भर्खरै :

के शासकहरूको गोली एउटै होइन र ?

के शासकहरूको गोली एउटै होइन र ?

पैतीस वर्षयता सरकारमा गएका दल र तिनका नेताहरू आ–आफ्नो उद्देश्य गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्ष र अग्रगामी राजनीतिक उपलब्धि रक्षा गर्नु भएको दाबी गर्छन् । शासक दलहरू नेका, एमाले, माओवादी (हालको नेकपा) ले यस्तै दाबी गरेका थिए भने हाल सरकारमा रहेको रास्वपाले पनि यही दाबी गर्दै छ । गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा उपलब्धि कम हासिल गरेका उपेन्द्र यादव, सीके राउत, प्रभु साह, जनार्दन शर्मा, जितेन्द्र सोनाल, रेशम चौधरीलगायतले तत्काललाई कार्यगत एकता र भविष्यमा पार्टी एकीकरणसमेत गर्ने भनी उही विषयलाई जोड दिँदै छन् । उल्लिखित दलहरू र तिनका नेताहरू पैतीस वर्षको अवधिमा सरकारको भागबन्डामा सामेल भइसकेका हुन् । अब अन्य कुनै उपायबाट सरकारमा पुनः जानको निम्ति यो कदम चालिएको भन्दा फरक नपर्ला ।
गणतन्त्र पुँजीवादी र समाजवादी हुन्छ । सरकारमा गएका शासक दलहरू केही व्यक्तिको हातमा स्रोत र साधन कब्जा गराउने पुँजीवादी गणतन्त्रका पक्षपाती हुन् । कामदारवर्गका जनताको निम्ति उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी गणतन्त्र आवश्यक छ । नेपालको संविधानमा सङ्घ, प्रदेश र स्थानीय सरकारको अधिकार सूचीको अलग अलग व्यवस्था छ । उल्लिखित शासक दल र तिनका नेताहरूले प्रधानमन्त्री र सङ्घीय मन्त्री हुँदा प्रदेश र स्थानीय तहमा अधिकार दिन चाहेनन् । सङ्घको अधिकार विकेन्द्रीकरण गरिए प्रदेश र स्थानीय तहको औचित्य पुष्टि हुन्छ । यस्तो दस्ताबेजमा धर्म निरपेक्ष भनिए पनि शासक दलका नेताहरू आ–आफ्नो धर्मका पक्षपाती भए । उनीहरूले मानव जातिको सेवा गर्नु नै धर्म हुने विषय जनताबिच राख्नै चाहेनन् । यसकारण, पैतीस वर्ष यताका सरकारहरूले अग्रगामी राजनीतिक उपलब्धि हासिल गर्न सकेनन् । परिणामतः साउन १० गते सुनसरीमा साम्प्रदायिक विध्वंस जन्मियो र मोरङ, सप्तरी, धनुषा, सिराहा, रौतहट, पर्सा हुँदै नेपालगञ्जसम्म फैलियो ।
समाजमा रहेको वर्गीय विभेदलाई जबरजस्ती दबाउने शासकहरू साम्प्रदायिक दङ्गा उत्पन्न गर्छन् । मानव जातिले साम्प्रदायिक दङ्गा होइन, वर्गीय एकतालाई जोड दिनु जरुरी छ । साम्प्रदायिक दङ्गाबाट मानव समाजमा क्षति मात्र बढ्छ । यस्तै दङ्गाको कारण साउन १० गते सुनसरीको कप्तानगञ्जको नयाँ हतिया चोकमा ३१ वर्षीय ओमप्रकाश मेहताको सरकारी गोली लागी मृत्यु भयो । ओमप्रकाशलाई हिन्दूको कल्गी दिइयो । साउन ११ गते सोही ठाउँको ताहिर मियाँका घर पेट्रोल छर्केर जलाइयो । मियाँलाई मुसलमानको कल्गी लगाइयो । यथार्थ ओमप्रकाश र ताहिर दुवै कामदार वर्गका नेपाली हुन् । तर, वर्गीय नाता बुझाउने राजनीतिक पार्टी त्यहाँ नपुग्दा यो क्षति भोग्नुप¥यो ।
कप्तानगञ्जमा हिन्दू मुसलमानको हिंसाको कुनै इतिहास नभएको सार्वजनिक भयो । वास्तवमा यस्तो साम्प्रदायिक इतिहास कतै हुनुहुँदैन । १० साउनकै दिन कप्तानगञ्ज चोकमा सरकारी गोली लागी घाइते २१ वर्षीय जयप्रकाश मेहताको साउन १३ गते मृत्यु भयो । सिरहामा फैलिएको यो ‘आगो’ मा चलेको सरकारी गोलीमा परेर १५ वर्षीय गणेश यादवको मृत्यु भयो । साउनको दोस्रो हप्ता पूर्वी तराईमा भएको यो साम्प्रदायिक दङ्गालाई बढ्न दिनु हुँदैन । बरु, वर्गीय एकतालाई जोड दिनु उपयुक्त हुनेछ ।
पुँजीवादी सरकार जुनसुकै पार्टीको भए पनि बलपूर्वक जनतालाई दमन गर्नेतर्फ लाग्छ । गएको भदौ २३ गते काठमाडौँ र साउनको १० गते सुनसरी र १४ गते सिरहामा चलेको गोली एकै भएको जनताको मत हो । शासकहरू आफ्नो गोली मात्र ठीक ठान्छन्, अरु सरकारको गोली बेठीक ठान्छन् । फरक यति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *