भर्खरै :

कठिन समय आउँदै छ भाजपा र मोदीका लागि

  • श्रावण २९, २०८३
  • वीर संघवी
  • विचार
कठिन समय आउँदै छ भाजपा र मोदीका लागि

कहिलेकाहीँ सबैभन्दा ठुलो शक्ति नै तपाईँको सबैभन्दा ठुलो कमजोरी बन्न सक्छ । अहिले भारत सरकारका सन्दर्भसँग यो भनाइ मेल खान्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वर्तमान सरकारपछाडिका सबैभन्दा ठुला शक्ति हुन् भन्नेमा कसैले प्रश्न गर्दैन । सर्वेक्षणहरूले मोदी आफ्नो सरकारभन्दा बढी लोकप्रिय रहेको देखाउँछन् । मोदीको ‘जादु’का कारण भाजपा लगातार तीनपटक लोकसभा चुनाव जित्न सफल भयो । भारत सरकारमा मोदीको प्रभाव कति छ भने सरकारका कार्यक्रमलाई ‘मोदीको ग्यारेन्टी’ भनिन्छ, सम्पूर्ण सरकारको होइन ।
पार्टी पङ्क्तिमा पनि मोदीप्रतिको सम्मान कम छैन । भाजपा नेताहरू मोदीको प्रशंसा नगरी आफ्नो भाषण वा घोषणा टुङ्ग्याउँदैनन् । हरेक कार्य प्रायः ‘हाम्रा प्रिय प्रधानमन्त्रीको नेतृत्वमा’ भएको भनिन्छ । मोदी सरकारभित्र राम्रो काम गरेका मन्त्रीले समेत आफ्नो कामको श्रेय प्रधानमन्त्री मोदीको नेतृत्व र दृष्टिकोणलाई दिन्छन् । आलोचकहरू मोदीको यो स्तरको प्रशंसालाई खिल्ली त उडाउँछन् तर उनीहरू पनि मोदीको लोकप्रियताले भाजपाको भोट बढेको अस्वीकार गर्न सक्दैनन् । मोदीले नेतृत्व गरेको चुनावमा भाजपाको लोकप्रिय मतको हिस्सा ३१–३६ प्रतिशतबिच रहेको छ । यो हिस्सा मोदीको भाजपाका लागि सबैभन्दा ठुलो योगदान मानिन्छ । उनीबिना पार्टी सायद यहाँसम्म कहिल्यै पुग्न सक्दैनथ्यो ।
प्रायः शक्तिका हिसाबमा मोदी र इन्दिरा गान्धीको तुलना गरिन्छ । तथापि, हालको उच्च लोकप्रियताको बाबजुद, मोदी कहिल्यै गान्धीजत्तिकै लोकप्रिय बन्न सकेनन् । सन् १९७१ मा, गान्धीलाई काङ्ग्रेसबाट निष्कासित गरेपछि भएको निर्वाचनमा आफ्नो सङ्गठन नहुँदासमेत नवगठित काङ्ग्रेस पार्टीले ४३ प्रतिशत लोकप्रिय मत प्राप्त ग¥यो ।
एकजना नेताले हरेक सफलताको श्रेय लिन थालेपछि असफलताका लागि पनि सोही नेतालाई दोष दिन थालिन्छ
सन् १९८० मा, जब सबैले इन्दिराको राजनीतिक करिअर समाप्त भएको अनुमान गरे, उनले पुनरागमन गरिन् । त्यस वर्ष भएको निर्वाचनमा उनको पार्टीले ४३ प्रतिशत लोकप्रिय मत प्राप्त ग¥यो । उनको हत्यापछि भएको सन् १९८४ को लोकसभा चुनावमा काङ्ग्रेसले ४८ प्रतिशत लोकप्रिय मत पायो । तर, ठुला चुनावी जीतका बाबजुद एक समय यस्तो आयो, गान्धी यति अलोकप्रिय भइन् कि उनकै पार्टीले उनलाई बोझ ठान्न थाल्यो । सन् १९७४ मा, इन्दिराविरुद्ध उठेको आन्दोलनले यति ठुलो रूप लियो कि उनको नाम नै भ्रष्ट प्रणालीको प्रतीक बन्यो । सन् १९७५ सम्ममा अवस्था यति बिग्रिसकेको थियो कि पार्टीभित्र उनको नेतृत्वमा सरकार रहिरहनु खतरा मान्न थालिएको थियो ।
सायद इन्दिराले आपतकाल लागू नगरी सन् १९७६ को चुनाव स्थगित नगरेको भए, उनले चुनाव हार्ने थिइनन् । तर, चुनाव केही पछाडि सारे पनि उनको अवस्थामा सुधार भएन । एक वर्ष ढिलो भएको सन् १९७७ को चुनावमा उनले सत्ता मात्र गुमाइनन्, आफ्नै क्षेत्रमा हारसमेत व्यहोरिन् । यस समानतालाई मोदीले ख्याल गरेका होलान् । हालै जन्तरमन्तरमा भएको विरोध प्रदर्शनलाई नेपाल र श्रीलङ्काका आन्दोलनसँग तुलना गरियो । तथापि, यो तुलना सही छैन ।
जन्तरमन्तरको प्रदर्शन शान्तिपूर्ण थियो र आन्दोलनको माग सम्पूर्ण प्रणालीको परिवर्तन थिएन । बरु जन्तरमन्तर आन्दोलनलाई सन् १९७४–७५ को भारतको विद्यार्थी आन्दोलनसँग तुलना गर्नु ठीक हुन्छ । सन् १९७० को दशकमा विद्यार्थी आन्दोलन उठ्नुपछाडिका धेरै कारक पूर्ण रूपमा इन्दिरा गान्धीको गल्तीको परिणाम थिएन । सन् १९७३ मा तेलको मूल्यमा भएको ठुलो वृद्धिले विश्वव्यापी अर्थतन्त्रलाई असर गरेको थियो । विश्वभर रेकर्ड मुद्रास्फीति देखिएको थियो ।
तथापि, इन्दिराले सर्वोच्च नेता जसरी देश चलाइरहेकी थिइन्, यसैले उनी प्रदर्शनकारीको प्राथमिक लक्ष्य बनिन् । विद्यार्थी आन्दोलनको सन्देश स्पष्ट थियो ः जब तपाईँ सबै राम्रोको श्रेय लिनुहुन्छ भने तपाईँले सबै नराम्रो कामको जिम्मेवारी पनि लिनुपर्छ । अर्थात् तपाईँ जति ठुलो नेता बन्नुहुन्छ, त्यति नै ठुलो निसाना पनि बन्नुहुन्छ ।
उसो त मोदीले अहिलेसम्म सन् १९७० को दशकको बिचतिर इन्दिरा गान्धीले सामना गर्नुपरेजस्तो अलोकप्रियताको सामना गर्नुपरेको छैन । तर, दुई परिस्थितिमा केही समानता छन् । मोदीले एक अजेय नेताको जुन छवि विकास गरेका थिए, त्यसलाई प्रदर्शनकारीको निडर मनोवृत्ति र खिल्ली उडाउने शैलीले धज्जी उडाइदियो । आन्दोलनपछि बिहारमा भएको भाजपाको हारले यसको सङ्केत गरेको छ । हिन्दीभाषी क्षेत्रमा भाजपा धेरै बलियो मानिन्छ । त्यसमध्ये पनि भाजपाको सबैभन्दा सुरक्षितमध्ये एक मानिएको सीटमा भाजपाको हारले भाजपा र मोदीका लागि आगामी दिन कठिन हुने सङ्केत गर्छ ।
तथापि, मोदी भारतका सबैभन्दा चतुर राजनीतिज्ञमध्ये एक मानिन्छन् । उनले आगामी दिनमा असन्तोष सम्बोधन गर्ने दिशामा कदम चाल्न सक्छन् । मन्त्रिपरिषद् फेरबदलको पनि चर्चा छ । तथापि, मन्त्रिपरिषद्भित्र ठुलो फेरबदल हुँदा पार्टीभित्र गुटगत आक्रोश बढ्ने खतरा हुन्छ । अहिलेको असन्तोष मत्थर पार्न मोदी सफल हुनेछन् या छैनन् भन्ने वास्तविक परीक्षा अर्को वर्ष उत्तर प्रदेशमा हुने विधानसभा चुनावमा हुनेछ । निश्चित रूपमा भाजपाको ‘अच्छे (राम्रो) दिन’ समाप्त हुँदै छ । तथापि, मोदीलाई कम आकलन गर्नु पनि गल्ती साबित हुन सक्छ ।
– द प्रिन्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *