भर्खरै :

नगर प्रमुखसँग एभरेस्ट इङलिस स्कूलका विद्यार्थीको अन्तरक्रिया

नगर प्रमुखसँग एभरेस्ट इङलिस स्कूलका विद्यार्थीको अन्तरक्रिया

भक्तपुर, ८ भदौ । एभरेस्ट इङलिस स्कूलका कक्षा ८ मा अध्ययनरत ११४ जना विद्यार्थीले सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयअन्तर्गत सोमबार भक्तपुर नगरपालिकाको अवलोकन तथा नगर प्रमुख सुनिल प्रजापतिसँग अन्तरक्रिया गरेका छन् ।
विद्यार्थीले प्रमुख प्रजापतिसँग स्थानीय सरकारको कामकारबाही, विकास निर्माण तथा जनसेवासम्बन्धी विविध विषयमा जानकारी लिएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जीवनमा के ठीक र के बेठीक हो भन्ने कुरा सोचेर मात्र अगाडि बढ्नुपर्ने बताउनुभयो । लोभले लाभ र लाभले विलाप निम्त्याउने भएकाले सधैँ इमानदारीपूर्वक काम गर्न उहाँले विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
चिट चोरेर परीक्षा उत्तीर्ण हुनुको कुनै अर्थ नहुने बताउँदै विद्यार्थीले मेहनत र परिश्रमलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । मानिस चेतनशील प्राणी भएकाले आफूलाई सर्वश्रेष्ठ बनाउन निरन्तर प्रयास गर्नुपर्ने उहाँको भनाइ थियो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरको रूपान्तरणमा यहाँका अग्रज, जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको सहयोगी भावना महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले समर्पणको भावनाबिना कसैले पनि विकास गर्न नसक्ने भन्दै विद्यार्थीले मेहनत र समर्पणका साथ आफ्नो लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले देशभर एउटै कानुन र प्रशासनिक परिधिभित्र रहेर आफ्नो छुट्टै पहिचान स्थापित गर्दै काम गरिरहेको बताउनुभयो । सम्पदा पुनर्निर्माणको क्रममा विदेशी सहयोग अस्वीकार गरी आफ्नै पौरख र जनताको सहयोगमा पुनर्निर्माण गरिएको स्मरण गर्नुभयो ।
विद्यार्थीको जिज्ञासा स्पष्ट पार्दै नगर प्रमुख प्रजापतिले भक्तपुरलाई मौलिक सहरको स्वरूप प्रदान गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न काम गर्दै आएको बताउनुभयो । उहाँले भक्तपुरको पहिचान र मौलिकता जोगाउन पुराना सम्पदा तथा ऐतिहासिक संरचनाको संरक्षण गर्नु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
उहाँले गरिब तथा विपन्न विद्यार्थीको शिक्षामा पहुँच सुनिश्चित गर्न नगरपालिकाले सहुलियत दरमा वार्षिक ७ लाख रूपैयाँसम्म शैक्षिक ऋण उपलब्ध गराउने व्यवस्था गरेको जानकारी दिनुभयो । त्यस्तै, विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
नगर प्रमुख प्रजापतिले गरिब तथा विपन्न नागरिकका लागि ख्वप अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै नगरपालिकाले जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
विद्यार्थीहरूले नगर प्रमुख प्रजापतिसमक्ष विभिन्न विषयमा जिज्ञासा राखेका थिए । उनीहरूले गरिब तथा असहाय नागरिकका लागि नगरपालिकाले सञ्चालन गरेका कार्यक्रम, भक्तपुरलाई अझ सुन्दर र विकसित बनाउन बनाइएका योजना, हस्तकला तथा घरेलु उद्योग प्रवद्र्धनका लागि भइरहेका कामबारे प्रश्न गरेका थिए ।
त्यसैगरी, बढ्दो जनसङ्ख्याबिच वातावरण संरक्षण तथा सुधारका लागि नगरपालिकाले गरेको प्रयास, भक्तपुरलाई नमुना नगर बनाउन विभिन्न निकाय तथा सङ्घसंस्थाबाट प्राप्त सहयोग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएका नयाँ उपलब्धि र पर्यटकको भक्तपुर बसाइँ लम्ब्याउन नगरपालिकाले अघि सारेका योजनालगायतका विषयमा विद्यार्थीहरूले जिज्ञासा व्यक्त गरेका थिए ।
भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले विद्यार्थीलाई अनुशासित, इमानदार र जिम्मेवार भएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले अध्ययनमा मेहनतसँगै असल आचरण र व्यवहारलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले विद्यालयलाई नपाको प्रकाशन सामग्री उपहारस्वरूप प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको तर्फबाट नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *