सिद्धान्तको लिलाम, कुर्सीको सौदाबाजी
- श्रावण २२, २०८३
भनिन्छ, सुदूर अतीतमा एउटा सम्झौता भएको थियो । चरा जगतले सबैका लागि चारो खोज्ने । दुईचार चराहरूले सूर्यको प्रकाश छिमल्न आकाशका लामो उडान भर्ने । उडान जारी छ । तर, तिनले चारो खोज्ने चरा जमातलाई बिर्सिसकेका छन् । बेलाबखत एकाध चराले बाटो बिराउँछन्† एकाध चराले विद्रोह गर्छन् । चरा जगतमा हर्ष छाउँछ । यही हर्षको लहर उठ्यो मनमा, सञ्जीव उप्रेतीको ‘संरचनात्मक लाभांश’ पढेपछि ।
कस्तो किताब ?
‘संरचनात्मक लाभांश’ छोटो तर चोटिलो सैद्धान्तिक कृति हो । यसलाई लेखकले आत्मालोचनात्मक–वैचारिक–गैर–आख्यान भन्नुभएको छ । पुस्तक १५ वटा छोटा लेखमा विभाजित छ ।
नेपाली समाजका मूल समस्यालाई लेखकले आफ्ना अनुभव र अनुभूतिमार्फत पाठकसामु राख्नुभएको छ । पुस्तकमा उहाँले खासगरी ‘संरचनात्मक लाभांश’, ‘संरचनात्मक हिंसा’, ‘संरचनात्मक असंवेदनशीलता’, ‘सांस्कृतिक पुँजी’, ‘उदारवादी किक’, ‘संरचनात्मक असमानता’ जस्ता शब्दावलीको चर्चा गर्नुभएको छ । यी शब्दावलीका वैचारिक र व्यवहारिक आयाम खोतल्नुभएको छ ।
उसो त सञ्जीव उप्रेतीले चर्चित उपन्यासहरू लेख्नुभएको छ । नाटकमा अभिनय गर्नुभएको कताकती खबर पढ्न पाइन्थ्यो । तर, मलाई उहाँको सैद्धान्तिक लेखन ‘सिद्धान्तका कुरा’ ले तान्यो । अहिले त्यो पुस्तकका पाना पल्टाउँदा ‘संरचनात्मक लाभांश’ को भाषा अझ माझिएको लाग्यो ।
मूल अवधारणाहरू
लेखक भन्नुहुन्छ – हिंसा समाजको संरचनामै निहित छ । अर्थात, समाज विभिन्न आर्थिक, सामाजिक र राजनीतिक धरातलमा विभाजित हुनाले मानिसहरू यिनै असमान धरातलमा बाँचिरहेका हुन्छन् । त्यही भएर नजानिँदो ढङ्गले प्रत्येक व्यक्तिले हिंसा गरिरहेको वा हिंसा भोगिरहेको हुन्छ । कस्तो हिंसा ? वर्गीय, जातीय, लैङ्गिक, भौगोलिक, शारीरिक हिंसा ।
हिंसा संरचनात्मक हुन्छ भने लाभ पनि संरचनात्मक हृुन्छ । विद्यमान संरचनाले दिने लाभांशलाई लेखकले अनेक आयाम दिनुभएको छ – श्रमिकवर्गको नहुनुको वर्गीय लाभांश, सवर्ण हुनुको जातीय लाभांश, पुरूष हुनुको लैङ्गिक लाभांश, राजधानीमा जन्मिनुको भौगोलिक र प्राविधिक लाभांश, सवलाङ्ग हुनुको शारीरिक लाभांश आदि । यसको अर्थ राजधानीमा जन्मेको एक उच्च वर्गीय सवर्ण, सवलाङ्ग पुरूषलाई संरचनाले सबैभन्दा बढी लाभांश दिन्छ । अर्कोतिर, दलित, समलिङ्गी र आँखा नदेख्ने एक हरितन्नम मधेसी महिला नेपाली समाज–संरचनाको सबैभन्दा पिँधमा छिन् । समाजमा जसले बढी संरचनात्मक लाभांश पाउँछ, उसको ‘सफल’ हुने सम्भावना पनि उत्तिकै बढी हुन्छ । अर्थात, सफलता–असफलता आफैमा संरचनात्मक असमानताको प्रतिफल पनि हो ।
जुन व्यक्तिले जति बढी संरचनात्मक लाभ पाएको हुन्छ, त्यो त्यति नै बढी असंवेदनशील हुनसक्छ । उसले लाभांश कम पाएका वर्ग, जाति, भाषा, लिङ्ग, भूगोल आदिका मानिसका दुःख र वेदनालाई बेवास्ता गर्छ । तर, उसलाई यो कुराको पत्तो नहुन पनि सक्छ । लेखकले यसलाई बडो गजब शब्दमा अभिव्यक्त गर्नुभएको छ – मानिसको सचेत मस्तिष्क बडो चलाख हुन्छ, उसको अवचेतन झनै चलाख हुन्छ । मनले त आफूलाई आफ्ना असंवेदनशीलता बुझ्न नदिन, लाभांशहरूलाई बुझ्न नदिन अनेकन यत्न गर्छ नै किनकि त्यो बुझे मानिसमा सामाजिक र नैतिक जिम्मेवारीबोध थपिन्छ ।
तथापि, मानिसहरू आफूलाई उदारमना देखाउन लालायित हुन्छन् । यसैलाई लेखकले कटाक्षपूर्वक ‘उदारवादी किक’ भन्नुहुन्छ । यो त्यही भावना हो जुन कुनै भिकारीलाई भिख दिँदा मानिसले महसुस गर्छन् । उदारवादी किक रमाइलो त हुन्छ तर नैतिक दृष्टिले यो घातक मनोवृत्ति हो भन्नुहुन्छ लेखक ।
नेपाली समाजका यी यावत समस्याहरूलाई चिर्न एउटा नयाँ ‘आलोचनात्मक संस्कृति’ को अभ्यास गर्नुपर्ने र यसले नै ‘लौकिक नैतिकता’ को विकास गर्ने लेखकको ठहर छ । पुस्तकमा लेखकले माथिका अवधारणालाई परिपुष्ट गर्न नेपाली समाजमा देखिएका विभेदका पछिल्ला घटनाहरू र आफ्नै अनुभवलाई रोचक ढङ्गले पस्किनुभएको छ ।
किन पढ्ने ?
समाज बदल्नु छ, सुरू आफैबाट गर्नु छ – नेपाली समाजमा धेरैपल्ट दोहोरिएको नारा हो यो । तर, सुरू कसरी गर्ने ? कसैले सोध्यो भने अब निर्धक्क भन्न सकिन्छ – सञ्जीव उप्रेतीको मसिनो तर खँदिलो पुस्तक ‘संरचनात्मक लाभांश’ पढ्नुहोस्, आत्ममन्थन गर्नुहोस्, आआफ्ना ‘कम्फर्ट जोन’ बाट निस्केर आफैलाई कठोर र अप्ठ्यारा प्रश्नहरू गर्नुहोस् ।
पुस्तकको नाम सुन्दा अलि जटिल लाग्न सक्छ । तर, विश्वास गर्नुस् – पढेर नसक्दासम्म समाइरहन मन लाग्ने र पढेर सकेपछि दिमागलाई झक्झक्याइरहने पुस्तक हो यो । यस पुस्तकबारे विद्यालय र विश्वविद्यालयहरूमा मात्र होइन, गाउँ–टोल र चिया पसलहरूमा समेत चर्चा हुनुपर्छ । नयाँ संस्कृतिको निर्माणमा यो पुस्तकले एउटा कोशेढुङ्गाको काम गर्ने आशा लिन सकिन्छ । तर, पहल त गम्भीर र संवेदनशील पाठकहरूले नै गर्नुपर्छ ।
उडान भर्ने चराहरू भुइँमा ओर्लिरहून् ! चरा जगतमा हर्ष छाइरहोस् !
Leave a Reply