भर्खरै :

नारायणीबाट हुने कटान र डुबान रोक्ने प्रयास पनि रोक्ने भारत कस्तो छिमेकी !

नारायणीबाट हुने कटान र डुबान रोक्ने प्रयास पनि रोक्ने भारत कस्तो छिमेकी !

नेपाल—भारतबिच एक हजार आठ सय ८० किलोमिटर लामो खुला सिमाना छ । खुला सीमाकै कारण एक अर्को देशमा अपराधी लुक्ने, सीमा तस्कर, चेलिबेटी बेचबिखन र दुव्र्यवहार हुने गरेको तथ्य खुलिरहेको छ । रोटीबेटीको सम्बन्ध रहेको छिमेकी देश भारतमा बहने हावाले समेत नेपालमा असर पार्छ । खुला सीमाकै कारण आपराधिक कार्य गर्नेहरूले दुवै देशको भूमि प्रयोग गर्दै छन् ।
नक्कली नोटका कारोबारीले दुवै देशको वित्तीय प्रणालीमाथि नै चुनौती दिइरहेका छन् । दुवै देशले यस्ता आपराधिक सञ्जाल ध्वस्त पार्न रियल–टाइम सूचना आदानप्रदानमा विशेष जोड दिए पनि सफल भएन । एकातिर अपराध गरेर अर्कोतर्फ लुक्ने गरेका घटना पुरानो हो ।
भारतमा बसोबास गर्ने बासिन्दाको पहिचानका लागि आधार कार्ड जारी गरिएको छ । कतिपय अवस्थामा गैरनागरिक (जस्तैः बङ्गलादेशी वा रोहिङ्ग्या शरणार्थी) ले पनि आधार कार्ड बनाउन सफल भएका छन् । यस्ता व्यक्ति भारतीय भूमि हुँदै नेपालमा आइपुग्छन् र आफूलाई भारतीय नागरिकका रूपमा प्रस्तुत गर्न त्यही आधार कार्ड देखाउँछन् ।
आतङ्कवादी तत्वहरूले खुला सीमाको दुरुपयोग गरी नेपालबाट भारतविरोधी गतिविधि हुन सक्ने आशङ्का भारतीय पक्षले नेपाल—भारत गृह सचिवस्तरीय बैठकमा उठाएको सार्वजनिक भयो । फ्रि तिब्बतको नाममा दलाई लामाका समर्थकहरूबाट नेपालमा चीनविरोधी गतिविधि भइरहेको छ । यस विषयमा नेपालस्थित चिनियाँ राजदूतले परराष्ट्र सचिवको ध्यानाकर्षण गराउनुभयो ।
नेपालको सीमामा खटिएका भारतीय सशस्त्र सीमा बल (एसएसबी) बाट कतिपय अवस्थामा नेपाली नागरिकमाथि दुव्र्यवहार र ज्यादतीका घटना भइरहेका छन् । कञ्चनपुरका गोविन्द गौतम हत्या र महाकालीको तुइन काण्ड (जयसिंह धामीको मृत्यु) लगायतको घटनाले भारतीय शासक वर्गप्रति नेपालीको आक्रोश र अविश्वास बढ्दो छ ।
नारायणी नदीको कटान रोक्न नेपाली भूमि सुस्ताबासीले निर्माण गरेको माटोको अस्थायी तटबन्धसमेत एसएसबीले हालै भत्काइदिएको घटनाले नेपाली जनतामा आक्रोश बढ्दो छ । पश्चिम नवलपरासीस्थित नेपाल–भारत सीमामा १६ वटा स्तम्भ छन् । तर, सुस्ताको २४ किलोमिटर सीमा क्षेत्रमा भने एउटा पनि सीमा स्तम्भ छैन । सीमा स्तम्भ नभएको हुँदा खोला, रुख वा अन्य खेती जमिनको भरमा सिमाना चिन्नुपर्ने अवस्था छ । सीमा स्तम्भ नहुँदा सीमावर्ती क्षेत्रका नागरिकबिच पटक–पटक विवाद पनि भइरहेको छ । तर, अहिलेसम्मका सरकारहरूलाई कुनै चासो भएन ।
गत जेठ १७ मा पनि एसएसबीले सुस्तामा निर्माणाधीन तटबन्धको काममा अवरोध पु¥याएको थियो । सुस्ता–५ स्थित नारायणी नदीको झोलुङ्गे पुलसँगै जोडिएको क्षेत्रमा करिब १ किलोमिटर र सँगै १ सय ३२ मिटर लम्बाइको तटबन्ध निर्माण भइरहेको हो । एसएसबीले १ सय ३२ मिटर तटबन्ध निर्माणमा आपत्ति जनायो । नेपालले नारायणी नदीको कटान र डुबानबाट आफ्नो भूमि जोगाउन पनि नपाउने यो कस्तो छिमेकी हो ?
सुगौली सन्धीले नेपालको पूर्व मेची नदीदेखि पश्चिम महाकाली नदीसम्म सीमा निर्धारण गरेको हो । सुस्ता नेपालकै भूमि हो । २०२५ सालमा भारतीय पक्षले सुस्ता हड्पेको बेला नेमकिपाका अगुवाहरूले भक्तपुरमा विरोध प्रदर्शन गरेका थिए । २०३४ सालमा नारायणीले धार परिवर्तन गर्दा बस्ती बगरमा परिणत भयो । स्थानीय जनता विस्थापित भएपछि भारतीय विस्तारवादको ज्यादती बढेको हो । नेपाल–भारतबिच हुने मन्त्री र सचिवस्तरीय, संयुक्त सीमा कार्यदललगायतमा बैठकमा खुला सीमा नियमन गर्ने विषय नेपालका शासकहरूले उठाउन नसक्नु देशघात किन होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *