भर्खरै :

संसद् र सांसदको मर्यादा कायम राख्नुपर्छ

संसद् र सांसदको मर्यादा कायम राख्नुपर्छ

देश विकास र जनताको काम, माम र बासको निम्ति ऐन बनाउन अघि सर्नुपर्ने सांसदहरू संसद्मा हुने अनुपस्थितिबारे विगतमा पनि धेरै गुनासो हुन्थ्यो । संसद्मा जाने हाजिर गर्ने तर देशको ऐन, कानुनको विषयमा छलफल हुने बैठकमा नबसी आ–आफ्नो व्यक्तिगत काम या स्वार्थमा लाग्ने सांसदहरूको प्रवृत्तिबारेको गुनासो अहिले पनि यथावत छ । बैठकमा सांसदहरूको गणपूरक सङ्ख्या नपुगेर बैठकहरू स्थगित गर्नुपरेको अवस्था छ । संसद्मा गणपूरक सङ्ख्या पु¥याउन ३ मिनेट घण्टी दिएर सूचना गर्दा पनि एकचौथाइ पनि पुगेन । प्रश्न उठ्छ, झन्डै दुईतिहाइ सांसद भएको रास्वपाका सांसदहरू कता लागे, के काममा लागे ? के उनीहरू आ–आफ्नो व्यक्तिगत काममा लागेका हुन् या कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा लागेका हुन् ? विगतमा पनि संसद् चलिरहेको बेला बैठकमा सांसद सङ्ख्या पुग्दैनथ्यो । त्यो रोग अद्यापि छ । विगतको सरकार र यो सरकारमा के फरक रह्यो ?
बैठक भत्ता लिने, रेष्टुराँमा तन्न खाने अनि आ–आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने सांसदहरूले के देश र जनताको निम्ति सेवा गर्लान् ? सांसदहरूले आफ्नो पद र मर्यादाको पनि ख्याल गरेनन् । पदकै ख्याल नगर्ने सांसदहरूमा न त दायित्व बोध हुन्छ न त देश र जनताप्रति चिन्ता र चासो हुन्छ । के सांसदको काम भनेको संसद्मा हाजिर गरेर परिवारसँगै घुमफिर गर्न जानु हो ? देशको लागि आवश्यक संविधान, ऐन, कानुन, नीति–नियम, विकासबारे चिन्ता र चासो लिएर भूमिका खेल्नुपर्ने सांसदहरू संसद्को बैठकै खाली गरेर कहाँ किन गए भन्ने प्रश्न सचेत नेपाली जनताले
गर्न थालेका छन् । कति नयाँ सांसदहरूमा कहाँ के बोल्नुपर्छ भन्ने ज्ञान पनि छैन । प्रतिपक्ष सांसदले उठाएका प्रश्न र जिज्ञासा पनि बुझ्दै नबुझी जवाफ फर्काएर नयाँ सांसदहरू हाँसोका पात्र बनेका छन् । संसद्मा उठाएको प्रश्न सहन नसकेर आक्रोशमा बोल्ने, के बोलेको भनी पाखुरा सुर्काउने, छाडा बोल्ने, के बोलिस् भनी अशिष्ट व्यवहार गर्ने सांसदहरूको चाला देखेर सत्तासीन दलका नेता, मन्त्री र अन्य सांसदहरू नै लज्जित भएको स्थिति छ ।
राजनीतिको कुनै ज्ञान नभएका, जनतामाझ पुगेर जनताको सेवामा कहिले नभिजेका, नलागेका सांसदहरू संसद्मा भरिएका छन् । देश नचिनेका, जनताको समस्या नबुझेका सांसदहरूको जमातले देशको मुहार फेर्ला भनी कसरी विश्वास गर्ने ? जनताले नचिनेका सांसदहरू जनताभित्र कसरी भिज्छन् ? जनताभित्र नपसेका सांसदहरूले जनताका समस्या कसरी बुझ्छन् ? विगतमा रास्वपाका सांसदहरूले सरकारको ध्यानाकर्षण गर्दै प्रश्न गरेका थिए, संसद्मा सांसदहरू खोइ ? आज त्यही रोग रास्वपामा सरेको छ । रास्वपाका सांसदहरू संसद् बैठकमा उपस्थिति सारै नगण्य छ । अरु दलका नेताहरूलाई पाठ सिकाउने रास्वपाका सांसदहरूले आफ्नै दलका सांसदहरूलाई पाठ सिकाउने कहिले ? हिजो महँगी र ग्यासको अभावमा घाँटी सुकाइसुकाइ बोल्ने सांसदहरूले आज महिनौँदेखि ग्यास अभाव भए पनि, महँगी बढे पनि सरकारको ध्यानाकर्षण गरेको खोइ ? सरकारको गलत काम, गलत निर्णय र कमजोरीको विरोध प्रतिपक्ष दल र दलका सांसदहरूले मात्र होइन सत्तासीन दलका सांसदहरूले पनि गर्नुपर्छ । गल्ती कसैले गर्नुहुँदैन† गल्ती कसैले गर्छ भने त्यसको विरोध या खबरदारी गर्नुपर्छ ।
कति सांसदहरू हचुवा ढङ्गले टिप्पणी गर्छन्, संसद्मा बोल्ने नेता सांसदहरूको कर्तव्य हो† हामीले बोल्नु पर्दैन† बोल्न पनि दिँदैन† अनि संसद्मा के गरेर बस्ने ? अरुले बोलेको के सुनेर बस्ने ? संसद्मा बोल्ने पालै आउँदैन । बोल्ने कार्यक्रम पनि छैन भनेर सांसदहरू संसद्बाट भाग्न पाउँदैनन् । संसद्मा व्यक्त विचार सुनेर, सांसदको प्रतिक्रिया र सोको जवाफ सुनेर पनि कति कुरा जानिन्छ । के संसद् बोल्नेहरूको मात्र मञ्च हो ? बोल्नेहरूमात्रै संसद्मा सहभागी हुने भए संसद् र सांसदको मर्यादा कसरी हुन्छ ? संसद् कसरी चल्छ ? बहुमत प्राप्त सरकारका सांसदहरूको यो दुर्गति र दुर्भाग्यपूर्ण स्थिति कसले निम्त्यायो ? सत्तारुढ दल रास्वपाका सांसदहरूको संसदीय जिम्मेवारीप्रतिको यो बेवास्ता के अन्तिम होला र ? सरकारको कार्यशैलीप्रति के रास्वपाकै सांसदहरू सन्तुष्ट नभएका हुन् ? के सांसदहरू जिम्मेवार, नैतिक र कर्तव्यनिष्ठ हुनुपर्दैन ? संसद्मा सांसदहरूको उपस्थिति र सहभागीप्रति समयमै ध्यान नदिए के जनतामा संसद्प्रतिको विश्वास कम हुँदै जाँदैन ? सोचनीय छ । यो संसद्को प्रभावकारीमाथिको शङ्का निवारण गर्ने काममा के सत्तारुढ दल रास्वपा लाग्छ ? लागेर हल गर्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *