झौखेलमा ‘भक्तपुर काण्ड’ को भत्र्सना कार्यक्रम
- भाद्र ८, २०८३
भक्तपुर, ८ भदौ । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण न.पा. ९ वडा समितिको आयोजनामा भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले २०४५ सालमा भएको भक्तपुर काण्ड फेरि पनि फरक ढङ्गले दोहोरिन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । पञ्चायती सरकारबाट रचिएको सो घटनाबारे नयाँ पुस्तालाई बताउन हरेक वर्ष पार्टीले विरोध स्वरूप भत्र्सना गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर काण्डजस्तै राज्यस्तरबाट गरिएका घटना नेपालका विभिन्न ठाउँमा घटाइएका छन् । संसारका निरङ्कुश र तानाशाही सरकारहरूले जनताका नेता कार्यकर्ताहरूलाई विभिन्न आरोपमा जेल, नेल र षड्यन्त्रमा फसाउने गरेको इतिहासबाट पार्टी कार्यकर्ताले पाठ सिक्नु जरुरी छ । भक्तपुर काण्डमा परेका निर्दाेष र गैरराजनैतिक व्यक्तिहरूको पीडा आज पनि आलै छ ।”
उहाँले भन्नुभयो, “पञ्चायती सरकारले पार्टी अध्यक्ष रोहितको फाँसीको माग गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकासमेत मिलेर झूटा मुद्दामा फसाउने षड्यन्त्रको विरोधमा सबै नेपाली एक भएर पञ्चायती व्यवस्थाकै विरोधमा जनआन्दोलन छेडेको हो ।”
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका सचिव पाण्डव सुवालले बहुमत किसान रहेको देशमा नेमकिपाले चलाएको किसान आन्दोलनबाट तत्कालीन पञ्चायत सरकार तर्सेर षड्यन्त्र रचेको हो भन्नुभयो ।
उहाँले पार्टी अग्रजहरूले थालेको भ्रष्टाचारविरोधी आन्दोलन पञ्चायतको लागि हाँक भएकोले नेमकिपाको समूल नष्ट गर्ने उद्देश्यले भक्तपुर काण्डको षड्यन्त्र रचेको पञ्चायत ढले पनि पञ्चायती मानसिकता भएकाहरू शासक दलमा रहेकाले नेपाली जनताले दुःख पाइरहेका हुन् भन्नुभयो ।
चाँगुनारायण न.पा. ९ का पार्टी अध्यक्ष राजाराम छुकांको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगु नगर समितिका अध्यक्ष नारायणभक्त न्हेम्हाफुकी, स्थानीय वडा अध्यक्ष गणेश त्यात, वडा सदस्य रविन बासुकलालगायतले भक्तपुर काण्ड राज्यस्तरमा तत्कालीन पञ्चायत सरकारले रचेको हुँदा नयाँ पुस्तालाई सचेत पार्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply