भर्खरै :

ऋग्वेद पढ्ने बा’ लाई चिठी

ऋग्वेद पढ्ने बा’ लाई चिठी

बा’ लाई ढोग छ ।
बा, हजुरलाई याद छ कि छैन कुन्नि । सानोमा हजुरले बेलाबखत रामायण पढेको देखेर मैले एकपल्ट सोधेको थिएँ, यो केको किताब हो ? पहेँलिएका पाना पल्टाएर आधा च्यातिएको गाता बन्द गर्दै हजुरले भन्नुभएको थियो, रामायण । (भानुभक्तले लेखेका ।) जिन्दगीमा पहिलोपल्ट मैले हजुरकै मुखबाट सुनेको थिएँ त्यो शब्द । ‘रामायण’, रावणमाथि रामको विजयको कथा ! असतमाथि सतको विजयको कथा ।
धेरैपछि भैरव अर्यालका निबन्ध पढेपछि थाहा भयो । रावणले युद्ध जितेका भए त्यो किताबको नाम ‘रावणायण’ हुने थियो रे । रावणले जितेका भए रावणलाई पुज्ने कालो वर्णका मानिसहरूले लेख्ने थिए रे, ‘रावणायण’ अर्थात् असतमाथि सतको विजयको कथा । किनभने, रावण पनि कम्ता मान्छे रहेनछन् । उनी ‘दशानन’ अथवा दश विद्याका ज्ञाता थिए रे । ‘सत र असत’ भन्ने कुरा लडाइँमा जित्ने मान्छेले तय गर्ने कुरा रहेछन् । धेरै समय लाग्यो मलाई यो कुरा बुझ्न ।
आज अमेरिकाले आफ्ना विरोधीहरूलाई आतङ्ककारी भन्छ । अमेरिकी दादागिरीबाट पीडित देशका जनता अमेरिकी सरकारलाई एक नम्बर आतङ्ककारी भन्छन् । धत्तेरी, कुरा अन्तै मोडियो !
हजुरले त्यो बेला ‘मलाई ऋग्वेद पढ्ने धोको छ’ भन्नुहुन्थ्यो । पछि ऋग्वेदको नेपाली अनुवाद आयो । आँखाको समस्याले गर्दा हजुरले पढ्न सक्नुभएन । तर, हिजोआज मान्छेहरूले इन्टरनेटमा वेदको विषयमा धेरैथोक राखेका छन् । हजुरले पनि हेर्नुभएको होला । तर, वेदको विषयमा हुने गम्भीर अनुसन्धानहरूबारे अझै पनि उति चर्चा हुन्न । बेलाबखत म त्यस्तै किताब र लेख पढ्छु ।
संस्कृत भाषामा वेद पढ्न मुस्किल रहेछ । संस्कृतकै ज्ञातालाई पनि बुझ्न हम्मेहम्मे पर्दो रहेछ । उनीहरूले पनि यास्क, सायणजस्ता विद्वानका भाष्य पढ्ने रहेछन् । हिन्दी र अङ्ग्रेजी भाषाका केही सामग्री पढेको छु । बा, हामीले सोचेभन्दा धेरै जेलिएको रहेछ धर्मको कुरा, धर्मको इतिहास । अब म हजुरलाई ऋग्वेदबारे दुईचार कुरा भन्छु । हजुरले सुनाउने कतिपय कुरा गलत रहेछन् बा । अप्ठेरो नमानी सुन्नुहोला है ।
‘सनातन हिन्दू धर्म’
बा, हजुरले सधैँ ‘सनातन हिन्दू धर्म’, ‘वैदिक धर्म’ भन्नुहुन्थ्यो ।
संसारमा सनातन भन्ने केही नहुँदो रहेछ बा । ऋग्वेद ईपू १५००–१२०० तिरको धर्मग्रन्थ रहेछ । त्यसपछि यजुर्वेद, सामवेद र अथर्ववेद ईपू ९०० सम्म रचिएको रहेछ । आजभन्दा ३०–३५ सय वर्ष अगाडि भनेको उति पुरानो समय होइन बा । यो पृथ्वी बनेको साढे ४ अर्ब वर्ष भयो । मान्छेको उत्पत्ति ३ लाख वर्षअघि भयो । सन् २०१७ मा मोरक्कोमा आधुनिक मानवको सबैभन्दा पुरानो हाडखोर भेटियो । त्यसैबाट प्रमाणित भयो । त्यसपछि ७५ हजार वर्षअघि मान्छेले अफ्रिका महादेश छोड्यो । घुमन्ते जीवन बितायो । ढुङ्गाको हतियार चलाउँथ्यो । जम्मा १२ हजार वर्षअघि खेतीपाती गर्न थाल्यो । मान्छेको ३ लाख वर्ष लामो इतिहासमा १२ हजार भनेको सय भागको ५ भाग पनि हुन्न । यो हिसाबले ऋग्वेद लेखिएको समयलाई ‘सनातन’ कसरी भन्न मिल्ला र बा ?
वेद मान्ने हुनाले ‘वैदिक धर्म’ भन्न त मिल्छ । तर, ‘हिन्दू धर्म’ भन्न मिल्दैन बा । किनभने, चार वेदमध्ये एउटामा पनि ‘हिन्दू’ भन्ने शब्द छैन । वेदका कुरै छोडौँ, त्यसपछिका १०८ भनिने उपनिषद्, महाभारत, रामायण, पुराण कही पनि हिन्दू भन्ने शब्द रहेनछ । अझ त्यो बेलाका बौद्ध र जैन किताबमा समेत भेटिएन । ऊबेला वैदिक धर्मलाई ब्राह्मण परम्परा भनिँदो रहेछ । वेद नमान्नेहरूलाई श्रमण परम्परा भनिँदो रहेछ । हिन्दू भन्ने शब्द त इरानीहरूले सिन्धु नदीको किनारमा बस्ने मान्छेलाई दिएको नाम रहेछ । उनीहरूको भाषामा ‘स’ लाई ‘ह’ उच्चारण गर्ने हुनाले उनीहरू सिन्धु नदी आसपासको क्षेत्रलाई ‘हप्त हिन्दू’ भन्दा रहेछन् । हिन्दू शब्दको सबैभन्दा पुरानो उल्लेख इरानी राजाको प्राचीन अभिलेखमा भेटिएको छ । सिन्धु नदीको तल्लो भागलाई त्यसमा ‘हिन्दू’ भनिएको रहेछ ।
प्राचीन वैदिकजनले आफूलाई न हिन्दू भन्थे न सनातनी ।
‘सनातन’ शब्दको कुरा पनि गरिहालौँ । वेदमा ‘सनातन’ शब्द छैन । इतिहासमा सबैभन्दा पहिले ‘सनातन’ शब्दको प्रयोग बौद्ध साहित्यमा आएको रहेछ । बौद्ध ग्रन्थ सुत्तनिपात र धम्मपदमा ‘सच्चम वे अमता वाचा इस धम्मो सनातनो’ भनिएको छ । यहाँ सनातनको अर्थ ‘शाश्वत नियम’ हुन्छ । पछि महाभारतमा ‘इस धर्मः सनातनः’ र गीतामा ‘कुलधर्मः सनातनः’ लेखियो । कृष्णलाई त्यहाँ ‘शाश्वतधर्मगोप्ता सनातनः’ भनियो । त्यो भनेको ‘स्थापित नियमको संरक्षक’ । यसपछि मनुस्मृति र विभिन्न पुराणमा ‘सनातन धर्म’ को विभिन्न अर्थ लगाइएको छ । स्थापित नीतिनियम वा मूल्यमान्यतालाई जनाउन यसको प्रयोग भएको पाइन्छ ।
बा, हजुरले सनातन शब्दको जुन अर्थ लगाउनुहुन्छ, त्यो त १९ औँ शताब्दीमा गढिएको हो । भारतमा अङ्ग्रेजहरूले इसाई धर्मको प्रचार बढाएपछि त्यहाँ हिन्दू धर्मलाई कुनै आदिपुरुष नभएको ‘शाश्वत’ र ‘अनन्त’ धर्म भनियो । यति भनेपछि बा’ले एउटा कुरा त बुझ्नुभयो होला – वैदिक धर्म सुरुमा न ‘हिन्दू’ थियो न ‘सनातन’ ।
‘अपौरुषीय’ वेद
बा हजुर भन्नुहुन्थ्यो, वेद, उपनिषद् ‘श्रुति’ हुन् र बाँकी सबै धर्मग्रन्थ स्मृति हुन् । वेदका ऋषिहरू स्रष्टा होइनन्, द्रष्टा हुन् । सिधै ईश्वरका कुरा सुन्थे (श्रुति) । त्यसैले वेद ‘अपौरुषेय’ (कुनै व्यक्तिले नलेखेको) छन् ।
ईपू पाँचौँ शताब्दीका विद्वान यास्क वेदका एक मात्र प्रामाणिक भाष्यकार हुन् । उनले पुरुष शब्दको अर्थ लगाएका छन्, पुर शयि । अर्थात्, पुर वा घरमा सुत्ने । यास्कको व्युत्पत्ति पढ्दा अपौरुषेयको अर्थ ‘घुमन्ते आर्यहरूले लेखेको’ लाग्छ । यो अर्थ नै बढी तर्कसङ्गत छ । किनभने, ऋग्वेदमा इन्द्रलाई ‘पुरन्धर’ भनिन्छ । पुरन्धरको अर्थ हुन्छ, पुरलाई ध्वस्त गर्ने । घुमन्ते वैदिकजनका प्रमुख देवता इन्द्र खेतीपाती गरेर बस्ने गैरआर्यहरूका गाउँ घर ध्वस्त पार्दै हिँड्थे । त्यसैले उनलाई पुरन्धर भनियो । अझ पछि विभिन्न किल्लाबन्द नगरहरूलाई ‘पुर’ भनियो । हामीकहाँ पनि कान्तिपुर, ललितपुर, भक्तपुरको अर्थ त्यही हो ।
ऋग्वेदका ऋषिहरूले कसरी ईश्वरका कुरा सुन्थे ? यसको बारेमा यहाँ म महापण्डित राहुल सांकृत्यायनको विचार जस्ताको तस्तै लेख्छु, “वामदेव (ऋषि) ले आफ्ना ऋचाहरूमा इन्द्रको मुखबाट सबै कुरा बोल्न लगाएका छन् । यसबाट थाहा हुन्छ, ऋषिहरूमा तिनका देवता उत्रिन्थे । यो आश्चर्यको कुरो होइन । हिमाली भेगमा आज पनि हजारौँ यस्ता नारीपुरुष पाइन्छन्, जसको शिरमा देवता चढ्छन् र ‘म’ भन्दै सबथोक बोल्ने वा पतुर्ने गर्छन् । हिमाली भेगमा मात्र किन, अन्त पनि देवता उत्रिने यस्ता धामी, झाँक्री, ओझा वा देववाहनहरूको कमी छैन । फरक कति मात्र हो भने देवता उत्रिन्छन् भन्ने कुरामा ऋग्वेदकालीन मान्छेहरू सबैले आँखा चिम्लेर विश्वास गर्थे । मैदानी भागका मान्छेहरू आजभोलि यस्ता कुरामा उति विश्वास गर्दैनन् ।”
यहाँ हिमाली भेगका मान्छे भनेर कसलाई भनिएको हो भन्ने कुरा बा’ ले बुझिहाल्नुभयो होला । साङ्कृत्यायनले भारतका सहरियाहरूलाई मैदानी भागका मान्छे भन्न खोजेका होलान् । तर, अन्धविश्वासको धन्दा चलाइरहेका बाबाहरूको बिगबिगी सहरबजारमै झन् बढे जस्तो लाग्छ मलाई ।
कसले रच्यो ऋग्वेद ?
ऋग्वेदमा ३५० भन्दा बढी ऋषिका १ हजार २८ मन्त्र छन् । यी मन्त्र वास्तवमा पुराना कविता वा गीत हुन् । वैदिकजनका लोकगीत हुन् । यी मन्त्र रच्ने धेरै ऋषि पुरुष छन् । गृत्समद, विश्वामित्र, वामदेव, अत्रि, भारद्वाज, वशिष्ठ आदि मुख्य ऋषि हुन् । तिनले रचेका सबै मन्त्र ऋग्वेदमा छन् भन्ने पनि होइन । कतिपय मन्त्र समयसँगै मान्छेले बिर्सेका पनि रहेछन् ।
ऋग्वेदमा १० मण्डल वा अध्याय छन् । तीमध्ये २ देखि ७ औँ मण्डललाई पुरानो मानिन्छ । पहिलो र अन्तिम दुई मण्डललाई सबैभन्दा पछि रचिएको मानिन्छ । कसरी थाहा भयो ? यसमा प्रयोग भएका शब्दहरूको भाषा–वैज्ञानिक अध्ययनबाट विद्वानहरू यो निष्कर्षमा पुगेका हुन् । जस्तो, पुराना मण्डलमा अग्नि, सूर्य, वायुजस्ता प्राकृतिक वा भौतिक शक्ति तथा मित्र, वरुणजस्ता देवताको महिमा पाइन्छ भने पछिल्ला मण्डलमा इन्द्रको महिमा पाइन्छ । खासमा ऋग्वेदका आधाभन्दा बढी मन्त्र इन्द्रकै नाममा छन् ।
पुराना मण्डलमा प्रयोग भएका शब्दबाट पनि यो कुरा साबित हुन्छ । सोम, देव, असुर, आर्य, यज्ञ, शतजस्ता शब्द जम्बुद्वीपका पुराना भाषामा कहीँ पाइँदैन । बरु मध्य–एसिया, पश्चिम एसियामा पाइन्छ । किर्गिस्तानका पहाडहरूमा एउटा विशेष बिरुवा पाइन्थ्यो, सोम । इन्द्रलाई मन पर्ने ‘सोमरस’ त्यही बिरुवाको जाँड थियो । यसलाई इरानीहरू ‘होम’ भन्छन्, वैदिकजन ‘सोम’ भन्छन् । किन ? बा’ ले बुझिसक्नुभयो होला ।
ऋग्वेदका ऋचा वा मन्त्रमा जम्बुद्वीपबाहिरको भाषिक छाप छ । तिनको सङ्कलन जम्बुद्वीपमा आएपछि गरेको मानिन्छ । सुरुमा यसलाई कण्ठ गरेर जोगाइएको थियो । ईपू ५०० पछि मात्र लेख्न थालिएको विद्वानहरूको राय छ । पुराना मन्त्रहरूलाई चार वेदमा वर्गीकरण गर्ने काम वेदव्यासले गरेका थिए रे । तर, संसारको सबैभन्दा पुरानो लिखित वेदको प्रति ११ औँ शताब्दीको हो । त्यो प्रति नेपालमा पाइएको थियो ।
ऋग्वेदका केही मन्त्र महिलाले पनि रचेका रहेछन् । ऊर्वशी, शची, यमी, कामायनी, सावित्री, सूर्या, अपाला आदिका मन्त्र छन् त्यहाँ । जुन वेदमा महिलाका पनि मन्त्र छन्, तिनै वेदलाई पछि ‘आइमाईले पढ्नु हुँदैन’ भनी पण्डितहरूले बन्देज लगाएको इतिहास पढ्दा अचम्म लाग्यो बा । त्यसैगरी ऋग्वेदमा विश्वामित्र ऋषिले अनार्य कन्यासँग बिहे गरेको प्रसङ्ग छ । अन्तर्जातीय विवाह गरेर उनी विश् (सर्वसाधारण) का मित्र बने । तर, आज पनि कतिपय मानिसहरू अन्तर्जातीय विवाहलाई पाप ठान्छन् । यसबाट वेद रच्नेभन्दा पनि तिनको व्याख्या गर्ने पछिका मानिसहरू बढी जड्बुद्धि वा अन्धविश्वासी बनेको स्पष्ट हुन्छ ।
यसलाई के भन्ने बा, वेदभन्दा बढी वैदिक बनेको ¤? वेदको नाममा आफ्नो मूर्खता पोखेको ¤?
‘वेदमा सबथोक छ’
बा, हजुर भन्नुहुन्थ्यो, वेदमा नभएको संसारमा केही छैन । सबथोक छ वेदमा ।
निश्चय पनि वेद विशाल ग्रन्थ हो । झन्डै ६०० वर्ष भन्दा बढी सम्म लगाएर रचिएका हुनाले चार वेदमा ‘धेरैथोक’ हुने नै भए । तर, त्यसमा ‘सबथोक’ छैन बा । विज्ञानका धेरै आविष्कार र खोज त्यसमा छैनन् । नीति वचनका कुरा गर्नुहुन्छ भने सपरिवार बसेर पढ्न नमिल्ने मन्त्र पनि छन् । कतिपय हास्यास्पद मान्यताहरू छन् । सामाजिक विकृतिका जराहरूसमेत छन् ।
मलाई थाहा छ, ऋग्वेद कुनै इतिहास होइन । त्यो त घुमन्ते जीवन बिताइरहेको कबिलाका कविहरूले ‘आफ्ना’ देवतालाई खुसी पार्न र सोचेको फल हात पार्न रचेका गीत–कविताको सङ्ग्रह हो । मूलतः लेनदेनका विषय छन् यसमा । कतिपयले यसलाई साहित्य भन्लान् । तर, साहित्यमा पनि तत्कालीन समाजको चित्रण त हुन्छ । त्यसैले त्यहाँ वैदिक कबिलाको रहनसहन, सोच र भावनाको झलक पाइन्छ । तीमध्ये कतिपय मापदण्ड आज फिटिक्कै काम लाग्दैनन् । इतिहासले यस्ता कुरालाई छान्दै आएको पनि छ । इन्द्रको सेरोफेरोमा रहेर केही कुरा भन्छु ।
ऋग्वेदमा तीन मुख्य देवता छन्, अग्नि, सूर्य र वायु । तिनका ११–११ प्रकार छन् । यिनैलाई जोडेर ३३ कोटी देवता भनिएको हो । सबैभन्दा बढी चर्चा गरिएका देवता हुन् इन्द्र । उनलाई भूलोक, अन्तरिक्ष र देवलोकका देवता भनिएको छ । उनी पानी पार्ने देवता हुन् । उनलाई मन पर्ने खाना गाईगोरुको मासु हो भने मन पर्ने पेय सोम हो । टन्न मासु र सोम खाएर युद्ध गर्नु उनको शोख हो । सिधा भाषामा भन्ने हो भने उनी लुटपाटका देवता हुन् ।
ऋग्वेदको यो मन्त्रमा त्यही भनिएको छ, “हे इन्द्र, जब तिमीले तीन सय साँढेको मासु खायौ, तीन पोखरी सोमरस पियौ । तिमीले (एक असुर) वृत्रलाई मार्दा सारा देवताले चिच्याउँदै तिम्रो पुकार गरे ।”
युद्ध गर्न जानुअघि वैदिकजनले धेरैभन्दा धेरै जितका सामान पाउन उनको स्तुति गाउँथे । पृषध्र ऋषिले इन्द्रसँग प्रार्थना गरे, “मलाई एक सय गधा, एक सय भेँडा र एक सय दास देऊ ।”
इन्द्रको स्तुति गाउँदै ऋग्वेदको चौथो मण्डल भन्छ, “कसले आफ्नी साख्खै आमालाई विधवा बनाउला ? कसले मान्छेलाई सुतेको वा भर्खर जागेको बेला काट्न खोज्ला ? तिमीजस्तो दयावान को होला ? किनभने, तिमीले आफ्नै बाबुको खुट्टा समाएर उनलाई छपाछप काट्यौ ।” (ऋग्वेद, ६।१८।१२)
आफूले पिउन भनेर राखेको सोम (जाँड) बुबाले पिएको हुनाले रिसको झोँकमा इन्द्रले पितृहत्या गरे । आजको समाजमा यसलाई नैतिकताको मापदण्ड भन्न मिल्ला र बा ? तर, त्यो युगमा पितृहत्या गर्नुलाई वैदिक कविहरूले पाप मानेनन् । पछि त्यसलाई पाप ठानिनेछ भन्नेसमेत हेक्का थिएन उनीहरूलाई । त्यसैले सजिलै यस्ता मन्त्र रचे । आजका ब्राह्मणवादी कवि हुन्थे भने पक्कै यी कुरा लुकाउने थिए । जस्तो, धर्मग्रन्थ छाप्ने भारतको ‘गीता प्रेस’ ले बरोबर प्राचीन ग्रन्थहरूबाट यस्ता सन्दर्भहरू हटाउने गर्छ ।
बा, ऋग्वेद कुनै अलौकिक ग्रन्थ होइन । वैदिक कबिला फिरन्ते थियो । यो कबिला दक्षिणी रुसमा पर्ने मध्य एसियाको स्तेपी मैदानमा बस्थ्यो । उनीहरूले आगो पुज्थे, घोडा चढ्थे, रथ हाँक्थे, भेडा चराउँथे र ऊनीको बाक्लो लुगा लगाउँथे । गाईलाई कति सम्मान गर्थे भने एक ऋषिले ‘वैदिक देवताहरू नै गाईबाट जन्मेका’ (गौजातः) भनेका छन् । (ऋग्वेद, ७।५०।११) वैदिकजन विभिन्न समयमा ससाना जत्था बनाएर भारतीय जम्बुद्वीपमा पसे । ईपू २००० देखि ईपू १६०० तिर । यहाँ सप्तसिन्धु र गंगा नदीबिच पञ्जाबको मैदानी भागमा उनीहरूले खेतीपाती सिके र स्थायी बसोबास गर्न थाले ।
तसर्थ, ऋग्वेद कबिला जीवनबाट भर्खर कृषि वा स्थायी जीवनमा प्रवेश गर्दै गरेका मान्छेहरूको कथा पनि हो । यसमा वैदिकजनका चालचलन र संस्कृति पाइन्छ । त्यसको तथ्यसङ्गत खोजबिन गर्नैपर्छ । वेदप्रतिको श्रद्धाले हाम्रो आलोचनात्मक चेतलाई मार्नु हुँदैन ।
चिठी अलि लामो भयो । आजलाई यही बिट मार्छु । सुस्वास्थ्यको कामना ।
तपार्इँलाई मान र माया गर्ने नाति
गणेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *