भर्खरै :

काभ्रेमा एलपीजी ग्यास सहज गर्न नेक्रायुसङ्घको ज्ञापन

काभ्रेमा एलपीजी ग्यास सहज गर्न नेक्रायुसङ्घको ज्ञापन

काभ्रे, ४ भदौ । एलपी ग्यासको सहज आपूर्ति, कालोबजारी तथा बढ्दो महँगी नियन्त्रण सम्बन्धमा नेपाल क्रान्तिकारी युवा सङ्घ काभ्रे र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रेले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रजिअ गोपालकुमार अधिकारीलाई नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पेस गरेको छ ।
विगत एक महिनादेखि खाना पकाउने एलपी ग्यासको चरम अभावका कारण आम नागरिकले दुःख पाइरहेका छन् । खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुको नियमित र सहज आपूर्ति हुन नसक्दा सर्वसाधारणको दैनिक जीवन प्रत्यक्ष रूपमा प्रभावित भएको छ । अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, कालाबजारी गर्ने तथा अस्वाभाविक मूल्य असुल्ने प्रवृत्तिले आम नागरिकको जीवन कष्टकर बनाएको छ । यस्तो अवस्थामा सम्बन्धित सरकारी निकायबाट प्रभावकारी अनुगमन, नियमन र आपूर्ति व्यवस्थापन हुन आवश्यक छ । जनताको चुलो बल्ने अवस्थाको सुनिश्चितता गर्नु राज्यको दायित्व हो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ काभ्रे जिल्ला समिति र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रे जिल्ला समिति सरकारलाई जनताप्रति जिम्मेवार बन्न तथा आम नागरिकको चाहना, भावना र आवश्यकतालाई गम्भीरतापूर्वक सम्बोधन गर्न सचेत गराउँदै ६ बुँदे माग नेपाल क्रान्तिकारी युवा सङ्घ काभ्रेका अध्यक्ष ओमप्रसाद मानन्धरले जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रजिअ गोपालकुमार अधिकारीसमक्ष पेश गर्नुभएको हो । उक्त कार्यक्रममा नेमकिपा धुलिखेलका पुण्यशोभा श्रेष्ठ, पनौतीका बालकृष्ण दुवाल, नेक्रायुसङ्घ काभ्रेका ज्ञानेन्द्र डंगोल, नेक्राविसङ्घ काभ्रेका अध्यक्ष राजु तामाङको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *