सिंहदरबारमा बलात्कारपछि हत्याको ‘मुद्दा मिलाउन’ गृहमन्त्री आफै !
- भाद्र १५, २०८३
अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनले आफू पदमा रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध मुद्दा चलाउने उद्देश्यले रुसका युद्ध अपराधसम्बन्धी प्रमाण अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) लाई उपलब्ध गराउन आफ्ना गुप्तचर निकायलाई निर्देशन दिए । उक्त कदम विगतको अभ्यासभन्दा बिल्कुलै भिन्न थियो । किनकि अमेरिकाले ‘रोम विधान’ (जसअन्तर्गत आइसिसी स्थापना भएको थियो) लाई अनुमोदन नगरेका देशका नागरिकमाथि आइसिसीले क्षेत्राधिकार प्रयोग गर्न नसक्ने अडान राख्दै आएको थियो । उल्लेखनीय पक्ष यो हो कि रुस र अमेरिका दुवैले रोम विधानलाई अनुमोदन गरेका छैनन् ।
तर, नोभेम्बर २०२४ मा जब आइसिसीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका पूर्वरक्षामन्त्री योभ ग्यालेन्टविरुद्ध पक्राउपुर्जी जारी ग¥यो, तब बाइडेनको अडान बदलियो । पक्राउपुर्जीको निर्णय ‘आपत्तिजनक’ थियो र अमेरिका सधैँ आफ्नो सहयोगी इजरायलको पक्षमा उभिने बाइडेनले घोषणा गरे । स्मरण रहोस्, इजरायल पनि ‘रोम विधान’ को पक्षधर राष्ट्र भने होइन ।
बाइडेनका उत्तराधिकारी डोनाल्ड ट्रम्पले आइसिसीका अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने र उनीहरूको सम्पत्ति रोक्का गर्नेसम्मका कदम चालेर यस मामिलालाई अझ निर्मम बनाए । अगस्ट २०२५ मा, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त अदालतलाई ‘कानुनी लडाइँको हतियार’ भएको आरोप लगाए । डिसेम्बरसम्ममा आइसिसीका ११ जना न्यायाधीश र अभियोजकहरू अमेरिकी प्रतिबन्धको दायरामा परिसकेका थिए । त्यसपछि, जुलाईको मध्यतिर, अमेरिकी विदेश मन्त्रालयले उक्त अदालतलाई नै विघटन गर्ने उद्देश्यले एउटा अभियान सुरु ग¥यो ।
शत्रुविरुद्धको कारबाहीमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) माथि भरोसा गर्ने, तर मित्रराष्ट्रका हकमा उल्टै न्यायाधीशको कार्यविरुद्ध प्रश्न उठाउने अमेरिकी द्वैध चरित्रले स्वतन्त्र न्यायिक निकायको मर्ममाथि चोट पुगेको छ । अमेरिकी व्यवहारले ‘रोम विधान’ को ‘पूरकताको सिद्धान्त’ लाई बेवास्ता गर्छ । आइसिसी एउटा अन्तिम विकल्पको अदालत हो, जसले तब मात्र हस्तक्षेप गर्छ जब कुनै राष्ट्रिय सरकारले युद्ध, अपराध र मानवताविरुद्धका अपराधहरूको निष्पक्ष तथा इमानदारिताका साथ अनुसन्धान गर्न असफल हुन्छ । प्यालेस्टाइन राष्ट्र होइन भनी इजरायलले क्षेत्राधिकारमाथि उठाएको आपत्तिले समस्या समाधानको व्यावहारिक बाटोलाई ओझेलमा पार्छ । त्यो बाटो भनेको आइसिसीका अभियोजकद्वारा आरोपित अपराधहरूको वास्तविक अनुसन्धान नै हो ।
इजरायल र अमेरिकाले आइसिसीका अधिकारीहरूलाई निसानामा पारे । तर, यस्तो अवहेलना वा तिरस्कारले खासै अर्थ राख्दैन । आइसिसीले पक्राउपुर्जी जारी गर्नुको अर्थ अभियुक्तलाई तत्काल पक्राउ गर्नु भन्ने होइन । किनकि उनीहरूसँग गिरफ्तारी गर्ने प्रहरीको अधिकार हँुदैन । बरु, यसको प्रभाव यस कुरामा निहित छ कि पक्राउ आदेशले अभियोग लागेका व्यक्तिहरूलाई निश्चित व्यक्तिहरूसँग देखिन वा भेटघाट गर्नु जोखिमपूर्ण बनाइदिन्छ ।
उदाहरणका लागि, ‘रोम विधान’ अनुमोदन गरेका १२५ देशहरूमध्ये कुनैमा पनि पुटिन पक्राउ पर्ने जोखिम हुन्छ । तसर्थ, उनले सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको ब्रिक्स शिखर सम्मेलनमा भिडियोमार्फत सहभागिता जनाउने निर्णय गरेका थिए । त्यसैगरी, नेतन्याहुविरुद्धको पक्राउ पुर्जीले उनलाई यो सोच्न बाध्य बनाउँछ कि यदि उनी कुनै देशको भ्रमणमा गए भने त्यहाँका सरकारले कारबाही गर्न सक्छन् ।
कसै–कसैले तर्क गर्न सक्छन् कि कानुनले केवल राजनीतिक शक्तिलाई प्रतिबिम्बित गर्छ । आइसिसीले अमेरिकी अधिकारीहरूलाई नभई पुटिनलाई निसाना बनाउँछ किनभने रुससँग सहयोगी राष्ट्रहरूको अभाव छ । यस दृष्टिकोणबाट हेर्दा, परिणाम वा सजाय केवल कमजोरहरूका लागि मात्र हुन्छ ।
वास्तवमा, शक्ति क्षणभङ्गुर हुन्छ । चिलीका पूर्वराष्ट्रपति भएकाले कानुनी उन्मुक्ति पाएका भए पनि १७ वर्षसम्म आतङ्कको शासन चलाएका जनरल अगस्टो पिनोचेलाई सन् १९९८ मा लन्डनको एक अस्पतालमा शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो । पिनोचेको सुपुर्दगी प्रक्रिया अघि बढाउन एक स्पेनिस न्यायाधीशले ‘यातनाविरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धि’ को सहारा लिएका थिए । यद्यपि, पिनोचेले मुद्दाको सामना गर्नुपरेन र सन् २००६ मा उनको मृत्यु भयो । तर, उनको गिरफ्तारीले एक कानुनी नजिर स्थापित ग¥यो । सन् २०१६ मा सेनेगलको एक अदालतले तिनै सिद्धान्तको प्रयोग गर्दै चाडका पूर्वतानाशाह हिसेन हाब्रेलाई आजीवन कारावासको सजाय सुनायो । त्यसैगरी, सर्बियाली पूर्वराष्ट्रपति स्लोबोदान मिलोसेभिचले पनि अन्ततः न्यायको सामना गर्नुप¥यो । युद्ध अपराधको मुद्दा चलिरहँदा हेगस्थित हिरासतमा नै उनको मृत्यु भयो ।
यी व्यक्तिहरू सत्ताबाट बाहिरिएपछि मात्र कानुनको दायरामा आए । पिनोचेले अवकाश लिइसकेका थिए भने हाब्रे निर्वासनमा थिए । मिलोसेभिचलाई सत्ताच्युत गरिएको थियो । पहिले नेताको पतन हुन्छ, अनि मात्र मुद्दा चल्छ । सत्ताले प्रदान गर्ने सुरक्षाले जवाफदेहितालाई केवल पर धकेल्ने काम मात्र गर्छ । सन् १९४५ पछि, अमेरिकाले यस्तो विश्व व्यवस्था स्थापना ग¥यो जसमा विवादहरूको निरूपण प्रायः अमेरिकाको प्रभाव वा नियन्त्रणमा रहेका संस्थाहरूद्वारा गरिँदै आएको छ ।
यस्तो प्रभुत्वलाई चुनौती दिनपछि गएर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) र अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) जस्ता जवाफदेहिता संयन्त्रहरू स्थापना गरिए । अब कम प्रभाव भएको मुलुकको न्यायाधीशले पनि शक्तिशाली सरकारको अनुमतिविना नै त्यसको विरोध गर्न सक्छ । उदाहरणका लागि, डिसेम्बर २०२३ मा दक्षिण अफ्रिकाले गाजामा इजरायलको गतिविधिलाई लिएर आइसिजेमा नरसंहारको आरोप लगायो, त्यसको एक महिनापछि आइसिजेले अन्तरिम आदेश जारी ग¥यो ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई जस्तै अमेरिकाले आइसिसी र आइसिजेका निर्णयहरूलाई ‘भिटो’ प्रदान (अस्वीकार) गर्न सक्दैन । यसले गर्दा अमेरिकासामु दुईवटा विकल्प रहन्छन् ः या त प्रणालीमा सामेल भएर भित्रैबाट प्रभाव पार्ने वा यी अदालतहरूको बहिष्कार गरेर निर्णय प्रक्रियामा आफ्नो कुनै भूमिका नराख्ने । अमेरिकाले पछिल्लो विकल्प रोजेको छ । यसले अन्तर्राष्ट्रिय कानुनको प्रगतिलाई रोक्दैन, बरु निर्णय लिने वा कानुनको दिशा तय गर्ने अधिकार अन्य मुलुकहरूको हातमा सुम्पिन्छ ।
पुटिनलाई कानुनी कठघरामा उभ्याउन अमेरिकालाई आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको र विश्वस्तरमा सम्मानित अदालतको साथ वा प्रभाव आवश्यक थियो । तर अहिले, एउटा सहयोगी राष्ट्रको बचाउ गर्ने नाममा अमेरिका त्यही अदालतको प्रतिष्ठामा आँच पु¥याउने प्रयास गर्दै छ । साथै, विश्व प्रतिस्पर्धात्मक गुटहरूमा विभाजित भइरहेको र नियम कसले तय गर्ने भन्ने प्रश्न पहिलोपटक खुला बहसको विषय बनेको यस घडीमा उसले सैद्धान्तिक रूपमै अन्तर्राष्ट्रिय कानुनलाई अस्वीकार गरिरहेको छ ।
पिनोचेले आफू लन्डनमा कानुनको पहुँचभन्दा बाहिर रहेको ठान्थे, तर उनको त्यो बुझाइ गलत साबित भयो । अमेरिकाले पनि निकै ठुलो स्तरमा त्यस्तै दाउ लगाइरहेको छ । अर्थात्, आफूले निर्माण गर्न सघाएका अन्तर्राष्ट्रिय कानुनहरू कहिल्यै पनि आफ्नै विरुद्ध प्रयोग हुन सक्दैनन् भन्ने उसको विश्वास छ ।
(अबुधाबीस्थित ‘अनवर गर्गास डिप्लोम्याटिक एकेडेमी’ का डिन तथा’ काउन्सिल अन फरेन रिलेसन्स’ का सदस्य आल्टरको आलेख प्रोजेक्ट सिन्डिकेटबाट सुभाष शर्माले अनुवाद गरेका हुन् ।)
Leave a Reply