भर्खरै :

पापी मन

पापी मन

लघु कथा

एउटा गाउँमा एकजना हजुरआमा थिइन् । उनी कथा सुनाउन सिपालु थिइन् । उनी नातिहरूलाई राम्राराम्रा कथाहरू सुनाएर मख्ख पार्थिन् । एक दिन साँझको खानापछि नातिहरूले बज्यैलाई राम्रो घटलाग्दो कथा सुनाउन ढिपी गरे र बज्यैले पनि उनीहरूलाई कथा सुन्ने नै हो त ? भनेर सोधिन् । सबैले हो हो बज्यै छिटो सुनाउनुहोस् न भनेर उनीहरू कान ठाडो पारेर सुन्न तयार भए । लौ त सुरु गर्छु भन्दै बज्यैले कथा सुरु गरिन् ।
एक सहरमा एउटी महिला थिइन् । उनी ज्येष्ठ महिला तर कुमारी थिइन् । उनका परिवार सबै बिते । परिवारको घर जग्गा, सम्पत्ति र उनीसँग सुनका गरगहना पनि थिए । नाति हो, समाजमा पापी मन भएका तर बाहिर देखावटी धर्मात्मा मान्छेहरू पनि हुन्छन् । सबै नातिहरूले जिज्ञासा राखे कसरी ? त्यस्ता मान्छेका राक्षसका जस्ता सिंह, नङ्ग्रा कपाल अनि दाह्रा पनि हुन्छन् होला है बज्यै ?
नातिहरू त्यसो होइन, मान्छे अनुहार र रूपले होइन, विचार र कर्मले चिन्ने हुन् भन्दै बज्यैले बताउँदै गइन् । उनका आफन्त भनिएका र अरु पापी मन भएका मान्छेहरूले उनले लगाइराखेको सक्कली सुनको गरगहना फुकालेर लिए र त्यस्तै नक्कली गरगहना लगाइदिएर लुटे । त्यो विचरालाई सक्कली कुन हो नक्कली कुन हो थाहा थिएन । सायद ती पापी मान्छेहरूले लोभ र डर देखाए होलान् । अहिले उनी डुल्दै मागेर खान्छिन् ।
बज्यैको कुरा सुनेपछि कथा सुनिरहेका सबै नातिहरूले एकै स्वरमा भने, कस्ता पापी मन भएका मान्छेहरू रहेछन् । कहिल्यै मर्न नपर्ने मान्छेजस्तो ! मर्ने बेलामा त्यो सबै सँगै लिएर जाने होला है बज्यै ? त्यसपछि बज्यैले भनिन्, यस धर्तीमा मान्छे केही नलिइकन खाली हात (नाङ्गै) जन्मिन्छन् र त्यसरी नै मरेर जान्छन् । तर राम्रा मान्छेहरू समाज र देशलाई धर्म र कीर्ति राखेर जान्छन् । सहिदहरू देशको लागि मरेर गए तर उनीहरूको नाम र काम बाँचिरह्यो । त्यस्तै हाम्रा पुर्खाहरूले मठ–मन्दिर, पाटी, धारा, कुवा, विद्यालय बनाएर गए । त्यसले देश र जनताको सेवा गरिरहेका छन् ।
नातिबाबुहरू, सधैँ घुमफिर गरिरहने ती महिला चार पाँच दिनसम्म बेपत्ता भइन् । तर, कोही आफन्त भनिएका मान्छेहरूलाई मतलब भएन । तर, नजिकैको उनलाई सधैँ देख्ने छिमेकीले उनी त्यसरी बेपता भएको कुरा टोलका दाजु भाइहरूलाई भने, सम्भावित सबै ठाउँमा सोधियो, खोजियो तर, कहीँ भेटिएन । कहीँ नभेटिएपछि घरमै होला, केही भयो होला भनेर टोलका दाजुभाइहरू घरमै पसेर हेरे । उनी त कमजोर थकित स्वरमा ऐया ….ऐया…. भनेर कराइरहेको मधुरो स्वर सुने । चार पाँच दिनसम्म खान, सुत्न नपाएको शरीरको अवस्था कस्तो होला बाबुहरू ? त्यही उनका सबै फोहर, जीउमा घाउ घाउ भएर पनि कीरा परिसकेको रहेछ । उनीसँग कोही थिएन । टोलका सहयोगी दाजुभाइहरूले घिन पचाएर सरसफाइ गरी तुरुन्त अस्पताल लगेर उपचार गराए । घटना एक कान दुई कान मैदान भयो ।
उनका आफन्त भनिएका मान्छेहरू नाता जोडेर माया देखाउन आए । ज्येष्ठ अशक्त, बिरामी मान्छे हो† अब केही हुन सक्छ । सम्पत्ति, हाम्रै हो भन्ने मन सायद उनीहरूमा पलायो होला । त्यसपछि टोलका दाजु भाइलाई थाहै नदिई अर्कै अस्पताल लगे रे । अरु बेला पटक्कै चासो नदेखाउने मान्छे अब आएर जति पनि खर्च गर्छु; केही कमी हुन दिन्न भन्न थाले रे बाबुहरू ? यति भनेपछि सबै नातिहरूले एकै स्वरमा भने, “बज्यै, ती ज्येष्ठ महिलाको सम्पत्ति टोलका दाजुभाइहरूले त्यसै देलान् त ? तिनीहरू त पापी मन भएका स्वार्थी आफन्तहरू हुन् नि हैन र बज्यै ? हो नि लौ त निन्द्राले बोलायो । अब सुत्न जाऊ भोलि सबेरै उठेर गृहकार्य गर्नुपर्छ भन्दै सबै सुत्न गए ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *