भर्खरै :

देउवाको नयाँ अवतार र जनता

देउवाको नयाँ अवतार र जनता

नेपाली राजनीतिको हाटबजारमा अकस्मात् एक ‘जोगी’ प्रकट भए । त्रिभुवन विमानस्थलबाट ओर्लिने बित्तिकै उनलाई फूलमाला र अबीरले स्वागत गरियो । वर्ष दिनअघि केही युवाले यिनलाई ‘भोगी’ भनेर घरबाट निकाला गरेका थिए । पैसा लुकाउन मात्रै यिनको घरमा अलग्गै कोठा बनाइएको भेटिएको थियो । भदौ २३–२४ मा चुटाइ खाने नेपाली राजनीतिका एक मूल खलपात्र अहिले ‘नयाँ’ मन्त्र लिएर आएका छन् । सिङ्गापुरमा उनले कस्तो जपतप गरे ? कसलाई जोखाना हेराए ? कसैलाई थाहा छैन । जे होस्, पुराना जोगी शेरबहादुर देउवा आएका छन्, ‘नयाँ’ मन्त्र लिएर ।
राजनीतिको ‘नयाँ’ मन्त्र
पछिल्लोपल्ट निम्न/मध्यमवर्गका नेपाली युवा ठाउँठाउँमा ‘मदमग्न’ भइरहेका तस्बिर सामाजिक सञ्जालका भित्तामा छ्यापछ्याप्ती पाइन्छ । संसार कृत्रिम बौद्धिकताको युगमा प्रवेश गरिरहेको बेला देशमा भजन–कीर्तनको जगजगी छ । यी कीर्तनको संयोजक हो एउटा भ्रातृ सङ्गठन, एमआरआर (मेन्स रुम रिलोडेड, फेरि लोड गरिएको ‘पुरुष अड्डा’) । शब्दशः यो एउटा भ्रातृ सङ्गठन हो । भगिनीहरूका लागि यो सङ्गठनको ढोका बन्द छ । भगिनीहरू यहाँ आएर नाच्न–गाउन पाइन्छ । तर, सदस्य बन्न पाइँदैन । यसअघि राजनीतिक दलका भ्रातृ सङ्गठनहरू हुन्थे । तर, तिनमा ‘दिदीबहिनीलाई ढोका बन्द छ’ भनिँदैनथ्यो । तसर्थ, एमआरआर वास्तवमै भ्रातृ सङ्गठन हो, पुरुषहरूको सङ्गठन हो ।
धर्म बिस्तारै नेपाली राजनीतिको प्रकट मन्त्र बन्दै छ । त्यसो त यो कुनै नौलो मन्त्र होइन । देशका तमाम हेपिएका, चेपिएका र लुटिएका जनतालाई राम्ररी थाहा छ, धर्म शासकहरूको बलियो हतियार रहिआएको थियो । नेपाली काङ्ग्रेस होस्, एमाले वा माओवादी हुन्, चुनावको बेला नेताहरूले धर्मको कार्ड प्रयोग गर्दै आएका थिए । तिनका मन्त्री, सांसदले आफूलाई ‘धार्मिक’ देखाउन कुनै कसर छोडेका थिएनन् । ०४६ सालअघि पञ्चायतले ‘विश्वको एकमात्र सनातन हिन्दू राज्य’ बनाउन जोडबल गरेकै थियो । त्योभन्दा अगाडि राणा शासनको एउटा बलियो आधार ‘सनातन धर्म’ नै थियो । त्यसअघि पृथ्वीनारायण शाहले ‘असली हिन्दुस्तान’ बनाउने प्रण गरेको इतिहासमा पढ्न पाइन्छ । त्योभन्दा अझ अगाडि काठमाडौँका ‘अर्धसभ्य’ अवैदिक जनतालाई हिन्दू बनाउन मल्ल र लिच्छवी राजाहरूले प्रयास गरेको कसैबाट लुकेको छैन ।
आज ‘सनातन’ धर्म ‘नयाँ’ औतारमा प्रकट भइरहेको छ । वैचारिकीका हिसाबले देशलाई पुनः राणाकालीन युगमा फर्काउने प्रयास हुँदै छ । सरकार चलाइरहेको दल रास्वपाले यसमा कत्रो भूमिका खेल्छ, हेर्न बाँकी छ ।
देउवाको नयाँ अवतार
“म हिन्दू हुँ, म हिन्दू हुँ, म हिन्दू हुँ” – शेरबहादुर गर्जे । उनको गर्जन नेपालका ‘सनातनी’ हरूका लागि भन्दा बढी भारतीय हिन्दू शासकहरूका लागि हो । त्यसैले यो गर्जनभन्दा बढी एक क्रन्दन हो, रोदन हो ।
शेरबहादुर नेपाली काङ्ग्रेसका ‘उत्तरआधुनिक’ नेता हुन्, जस्तो परिस्थितिमा पनि ढल्न सक्ने । देशका नदीनाला भारतलाई चढाउने, ती नदीबाट निस्किने विद्युत् एमसीसीमार्फत अमेरिकाको जिम्मा लगाउने ‘अब्बल खेलाडी’ उनै हुन् । देशको युरेनियम र पेट्रोलियम खानीमा रास्वपाले आँखा गाडेपछि देशमा बेच्नलाई केही बाँकी रहने भएन । त्यसैले रोए शेरबहादुर, ‘सनातन हिन्दू राज्य बनाइदिन्छु’ । यो नाराबाट अमेरिका उति खुसी नहोला, भारतका शासकहरू अवश्य खुसी हुनेछन् । आज देशको राजनीतिमा कसको पल्ला भारी छ भन्ने कुरा राम्ररी बुझेका छन् शेरबहादुरले ।
राणा शासकहरू देशलाई ‘सनातन धर्म’ को पासोमा राख्न चाहन्थे । देउवा–पत्नी आरजु तिनैकी छोरी हुन्, भारतका हिन्दू शासककी ‘धर्मबहिनी’ हुन् । पारिवारिक दृष्टिले देउवाको ‘सोर्सफोर्स’ कमजोर छैन । यति भएपछि नेपाली राजनीतिमा छाती तन्काउन काफी हुन्छ । जनता के चाहन्छन् भन्ने कुरा उति महत्वको होइन यहाँ । जनतालाई दुईचार भजनकीर्तनले नै झुलाउन सकिन्छ । चुनावको बेला हेलिकप्टरमा उड्दै पैसाका बिटा फालेपछि यो देशमा जोसुकैले ‘सार्वभौम’ जनताबाट ‘वैधता’ नामको पर्ची सजिलै किन्न सक्छ । त्यसैले भदौ २३ र २४ गते कालो मोसो लागेको अनुहार आज फेरि प्रकट भयो ।
पाँचपल्ट प्रधानमन्त्री भइसकेका देउवाले अब ज्योतिषको भविष्यवाणीलाई सत्य प्रमाणित गर्छन्–गर्दैनन् ? अझ दुईपल्ट प्रधानमन्त्री बन्छन्–बन्दैनन् ? जवाफ दिने पालो भारतका हिन्दूवादी शासकहरूको हो । तिनले देउवाको याचना सुन्छन्–सुन्दैनन् ? हेर्न बाँकी छ ।
रमिते जनता ?!
सचेत पाठकले प्रश्न गर्लान् – नेपाली जनताको भूमिका खोइ ?
काङ्ग्रेस, एमाले, माओवादी र राजावादीहरूले देशको अर्थतन्त्र, राजनीति र समाजलाई रसातलमा लग्न कुनै कसर छाडेनन् । भ्रष्टाचार राणाकालदेखि नै यो देशका शासकहरूको लत रह्यो । तिनीहरूको शासनकालमा देशको धन निजी विलास र सुखसयलमा नखर्चेको कहिल्यै देखिएन । तिनले देशका नदीनाला र खनिजहरू बेचे । युवाहरूलाई विदेशी बजारमा सस्तो भाउमा बेचे । नेपाली समाजलाई छिन्नभिन्न पारे । यति हुँदाहुँदै पनि जनताले तिनलाई जहिल्यै ‘निर्वाचित’ गरिरहे । नेपाली राजनीतिमा जनता कहिल्यै ‘शक्तिपीठ’ थिएनन् । बरु, जहिल्यै ‘परिवर्तन’ मा मोहडा बनिरहे ।
यो कुरा भदौ २३ र २४ को नाटकीय सत्तापलटका एक खेलाडी बालेनले राम्ररी बुझेका थिए । त्यसैले निर्वाचन प्रचारको बेला उनले जनतासँग कुनै संवाद गरेनन् । जहाँ गए, मन्दिरमा पस्दै घण्टी बजाइरहे । त्यो घण्टी थियो, नेपाली शासकहरूको विचारधारा रहिआएको ‘सनातन धर्म’ को घण्टी । घण्टी बजाएर बालेनले एकैपल्ट धेरैतिर तीर हाने । एक, भारतका हिन्दूत्ववादी शासक मख्ख परे । दुई, देशभित्रका ‘सनातनी’ शासक मख्ख परे । साधारण धर्मभीरु जनता पनि मख्ख परेको कुरा यहाँनिर लुकाइयो भने इतिहासलाई न्याय गर्न सकिन्न ।
नेपाली जनतालाई कुनै आकाशवासी ईश्वरले राजनीतिक भूमिका खेल्ने छैन । जनता साँच्चै आफ्ना गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या हल गर्न चाहन्छन् भने आफै सङ्घर्षको मैदानमा उत्रिनुपर्छ । आफ्नो सांस्कृतिक र राजनीतिक चेतलाई तिखार्ने जाँगर र आँट गर्नुपर्छ । देशको राजनीतिक सबै शक्तिपीठलाई ओझेल पार्ने गरी आफूलाई खार्नुपर्ने कठिन बाटोमा हिँड्नुपर्छ । सङ्गठन, सचेतना र सङ्घर्षपछि मात्र जनताले देशका सारा सम्पदालाई आफ्नो सुखद जीवनको आधार बनाउन सक्नेछन्, एउटा नौलो समाजको निर्माण गर्न सक्नेछन् ।
त्यो दिन कहिले आउँछ ? थाहा छैन ।
त्यतिञ्जेल देशका सम्पदाहरूमा देशीविदेशी औतारीहरूको लुटपाट र रासलीला हेरिरहौँ ?! मन मान्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *