समाजवाद के हो ?
- श्रावण १९, २०८३
प्राचीन कला, संस्कृति र सम्पदाले भरिपूर्ण बोदेको इतिहासलाई लिपिबद्ध गर्ने, नयाँ पुस्तालाई सुसूचित पार्न र अध्ययन, अनुसन्धान र खोजीनीति गर्नेहरूको निम्ति आवश्यक स्रोत, सन्दर्भ सामग्री जुटाउन सहयोग गर्ने उद्देश्यले मध्यपुर थिमि न.पा. वडा नं. ८ बोदेको वडा कार्यालयले ‘बोदे ः ऐतिहासिक तथा सांस्कृतिक नगरी’ पुस्तिका प्रकाशित ग¥यो । ऐतिहासिक बोदे सहर मौलिकता र फेरिँदो स्वरूपलाई चिनाउने उद्देश्यले तयार गरिएको सभ्यता र संस्कृतिको तस्बिर सँगालोले बोदेको यथार्थ बुझ्न र यसको सांस्कृतिक गरिमालाई नयाँ पुस्तासम्म पु¥याउने वडा कार्यालयको लक्ष्य ढिलो चाँडो पूरा हुने विश्वास कला र सम्पदाप्रेमीहरूले गर्नु स्वाभाविक हो । सांस्कृतिक, पुरातात्विक र कलाको दृष्टिकोणले नाउँ चलेको भक्तपुरको पच्छिममा अवस्थित बोदे पनि प्राचीन, ऐतिहासिक तथा सांस्कृतिक नगर हो ।
‘बुँ’ को अर्थ खेत र ‘देय्’ को अर्थ देश हो । बुँदे भन्नाले खेतै खेतको बिचमा रहेको देश वा कृषियोग्य भूमिको सहर भन्ने बुझिन्छ । राजा मानदेवको पालाको लिच्छविकालीन शिलालेखमा यस ठाउँलाई ‘बोसिङ ग्राम’ भनिएको छ । गोपालराज वंशावलीमा ने.स. ४५४ (विक्रम संवत् १३९०) को माघ कृष्ण त्रयोदशीको दिन अनेकराम महाथभालगायतले ‘बोद्य देश’ मा आगो लाएको उल्लेख गरिएको छ । मल्लकालपछिका विभिन्न ऐतिहासिक शिलालेखमा बोदेलाई ‘धर्मपुर’ भनिएको उल्लेख छ । यसरी विभिन्न शिलालेख, ऐतिहासिक दस्ताबेजमा बोदेलाई ‘बुँदे’, ‘धम्मपुरी देश’, ‘धर्मपुर’ र बोदे देशजस्ता नामले सङ्केत गरिएको पाइन्छ ।
बोदेका विभिन्न स्थान र परिवेशका जात्रा, पर्व, नाचगान, मन्दिर, सत्तल, पाटी, पोखरी, मूर्ति, संस्कार, संस्कृति, रीति थिति, जनजीवन, पुरातात्विक दरबार, भवन, घरजस्ता पुराना र नयाँ तस्बिरको सङ्गालोको रूपमा यो पुस्तिका बोदेको यथार्थ चित्रण हो । बोदेको सङ्क्षिप्त परिचय, ऐतिहासिक पृष्ठभूमि, भौगोलिक र प्राकृतिक परिवेश कृषि परम्परा, सहरको बनावट र वास्तुकला आदिले उक्त कुरा पुस्टि गर्छन् ।
बोदे कृषियोग्य भूमि हो । पुरानो नाम ‘बुँया दे अर्थात् कृषि भूमिको सहर’ को रूपमा परिचित बोदेमा विशेषतः ‘तिगनिको चिउरा’ प्रख्यात छ । बोदेमा काठको मुसलले काठको ओखलमा कुटेर चिउरा तयार हुन्थ्यो । ‘तरकारीको बगैँचा’ भनेर चिनिने उक्त स्थान र वरपरको ठाउँमा तरकारी खेती अधिक हुन्थ्यो । तरकारी खेती नै स्थानीय कृषकहरूको जीवन जोहो हुन्थ्यो । बोदेमा रहेका स्थान, चोक आदिको सूचीकरण भएको ‘बोदे’ मा अझै मौलिक शैलीका पुराना या परम्परागत घरहरू छन् । घरबाहिरै काठको भर्याङ चढेर माथिल्लो तल्लामा जाने घरहरू पनि यदाकदा देखिएका छन् । नछु चोक, खाँसि चोक, लाय्कु चोक, लाछि चोक, द्योबु टोल आदि पुराना र चर्चित टोल र चोकहरू हुन् । नीलबाराही देवीको मन्दिर, बोदेको लाय्कु अर्थात् मल्लकालीन दरबार, नारायण मन्दिर, भीमसेनको मन्दिर, ख्वपलाँ ध्वाका (द्वार), थिमिलाँ ध्वाका (द्वार) पनि यहाँका मौलिक सम्पदाहरू हुन् ।
बोदेको महालक्ष्मी मन्दिर अगाडि बिस्का जात्राको अवसरमा चैत मसान्तको दिन योसिं (लिङ्गो) उठाउने चलन अद्यापि छ । महालक्ष्मी मन्दिर बोदेको प्रमुख इष्ट देवता हो । खोकना, लगनखेल, लुभु र बोदेका चार प्रमुख महालक्ष्मी मन्दिरहरूमध्ये बोदेको महालक्ष्मी मन्दिर पनि एक हो । त्यस्तै प्यागोडा शैलीमा निर्मित दुईतले विष्णुघाट नारायण मन्दिर, पाँचो गणेश मन्दिर, पाँचो ध्वाका यहाँका अमूल्य सम्पदा हुन् । काठमाडौँबाट सहर छिर्ने मूल प्रदेशद्वार पाँचो ध्वाका हो । पलेस्वा पुखू (कमल पोखरी), गोरखनाथ मन्दिर, कालिका मन्दिरले पनि बोदे सहरलाई चिनाएको छ । पुरानो सहरका विभिन्न विशेषतामध्ये पानीको स्रोत, इनार, ढुङ्गेधारा, पोखरी, कुवा आदि पनि हुन् । पानीका यी स्रोतहरू वैज्ञानिक र व्यवस्थित रूपमा निर्माण गरिएका छन् । त्यस्तै ख्वपलाँस्थित ऐतिहासिक सुमेरु चैत्य, द्योमाँको प्रतिमूर्ति र चैत्यले बौद्ध धर्मावलम्बीहरूको प्रतिनिधित्व गरेको थाहा हुन्छ ।
जल सम्पदाझैँ सांस्कृतिक सम्पदा पनि यहाँको आफ्नै मौलिक जात्रा÷पर्व या संस्कृति हो । यहाँका मुख्य जात्राहरूमा बिस्का जात्रा, गथामुगः च¥हे (घण्टाकर्ण), जिब्रो छेड्ने (म्ये प्वाः खनेगु), दिगु द्यो पूजा, सिथि नखा, मोहनी नखाः, स्वन्ति नखाः, सकिमना पुन्हि, योमरी पुन्हि, घ्यो चाकु सल्हु, स्वस्थानी, पूजा, होली पुन्हि, रथ पूजा (द्यःखः पूजा) गलथानी (जल थनेगु) अर्थात् खाल्डो भर्ने परम्परा पनि यहाँ विद्यमान छ । बोदेमा साँझपख मात्र गाईजात्रा निकाल्ने परम्परा छ । यस भेगको मुख्य जात्रा नीलबाराही देवीको जात्रा हो । काठमाडौँ उपत्यकामा चार बाराहीमा श्वेतबाराही, नीलबाराही, धुमबाराही र बज्रबाराही छन् । नीलबाराही मध्यपुरको उत्तर पूर्वमा अवस्थित छ । नीलबाराही नाचमा भैरव, बाराही, कुमारी, सिंह, द्वारपाल र गणेश गरी १९ जना देवगण हुन्छन् । यो नाच बोदे समुदायको सांस्कृतिक पहिचान, धार्मिक आस्था र सामूहिक प्रतिबद्धताको जीवित प्रतीक हो । यहाँको अर्को महत्वपूर्ण र प्रसिद्ध जात्रा जिब्रो छेड्ने (मे प्वाः खनेगु) जात्रा हो । धेरै दर्शक तथा भक्तजनहरूको माझमा प्रत्यक्ष रूपमा जिब्रो छेड्ने यो अर्को जनप्रिय जात्रा हो । यसबाहेक अन्य धेरै साना ठुला जात्रा बेलाबखत हुन्छ ।
बोदेमा पाँचवटा सामुदायिक र १५ वटा संस्थागत विद्यालयहरू छन् । यहाँको पुरानो र स्थापित विद्यालय बोदे माध्यमिक विद्यालय हो । भक्तपुरका सूर्यमान बिजुक्छेँको अगुवाइमा बोदेको ऐतिहासिक लाय्कु दरबारमा २००५ सालमा यस विद्यालयको स्थापना भएको थियो । ‘आधार विद्यालय’ को रूपमा स्थापित सो विद्यालय २०३५ मा मावि भएको थियो । बोदे क्षेत्रमा सञ्चालित सहरी स्वास्थ्य केन्द्र (खपला), बोदे हेल्थपोस्ट (सानुटार) र निकोसेरा स्वास्थ्य केन्द्र (वडा नं. ९) ले जनतालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।
बोदेमा एउटा द्यो माँ जगत् वृद्धाश्रम पनि छ । स्थापनाकालमा सानो सङ्ख्याबाट सुरु गरिएको उक्त सेवा केन्द्रमा हाल आवासीय र दिवा सेवा गरी २८ जना ज्येष्ठ नागरिकले सेवा प्राप्त गरिरहेका छन् । यो द्यो माँ वृद्धाश्रम २०६४ फागुन ८ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो ।
यसरी नै यहाँ रहेका विभिन्न मन्दिर, देवल, पीठ, बौद्ध चैत्य, पाटी, सत्तल, दबु, गुथि, रथपूजाको पालो विवरण, व्यवसाय दर्ता, सामाजिक सुरक्षा भत्ता, घटना दर्ताको विवरण दिएर स्थानीय जनतालाई सुसूचित पार्ने काम सो पुस्तिकाले गरेको छ । ८ वडा कार्यालयले बोदेको योजना विवरण, योजना र खर्चको विवरण उल्लेख गरेर जनतालाई जानकारी गराएको छ । उक्त विवरण आर्थिक वर्ष ०८१/०८२ सम्म दिइएको छ ।
सभ्यता र संस्कृति समेटिएको यो तस्बिर सँगालो पुस्तिका प्रकाशित गरेर स्थानीय र अन्य जनतालाई सुसूचित पार्ने काम गरिएको छ । यसको लागि प्रकाशक मध्यपुर थिमि नगरपालिका वडा नं. ८ वडा कार्यालयलाई धन्यवाद छ । सफा र राम्रो कागज र रङ्गीन तस्बिरले पुस्तिकाको आकर्षण बढाएको छ । मध्यपुर नपाको वडा नं. ८ को कार्यालयले गरेको यो प्रयास सराहनीय र प्रशंसनीय छ । वडा कार्यालयले यस्तै अरु काम लाग्ने सन्दर्भ जोडेर पुस्तिका प्रकाशन गर्ने जमर्को गर्नेछ । आगामी दिनमा पनि उदाहरणीय काम गर्ने आशा पाठकले राख्नु स्वाभाविक हो ।
Leave a Reply