भर्खरै :

युवा–विद्यार्थीहरूमा आफ्नो गाउँ नगर आफैले बनाउछौँ भन्ने भावना हुनुपर्ने

युवा–विद्यार्थीहरूमा आफ्नो गाउँ नगर आफैले बनाउछौँ भन्ने भावना हुनुपर्ने

भक्तपुर, २३ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मधेस–काठमाडौँ सम्पर्क समितिको आयोजनामा शनिबार एक विद्यार्थी भेला आयोजना भयो । भेलामा मधेसका जिल्लाहरूबाट काठमाडौँ उपत्यकामा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति थियो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं मधेस प्रदेश समितिका संयोजक प्रमुख सुनिल प्रजापतिले सरकारमा गएका पुँजीवादी पार्टीहरूको सिद्धान्तहीन, भ्रष्ट कार्य र प्रवृत्तिका कारण देश आजको जटिल स्थितिमा पुगेको चर्चा गर्दै इतिहासले अक्षम र अपराधी सिद्ध गरेका पार्टीहरूलाई जनताबिच उदाङ्ग्याउनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “शासक पार्टीहरूको विदेशीसामु आत्मसमर्पणकै कारण देशको प्राकृतिक स्रोतसाधन साम्राज्यवादी र भारतीय विस्तारवादीहरूको हातमा पुगिसकेको अवस्थामा छ । युवा–विद्यार्थीहरूमा आफ्नो गाउँ–नगर हामी आफैले बनाउँछौँ भन्ने भावना हुनुपर्छ ।”
नालायक शासकहरूकै कारण त्रिभुवन विश्वविद्यालयमा हुनुपर्ने युवाहरूको लाइन त्रिभुवन विमानस्थलमा लागेको केन्द्रीय सदस्य प्रजापतिले उल्लेख गर्नुभयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले विद्यार्थी साथीहरूले व्यक्तिगत स्वार्थभन्दा पनि सामाजिक हितका निम्ति अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनमा युवा–विद्यार्थीहरू अगाडि रहे पनि त्यसको रिमोट कन्ट्रोल विदेशी शक्ति केन्द्रहरूमा रहेको बिस्तारै खुल्दै गएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोज साहले पुँजीवादी व्यवस्थाले सबै जनतालाई शिक्षा र स्वास्थ्योपचारजस्तो आधारभूत सेवा पनि दिन नसक्ने हुनाले समाजवादी व्यवस्थाको निम्ति लड्नुपर्ने बताउनुभयो ।
मधेसका अधिकांश पदासीन सरकार र स्थानीय तहहरू भ्रष्टाचारमा डुबेको र त्यसको कारण शासक दलहरूको भ्रष्ट प्रवृत्ति भएको उहाँले उल्लेख गर्नुभयो ।
भेलामा नेमकिपा मधेस प्रदेश समितिका सचिव प्रकाश थुसाले देशी विदेशी प्रतिक्रियावादीहरू देशलाई अस्थिर पार्न सक्रिय रहेकोले नयाँ पुस्ताका विद्यार्थीहरू जातिवादी र साम्प्रदायिक सोचबाट मुक्त हुनुपर्ने बताउनुभयो ।
विद्यार्थी भेला आयोजक समितिका अध्यक्ष विशालकुमार साहको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *