“जनताको समस्यामा ध्यान दिनु नै राजनीतिको उद्देश्य हो”
- श्रावण २३, २०८३
‘मजदुर’ को ‘विचार’ कोलममा योगेन्द्रमानको ‘प्यालेस्टिनी जनताका बारेमा किन बोल्नुपर्छ ?’ भन्ने शीर्षकको विचार पढेँ ।
हो त, ‘वल्र्ड कप हुँदा अर्जेन्टिना, स्पेनलगायत आफूलाई मनपर्ने देशको झन्डालाई टोलै ढाक्ने गरी प्लेकार्ड झुन्ड्याएको छ भने पीडित प्यालेस्टिनी जनताको पक्षमा किन नलिने ?
राणा कालको अन्त अन्ततिर भक्तपुरका केही ठुला–बडा सम्झिएका गाउँ र नगरका परिवारहरू आफूलाई नै शासक सम्झी राणाविरोधी युवाहरूलाई ‘काङ्ग्रेस’ र ‘भारतका दलाल’ भनी जेलमा कोच्न दिन्थे ।
पञ्चायती कालका ती नै परिवारहरूले ‘प्रगतिशील’ र ‘गरिब किसानका पक्षका’ व्यक्तिहरूलाई अनेक आरोप लगाएर वा निहँु खोजेर लाठीचार्ज गर्न दिन्थे । केही गुन्डा युवाहरू खुबै फूर्ति गरेर झगडा गर्ने निहुँ खोज्दै गर्थे । ती परिवारका व्यक्तिहरू किन त्यसरी आक्रामक हुँदा रहेछन् भनी सोच्दा थाहा भयो, तिनीहरूका मालिकहरूले ‘तिमीहरूले मान्छे मारेर आऊ, २४ घण्टाभन्दा बढी थुन्न लगाउँदैनौँ, अनेक जुक्ति गरेर छुटाउछौँ, डराउनु पर्दैन’ भन्ने आश्वासन दिन्थे र त्यसरी नै ती निश्चित परिवारका व्यक्तिहरू स्कूल, कलेज, अस्पताल र अनेक कार्यालय, टोल र गाउँमा धाक लगाएर हिँड्थे ।
त्यसबेलाको उखानै थियो, ‘कर्कलो भाँच्न तरबार चाहिँदैन र जनता तर्साउन निहुँ चाहिँदैन ’, बाबु शत्रु र जनता मित्र कहिल्यै हुँदैन ।’
अहिले पनि नेपालका जिल्ला, प्रदेश र नगरहरूमा जस्तै भक्तपुरमा पनि त्यस्ता संस्कार बोकेका परिवार र व्यक्तिहरू जताततै छरिएका छन् । तिनीहरू नै प्रशासनका नयाँ हाकिमहरू, स्कूल, कलेज र अस्पतालहरूमा समेत धाक, धम्कीले तर्साउन चाहन्छन् । तर, भक्तपुरका जनता र प्रगतिशील युवाहरू आफ्नो परिवारको धाक लगाउनुभन्दा पनि जनताका छोराछोरी, युवा, विद्यार्थी र गरिबहरूको सेवा गर्न, शिक्षित बनाउन समर्पित छन् । त्यस्ता परिवारको धाक दिने र सरकारको धाक दिनेहरूलाई सबै जनताले चिनिराख्नु आवश्यक छ । समाजमा नक्कली प्रहरी, नक्कली डाक्टर र म्यानपावर कम्पनी र सरकारका मानिस भनी ठग्ने र तर्साउनेहरूको कमी छैन ।
एसिया र संसारमा नेपालीहरू अत्यन्त अल्पमतमा छन् । त्यस्तै नेपालभित्र पनि विभिन्न जात–जातिहरू र भाषाभाषीहरूमा पनि कम सङ्ख्या र प्रतिशतका छन् । जनसङ्ख्या बढी भएका शासक, जाति र भाषाभाषीले अरुलाई हेलाहोचो गर्ने छुट पाएमा इजरायलमा ‘प्यालेस्टिनी’हरू जस्तै दमन सहनु पर्नेछ । इजरायल भन्ने देशमा पनि यहुदीहरू बहुमतमा छन् र प्यालेस्टिनी र अन्य जाति र धर्मकाहरू अल्पमतमा छन् । भारतमा पनि हिन्दू बहुमतले दमन गर्ने नीति लिएमा धेरै धेरै अन्य जात र धर्मका जनताले दुःख पाउनेछन् । यसकारण नेपाली जनता र नेपालभित्रै पनि बहुमतको ‘तानाशाही’ र ‘अत्याचार’ को विरोधमा सङ्घर्ष गर्ने भावना म¥यो भने दुःखी गरिबहरूले संसारमा बाँच्न गा¥हो हुनेछ र न्याय पाउने छैनन् ।
यसकारण, सबै नेपाली जनताले एक आपसमा बलियोले कमजोरलाई दबाउने र हाँक देखाउने घमण्डबाट जोगिन आवश्यक छ । कुनै देशमा त्यस्तो अत्याचारको विरोध गर्नुपर्छ र कतैबाट या अरूले हामी नेपालीलाई थिचोमिचो ग¥यो भने हाम्रो पक्षमा विदेशी जनताले हाम्रो पक्ष लिनेछन् । संरा अमेरिकाको साम्राज्यवादी र भारतको मोदी सरकारको नीति विस्तारवादी छ । त्यसको विरोध जरूरी छ । अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अपराधीको रूपमा संयुक्त राष्ट्र सङ्घको एक न्याय समितिले नै घोषणा गरेको व्यक्ति इजरायली प्रधानमन्त्री नेतन्याहुलाई समर्थन गर्दै छन्, जुन उचित छैन ।
– एक शुभचिन्तक
Leave a Reply