भर्खरै :

सिद्धान्तको लिलाम, कुर्सीको सौदाबाजी

सिद्धान्तको लिलाम, कुर्सीको सौदाबाजी

हिजोका ती कट्टर शत्रु, शत्रुताका पर्खाल चिर्नेहरू,
आज सिद्धान्तको जग भत्काई, अवसरको खेती गर्नेहरू ।
एउटै छातामुनि उभिएर, पापका दाग लुकाउन थाले,
लज्जाको वस्त्र फेरिएझैँ, सत्ताका जाल बुन्ने भए ।

हिमाल, पहाड, तराईभरि, सातै प्रदेशमा उही छाया,
कुर्सीको सौदाबाजीमा, सिद्धान्त बेचियो, स्वार्थको माया
हिजो जसलाई ‘गद्दार’ भन्थे,आज उसैको गलामा हार,
स्वार्थको तराजुमा जोखिँदा, नैतिकता सधैँ लाचार ।

अझै सडकको ताप सेलाएको छैन, युवाको रगत सुकेको छैन,
चेतावनीका राँका अझै बल्दै छन्, देशको घाउ पुरिएको छैन ।
तर ती पुराना आँखाहरू, अझै अन्धा, अझै बहिरा,
सत्ता देखेपछि बिर्सिन्छन्, देश, जनता र नैतिकता सारा ।

कतै नयाँ स्वर सुनिँदै छन्, परिवर्तनको चाहना बढ्दै छ,
तर पुरानै सोच बोकेका शासक, उही चालमा अघि बढ्दै छन्
राजनीति रहेन अब, नीतिको खुला व्यापार भयो,
कुर्सी, मन्त्रालय र भागबन्डामा, देशको भविष्य नै लिलाम भयो ।

भ्रष्टाचारका पुराना फाइल,बन्द दराजभित्र थन्किएका छन्,
आफ्ना कर्तुत छोप्न फेरि, गठबन्धनका जाल बुनिएका छन् ।
यो दृश्य देखेर जनता मात्र होइन, भगवान् पनि छक्क परे होलान्,
सत्यलाई कैद गरेर बस्नेहरू, कहिलेसम्म आफूलाई जोगाउलान् ?

हिमाल, पहाड र तराईको माटो, आज मौन भएर साक्षी छ,
क्रान्तिको खोल ओढ्नेहरूको, मकुन्डो आफैँ खस्दै छ ।
जनताको धैर्य अनन्त होइन,समय सधैँ मौन रहँदैन,
सिद्धान्त बेच्नेहरूको बजारमा, अन्तिम फैसला जनता नै गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *