू भवन, सडक, पुललगायत भासिने जोखिममा रहेको भूगर्भशास्त्रीहरूको मत रहेको छ । यसतर्फ नेका, एमाले, माओवादीलगायतका शासक दलहरू सचेत भएनन् भने रास्वपाको सरकारमा पनि यो संवेदनशीलता छैन । अहिले दिनको २०–२५ हजार टीपर बालुवा, गिट्टी, ढुङ्गा, डण्डीलगायत बाहिरबाट भित्र्याई काठमाडौँ उपत्यकामा भारी संरचना बनिरहेको छ । यसलाई रोक्ने र देशको सन्तुलित विकास गर्नेतर्फ सरकारको ध्यान किन गएन ?
काठमाडौँ उपत्यका नेपालकै भूकम्पीय जोखिम क्षेत्र पनि हो । सरकारहरूले देशको सन्तुलित विकास नगरी जिल्ला जिल्लाबाट काठमाडौँमा बसाइँसराइ बढाउँदै छन् । अधिकांश पूर्वप्रधानमन्त्री र मन्त्रीहरू, कतिपय सांसदहरू, सरकारका उच्च अधिकारीहरू आ–आफ्नो थातथलो छोडेर काठमाडौँमा बसाइँसराइ गरे । प्रधानमन्त्री र मन्त्री भएकाहरू कतिपय आफ्नो परिचयमा समेत काठमाडौँ उपत्यकाको स्थायी बासिन्दा दाबी अनैतिकताको पराकाष्ठा किन होइन ?
देशको सन्तुलित विकास गरिएको भए चार खर्ब रुपैयाँ खर्च हुने विवादित बारा–काठमाडौँ दु्रतमार्ग प्रस्ताव आउने नै थिएन । लाखौँको सङ्ख्यामा नयाँ पुस्ता अध्ययन गर्ने ११ विश्वविद्यालयको लागि सरकारको बजेट २ अर्ब रुपैयाँमात्र विनियोजन हुने अवस्थामा पनि आउने थिएन । विश्वविद्यालयहरूलाई खर्बौँ रुपैयाँ विनियोजन गरी सरकारले नयाँ पुस्तालाई सुसंस्कृत एवम् विज्ञानसम्मत शिक्षा दिन किन ध्यान दिएन ? दु्रतमार्ग सुरु बिन्दु खोकना र बोङ्गाको सांस्कृतिक सम्पदासमेत नष्ट हुने विवाद उठेकोलाई मत्थर पार्न यतिबेला सरकारी प्राविधिकहरू वाग्मती नदीमाथि बिचमा पुल ‘भायडक्ट’ बनाई चोभार सुख्खा बन्दरगाहमा जोड्ने प्रस्ताव सार्वजनिक गर्दै छन् । यस्तो पुल बनाउन २९ अर्ब रुपैयाँ लाग्ने बताइयो । नेपालको अर्थतन्त्रको लागि यो बजेट पनि सकस नै हो ।
देशभरि खाना पकाउने ग्यासको अभाव सल्टिएको छैन । सरकारहरूले नेपालका नदीनालाबाट जलविद्युत् उत्पादन गरी जनतालाई सस्तोमा बिजुली दिएको भए अहिले भारतबाट इन्धन खरिदमा भइरहेको खर्बौँ रुपैयाँको व्यापारघाटा न्यून पार्न मद्दत पुग्ने थियो । काठमाडौँ उपत्यकामा बसाइँसराइ गरेकाहरू यतिखेर टेकु र बालाजुमा खाली सिलिन्डर बोकेर दिनभर भौँतारिनुपर्ने अवस्था आउने थिएन । सरकारले नेपालका नदीहरूमा जलविद्युत् उत्पादन गर्नु यसको राम्रो विकल्प हो । तर, सरकारहरूले नेपालका ठूल्ठूला नदीनालाहरू कोशी, गण्डक, महाकाली, कर्णालीलगायत भारतीय एकाधिकार पुँजीलाई दिएर देशघात गरे । यो देशघातबाट जनताको ध्यान मोड्न सरकारहरू कहिले सुरुङ्गमार्ग र कहिले दु्रतमार्गको चर्चा गर्छन् । विदेशीहरूबाट ल्याइएका खर्बौँ रुपैयाँको ऋण सरकारहरूले नेपालको कृषि र स्वास्थ्यलाई आत्मनिर्भर बनाउने, देशभित्र रोजगारी र शिक्षाको बन्दोवस्त गर्नेतर्फ किन विनियोजन गरेनन् ?
नयाँ पुस्ता सुसंस्कृत भए साम्प्रदायिक हुनेछैन भने देशको सरकारी र सार्वजनिक सम्पत्तिमा आगजनी पनि गर्ने थिएन । सुसंस्कृत मानिस जातीय र क्षेत्रीय भेदभावमा लाग्दैनन् । हिन्दु मन्दिरका योगी र मुस्लिम मस्जिदका मन्जरी एक ठाउँमा बसेर तस्वीर खिच्दैमा सद्भाव भएको मान्न सकिँदैन । वर्गीय नातामात्र चोखो र स्थायी हुनेछ । यो यथार्थ नयाँ पुस्तालाई बताउनु आजको आवश्यकता हो । वर्गीय नाताले मात्र हिमाल, पहाड, तराईमा शान्तिको श्वास फेर्न मद्दत गर्नेछ । शासकहरूले मठमन्दिर र मस्जिदमा पुगेर शान्तिको कामना गर्दैमा हुने होइन । गत भदौ २३ र २४ गतेको विध्वंसमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट पालिएकाहरूको संलग्नता रहेको एक एक गरी खुलिरहेका छन् । तराईमा साम्य भएको साम्प्रदायिक विवाद चर्काउन कुन कुन तत्वको संलग्नता थियो खुल्ने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *