भर्खरै :

ख्वप कलेज अफ इन्जिनियरिङसहित तीन शैक्षिक संस्थालाई क्यूएए प्रत्यायन

ख्वप कलेज अफ इन्जिनियरिङसहित तीन शैक्षिक संस्थालाई क्यूएए प्रत्यायन

भक्तपुर, ८ भदौ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङसहित रूपन्देहीका हरैया बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसलाई एक समारोहबिच गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA-Quality Assurance and Accreditation) प्रमाणपत्र प्रदान गरेको छ ।
विश्वविद्यालय अनुदान आयोगको सभाकक्षमा सोमबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष प्रा.डा. खड्गबहादुर केसीले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त गर्नु खुसीको विषय मात्र नभई शैक्षिक संस्थाको उज्ज्वल भविष्यतर्फको महत्वपूर्ण सङ्केत भएको बताउनुभयो । उहाँले क्यूएए प्रमाणपत्र प्राप्त गर्नुभन्दा पनि संस्थागत गुणस्तरलाई निरन्तर कायम राख्नु र अभिवृद्धि गर्नु अझ महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
स्थानीय तह भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ प्राविधिक शिक्षाको उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित भइसकेको उल्लेख गर्दै अध्यक्ष केसीले क्यूएए प्रत्यायनपछि कलेज अझ उत्कृष्ट ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कुनै पनि शैक्षिक संस्थाको गुणस्तर मापन भौतिक पूर्वाधारका आधारमा मात्र नहुने बताउँदै उहाँले त्यहाँ अध्ययनरत विद्यार्थीको शैक्षिक प्रगति, उपलब्धि र समग्र विकास पनि उत्तिकै महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले हालसम्म देशभरका ११९ वटा कलेजले क्यूएए प्राप्त गरिसकेको र अन्य केही शैक्षिक संस्थाहरू प्रक्रियामा रहेको जानकारी दिनुभयो । क्यूएए प्राप्त कलेजहरूलाई विशेष गरी विश्वविद्यालयअन्तर्गतका शैक्षिक कार्यक्रम विस्तार गर्न थप सहज हुने उल्लेख गर्दै उहाँले गुणस्तरीय शैक्षिक संस्थाबाट मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउनुभयो ।
आयोगका सचिव प्रा.डा. रोजी श्रेष्ठले क्यूएएलाई अन्तिम उपलब्धिका रूपमा नभई निरन्तर सुधार र गुणस्तर अभिवृद्धिको प्रक्रियाका रूपमा लिनुपर्ने बताउनुभयो । गुणस्तर एकपटक कायम गरेर मात्र नपुग्ने भएकाले यसलाई निरन्तरता दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।
ख्वप कलेज अफ इन्जिनियरिङका समकक्षी परीक्षण टोलीका संयोजक प्रा.डा. जीवराज पोखरेलले क्यूएए प्राप्त तीनवटै शैक्षिक संस्थालाई बधाई दिँदै ख्वप कलेज अफ इन्जिनियरिङले अध्ययन–अध्यापनसँगै अनुसन्धानको क्षेत्रमा पनि उल्लेखनीय प्रगति हासिल गरिरहेको बताउनुभयो ।
समकक्षी परीक्षण भ्रमणको क्रममा कलेजले आवश्यक कागजात तथा विवरणहरू समयमै उपलब्ध गराएको तथा गुणस्तर अभिवृद्धिका लागि दिइएका सुझावहरू कार्यान्वयन गरेको उहाँले बताउनुभयो । कलेजले नियमित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नुका साथै विद्यार्थीका लागि पाठ्यक्रममा उल्लेखित विषयवस्तुभन्दा बाहिरका थप प्रयोगात्मक कक्षाहरू सञ्चालन गरी व्यावहारिक ज्ञान र सीप विकासमा जोड दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय आन्तरिक गुणस्तर सुनिश्चितता समितिका निर्देशक अच्युत अधिकारीले गुणस्तर एकै दिनमा प्राप्त गर्न नसकिने भएकोले यसका लागि निरन्तर प्रयास, धैर्यता र सुधार आवश्यक हुने बताउनुभयो । उहाँले क्यूएए प्रमाणपत्र प्राप्त गरिसकेपछि पनि शैक्षिक संस्थाले नियमित रूपमा गुणस्तर अभिवृद्धिका लागि कार्य गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
विश्वविद्यालय अनुदान आयोगअन्तर्गत शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् सचिवालयका उपनिर्देशक भगवती पौडेलले तीनवटै शैक्षिक संस्थाको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दै उनीहरूले पूरा गरेको क्यूएए प्रक्रियाबारे जानकारी दिनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको समकक्षी परीक्षण गरी क्यूएए प्रत्यायन प्रदान गरेकोमा विश्वविद्यालय अनुदान आयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले धैर्यतापूर्वक कलेजको मूल्याङ्कन तथा परीक्षण सम्पन्न गरेकोमा समकक्षी परीक्षण टोलीलाई धन्यवाद दिनुभयो ।
उहाँले गुणस्तर अभिवृद्धिका लागि कलेज सधैँ तत्परताका साथ अघि बढिरहने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा अभिवृद्धिका लागि निर्धारण गरेका मापदण्डहरूलाई कलेजले कानुनसरह पालना गर्दै अघि बढ्ने बताउनुभयो । सो अवसरमा उहाँले विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष एवं सचिवलाई मायाको चिनो तथा कलेजका प्रकाशनहरू प्रदान गर्नुभयो ।
रूपन्देहीका हरैया बहुमुखी क्याम्पस र पर्रोहा बहुमुखी क्याम्पसका प्रतिनिधिहरूले पनि क्यूएए प्रत्यायन प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै संस्थागत गुणस्तर सुनिश्चितता र निरन्तर सुधारप्रति आ–आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
ख्वप कलेज अफ इन्जिनियरिङले प्राप्त गरेको क्यूएए प्रत्यायनले गुणस्तरीय प्राविधिक तथा इन्जिनियरिङ शिक्षा प्रदान गर्ने कलेजको निरन्तर प्रयास र प्रतिबद्धतालाई थप संस्थागत मान्यता प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *