के नेपालको थप दुर्दिन आउँदै छ ?
- आश्विन २६, २०८३
स्वीडेनको विज्ञान प्रतिष्ठानले नोबेल अर्थशास्त्र पुरस्कार संरा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक रोवर्ट ई हल र कोलम्बिया विश्वविद्यालयका प्राध्यापक माइकल वुडफोर्डलाई प्रदान गर्ने घोषणा गरे । ती दुवैले अर्थतन्त्रलाई स्थिर राख्न तथा बाह्य झट्काको प्रभाव न्यूनीकरण गर्न सरकार र केन्द्रीय बैङ्कलाई सहयोग गर्ने नयाँ आर्थिक मोडल विकास गरेको दाबी गरे । अर्थशास्त्रतर्फको पुरस्कार छनौट समितिका अध्यक्ष जोन ह्यास्लरका अनुसार उनीहरूको अनुसन्धानले अहिले विश्वभरका केन्द्रीय बैङ्क र सरकारहरूले प्रयोग गर्ने आर्थिक मोडेलका लागि स्थिर सैद्धान्तिक आधार प्रदान गरेको छ ।
केही व्यक्तिको हातमा स्रोत र साधन कब्जामा रहने पुँजीवादी आर्थिक प्रणालीमा अर्थतन्त्रलाई स्थिर राख्ने मोडल दाबी गरिँदैमा कसरी आर्थिक मन्दी सामना गर्न सक्ला ? स्वीडेनको विज्ञान प्रतिष्ठान स्वयम् केही व्यक्तिको हातमा स्रोत र साधन कब्जामा राख्ने पुँजीवादी दर्शनका अनुयायीहरूको हुँदा यसले त्यस्तै अर्थशास्त्रीहरूलाई नोबेल पुरस्कार दिँदै आएको यसअघि नै पुष्टी भएको हो ।
स्थिर आर्थिक प्रणालीको लागि उत्पादनका मुख्य मुख्य स्रोत र साधनहरू सामाजिकीकरण हुनु आवश्यक छ । संरा अमेरिकी राष्ट्रपतिहरूले यसप्रकारका आर्थिक प्रणालीबारे अध्ययन र अनुसन्धान गर्ने प्राध्यापकहरूलाई प्रोत्साहन गर्दैनन् । केही दिनअघि संरा अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभामा भने, “अमेरिकामा कम्युनिस्ट व्यवस्था आउँदैन ।” ट्रम्पको यो भनाइ सत्य होइन । वर्गीय बन्दोबस्तमा शोषितवर्गको सङ्ख्या धेरै हुन्छ । संरा अमेरिकामा पनि यही स्थिति छ । यसकारण, शोषितवर्ग शोषणबाट मुक्त हुन संरा अमेरिकामा पनि सङ्घर्ष गर्दै छ । अमेरिकी जनताले ट्रम्पको गतिविधिको विरोधमा ‘नयाँ राजा’ चाहिँदैन भनी आन्दोलन गर्दै छन् । वर्ग रहेसम्म स्थिर आर्थिक प्रणाली सम्भव छैन । वर्ग नभएको समाजमा मात्र स्थिर आर्थिक प्रणाली सम्भव हुन्छ । संरा अमेरिकामा पनि कम्युनिस्ट आउने वातावरण छ ।
नर्वेको नोबेल समितिले संयुक्त राष्ट्र सङ्घको मानव अधिकार पूर्वउच्चायुक्त तथा अन्तर्राष्ट्रिय न्यायालयकी न्यायाधीश दक्षिण अफ्रिकाकी भारतीय मूलकी नवनथेम नेवी पिल्लाईलाई शान्ति पुरस्कार दिने घोषणा ग¥यो । यो घोषणापछि संरा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वमा आधा दर्जनभन्दा बढी युद्ध रोकेको हुँदा सो पुरस्कार आफूले पाउनुपर्ने धारणा राखे । गत वर्ष पनि ट्रम्पले यही धारणा अघि सार्दै नोबेल शान्ति पुरस्कार दाबी गरेका थिए । यथार्थमा ट्रम्पको दाबी झूटा हो । ट्रम्पले इजरायललाई हतियार पठाएर प्यालेस्टिनमा नरसंहार गराए भने इरानमा पनि आक्रमण गर्न पुगे र त्यहाँका सर्वोच्च नेता खामेनीलगायत विद्यार्थीहरूको समेत ज्यान जाने गरी आक्रमण गरे । युक्रेनलाई हतियार पठाएर ट्रम्पले रुसविरुद्ध छद्म युद्ध गरे ।
संसारमा सबैभन्दा बढी हतियार उत्पादन र बिक्री गर्ने देश संरा अमेरिकी सरकार नै हो । संरा अमेरिकी सरकारले हतियार उत्पादन र संसारका ठाउँठाउँमा राखेको सेना र हतियार तैनाथीको खर्चले विश्वभर जनतालाई शान्तिले बस्न मिल्ने स्रोत जुट्थ्यो । तर, ट्रम्पको ध्यान यतातिर छैन । यसकारण, ट्रम्पले नोबेल शान्ति पुरस्कार दाबी गरेको कुनै पनि दृष्टिले उपयुक्त होइन । हुन त संयुक्त राष्ट्र सङ्घको मानव अधिकार उच्च आयोग र अन्तर्राष्ट्रिय न्यायालयको फैसला पनि कार्यान्वयन भइरहेको छैन । अन्य अन्तर्राष्ट्रिय संस्थाजस्तै यी दुवै निकाय पनि संरा अमेरिकी साम्राज्यवादको पोल्टामा पारिएको छ । यो स्थितिको विश्वका न्यायप्रेमी जनताले विरोध गर्नु जरुरी छ । आर्थिक स्थिरता र शान्तिको लागि सामाजिकीकरण नै जरुरी हुन्छ ।
Leave a Reply