भर्खरै :

सहरमा घर भत्काउँदै र जग्गा मास्दै सडक चौडा गर्नु सन्तुलित विकास नहुने

सहरमा घर भत्काउँदै र जग्गा मास्दै सडक चौडा गर्नु सन्तुलित विकास नहुने

सर्वोच्च अदालतले व्यक्तिको निजी जग्गामा सडक बनाउँदा मुआब्जा दिएर अधिग्रहण गर्नुपर्ने वा एकीकृत आवास योजना सञ्चालन गर्नुपर्ने फैसला दिएको केही वर्ष भयो । यो फैसला उल्लङ्घन हुने गरी रास्वपा सरकारले हाल कायम रहेको सडकको मापदण्ड दोब्बर बनाउने र जग्गाको मुआब्जा मूल्यको २५ प्रतिशतसम्म कर उठाउने विधेयक तयार गरेको सार्वजनिक भयो । रास्वपा सरकारको विधेयकको सडक र कर नीति देश र जनताको हितमा नहुनुको साथै सर्वोच्चको फैसलाविपरीत हुँदा स्वतः बदर हुने निश्चित छ । यो विधेयक कानुन बनाउनु अघि सरकारले उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने कानुन बनाउनु जरुरी हुन्छ ।
रास्वपा सरकारले शहरीकरणमा केही योगदान गर्ने नै भए देशभरिका ७५३ स्थानीय तहको सदरमुकाममा भौतिक पूर्वाधार निर्माण गरी देशको सन्तुलित विकास गर्नु जरुरी छ । सङ्घीय र प्रदेशको राजधानीमा बसाइँसराइ बढाएर यहाँका घर भत्काउँदै र जग्गा मास्दै सडक चौडा गर्नुले समस्या समाधान हुँदैन झन् जटिल हुनेछ । यतिखेर बढ्दो बसाइँसराईसँगै शहरमा खानेपानी, फोहरमैला, सडक जाम, दुर्घटना, धुलो–धुवाँको प्रदूषण र अपराधको सङ्ख्या वृद्धि विकराल भइसकेको छ ।
विश्वको अत्याधिक जनसङ्ख्या भएको एउटा देश चीनले सन्तुलित र व्यवस्थित शहरविकासको निम्ति २०–२० लाखको शहर बनाउने योजना कार्यान्वयन गर्दै छ । चीनको तुलनामा भारतमा जनसङ्ख्याको बन्दोवस्त नहुँदा कोलाहल, वेरोजगारी, प्रदूषण, अपराध व्यवस्थापन भएको छैन । नेपालको जनसङ्ख्या अनुसार देशको सन्तुलित विकास समेत गर्न स्थानीय तहका सदरमुकामहरूमा ५० हजारदेखि १ लाखको शहर बसाल्नु उपयुक्त हुनेछ ।
देश जलाउँछु भन्दा प्रम !
रास्वपाले निर्वाचनमा जनतालाई No Line भन्दै Online सेवा दिने वाचा गरेको थियो । रास्वपा सरकारमा पुगेको चारमहिना नाघ्यो । यो अवधिमा खाना पकाउने ग्यास पाउन जनता भौँतारिँदै छन् भने वैदेशिक रोजगारीमा पठाइने युवाको लाइन पनि बढ्दो छ ।
पत्रकार राजेन्द्र वानियाले रास्वपा सांसद राजु पाण्डेसँग साधेका थिए– “सिंहदरबार जलाउँछु भन्दा बालेनलाई प्रधानमन्त्री बनाउनुपर्ने हो ?” बालेन कामनपाको मेयर हुँदा राजु नगरप्रहरीका प्रमुख थिए । बालेनले आफूसँगै राजुलाई पनि राजीनामा गराएर संसद्मा पु¥याउन लगाएका थिए । राजुले बालेनलाई बचाउँदै स्पष्ट पार्न खोजे– “बालेनले सिंहदरबार साँच्चै जलाउने भन्नुभएको होइन ।” बानियाले थपे– “के सिंहदरबार जलाउँछु भनेको सिंहदरबारमा घण्टी बजाउँछु भनेको हो र ?” सांसद पाण्डे अक्क न बक्क भए ।
मेयर हुँदा बालेनले सरकारी बजेट खर्बौँ रुपैयाँ खर्च हुन नसकेको (फ्रिज भएको) र यसलाई विद्युतीय गाडी र खाना पकाउने इन्डक्सन चुल्होमा खर्च गर्न सकिने बताएका थिए । प्रमको कुर्सीमा पुगेका बालेनले यतिखेर संसद्मा भने– “अहिले नै जनताको घरघरमा विद्युतीय चुल्होमा खाना पकाउन सुरु गरे देशभरका ट्रान्सफरमर पड्किनेछ ।”
यसबारे एक पत्रकारले बालेनलाई देउवाभन्दा दोगला र ओलीभन्दा अहङ्कारी भएको टिप्पणी गरे ।
सहकारी ठगी र सरकार
कानुनका विद्यार्थी हरि कट्टेलले नेपालका सञ्चारमाध्यममा ‘सानो पाइला बचत तथा ऋण सहकारी संस्था’ को ५५ करोड रुपैयाँ गोर्खा मिडिया प्रालिअन्तर्गतको ग्यालेक्सी टीभीमा जीवी र रविले लगानीको नाममा अपचलन र ठगी गरेको प्रमाण आफूसँग भएको ठोकुवा गरे । कट्टेलको जोड थियो– “मेरै अगाडि रविले जीवलाई फोन गरे । त्यतिबेला जीवी नेपालमै थिए । रविको पक्षमा मुद्दा वहस गर्न वीरगञ्ज पनि पुगे । त्यतिबेला रवि गृहमन्त्री थिए । नेपालले हस्ताक्षर गरेको अन्तराष्ट्रिय कानुनअनुसार जुनसुकै देशमा रहेका अपराधमा संलग्न नेपालीलाई सम्बन्धित देशमार्फत पक्राउ गराई मगाउन मिल्छ । नेका, एमाले, रास्वपा सरकारले जीवीलाई नेपाल ल्याएर कार्वाई गर्न चाहेनन् । नेपालका कानुनका प्राध्यापक र वकिलहरू पनि मौन बसे ।”
सहकारी संस्थाहरूमा भएको ठगीमा रास्वपाका रविको संलग्नताबारे संसदीय छानबिन समिति गठन भएको थियो । समितिको सदस्यमा रास्वपाका वर्तमान परराष्ट्रमन्त्री शिशिर खनाल पनि सदस्य थिए । खनालले त्यसबेला अनौपचारिक रूपमा सहकारी ठगीमा परोक्ष भए पनि रविको संलग्नता भएको सङ्केत दिएको बताउनेहरू पनि छन् । यसकारण पनि खनालले रविमार्फत पार्टी र सरकारमा मुख्य भूमिका पाइरहेको बताउनेहरू पनि छन् । सरकारले सहकारी संस्थाको बचत सबै सदस्यको हितमा उत्पादन र सेवामा लगानी गर्नुपर्ने कानुन नबनाएसम्म सहकारी ठगी रोकिने छैन । सहकारी ठगीमा मुद्दा बोक्नुपरेको कारण रविले चुनावअघि बालेनलाई प्रम बनाउने सहमति गरेका थिए ।
रास्वपा र बालेनबिच मतभेद
एक विश्लेषक बुद्ध छिरिङले तीन ओटा अङ्ग्रेजी अक्षर ‘ए’ ले बालेनको सरकार गठन गरेको बताए । उनका अनुसार तीन ‘ए’ मा आर्मी, अल्गोरिदम र अमेरिका हुन् । यी तीन ‘ए’ को साथ नपाए बालेनलगायत रास्वपाका कतिपय गत भदौ २३ र २४ गतेको उपद्रवमा सामेल भएकाहरू जेलमा पुग्ने उनको जोड हो । अर्का एक पत्रकारले भने– ‘जङ्गी अड्डाले प्रमलाई चलाउने अवस्था सैनिक शासनजस्तै हुनेछ ।’
बालेनले केही दिनअघि सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ । यो पहिलो चोटी होइन ।’ राखेर आफू ‘एक्लिएको’ सङ्केत गरे ।
ठीक यहीबेला रास्वपा सभापति रविले सरकारले काम नगरे कान समाउने पार्टी भएको बताए । तर, रविको अडान पनि बलियो छैन ।सञ्चारमाध्यमको पत्रकार हुँदा रविले ‘वाल्यकालमा देखेको नेपालको चुच्चे नक्सा छपाएर जारी नगरेका सुरुवाल भिजाउने सरकारका निरीह जनता भएर बस्नुपरेको’ बोलेका थिए । अहिले सरकारको नेतृत्वमा पुगेको पार्टी सभापति हुँदा रविले कूटनीतिमार्फत विषय सल्टाउनुपर्ने, ढोल बजाएर नहुने भनी भारतीय विस्तारवादसामु आत्मसमर्पण गरे ।
रास्वपाकै सांसदहरू सरकार तराईमा सेना र प्रहरी पठाएर जनतालाई दमनमा लागेको र जनतालाई पढाउन र उपचार गर्न शिक्षक एवम् डाक्टर नपठाएको, पूर्ववर्ती सरकारले तयार गरेको लालपुर्जा सुकुम्वासीलाई वितरण र सुरुङमार्ग उद्घाटनमा लागेको, चारमहिनामा संसद्को कामकारवाही असफल भएको, प्रम र मन्त्रीलाई वास्ता नभएको पीडा पोख्दै छन् ।
वरिष्ठ पत्रकार भूषण दाहालले रास्वपाका बालेन सरकारको एकसय दिनपछि ‘पाण्डोराको बाकस’ खुलेको, आर्थिक, कूटनीतिक र प्रशासनिक क्षेत्रको जहाज डुबेको बताए ।
पत्रकार राजेन्द्र बानियाले रास्वपाका सांसद गणेश कार्कीलाई ‘सिंहदरबार पोल्ने मान्छे’ भदौ २४ गतेको उपद्रोबारे अनुसन्धान किन भएन भनी प्रश्न गरे । सांसद कार्कीले भदौ २४ गते कान्तिपुर भवन आगजनीपछि ‘तिम्रो देश समाप्त भयो’ भनी बोलेको सार्वजनिक भएको हो ।
यतिबेला रास्वपा सांसद मनिष झा प्रतिपक्षीको भूमिकामा देखिएको के प्रमुख विपक्षी र विपक्षी नेका, एमाले र माओवादीलाई चुनौती दिइएको हो ? संसद र सडकमा प्रमुख र विपक्षी गुमनाम जस्तै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *