भर्खरै :

इरानले सक्ला त आर्थिक कठिनाइको सामना गर्न ?

  • भाद्र १७, २०८३
  • महजुब ज्वेरी
  • विचार
इरानले सक्ला त आर्थिक कठिनाइको सामना गर्न ?

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरूद्ध समन्वित सैन्य अभियान सुरू गरेको ६ महिना पूरा भइसकेको छ । यो युद्ध सुरू हुनुभन्दा लगभग आठ वर्षअघि, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानको तेल निर्यातलाई शून्यमा पु¥याउने उद्देश्यले ‘अधिकतम दबाब’ अभियान सुरू गरेका थिए । अहिले फेरि ६ महिना लामो अभियानमार्फत बलपूर्वक इरानको शासन परिवर्तनमा असफल भएपछि अमेरिकाले पुनः सैन्य अभियान आर्थिक दबाबमा फर्किएको छ ।
यसक्रममा यस प्रक्रियाले एक चक्कर पूरा गरेको छ, अहिले आर्थिक दबाब, त्यसपछि युद्ध, फेरि आर्थिक दबाब । उसो त तेहरानले सम्भवतः ठुलो शक्तिको आक्रमणबाट पनि शासन जोगाउन सक्नुलाई विजयका रूपमा प्रस्तुत गर्न सक्छ । तर, ६ महिनासम्म विश्वको सबैभन्दा शक्तिशाली सैन्यशक्तिको आक्रमणमाझ पनि टिक्न सफल इस्लामिक शासनले आर्थिक नाकाबन्दी सहन सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्न थालेको छ ।
अमेरिका–इजरायल आक्रमणबाट इरानमा देखिने सबैभन्दा स्पष्ट परिवर्तन त्यहाँको शीर्ष तहमा रहेको छ । युद्धको पहिलो दिनमै इरानका सर्वोच्च नेता अली खामेनीको हत्या भयो । त्यसको एक सातापछि उनका छोरा मोज्तबालाई नयाँ सर्वोच्च नेता नियुक्त गरियो । यस कदमलाई त्यसबखत इस्लामिक शासनको निरन्तरता र एकताको प्रमाणका रूपमा प्रस्तुत गरिएको थियो । ६ महिना बितिसक्दा पनि अझै मोज्तबा सार्वजनिक रूपमा देखिएका छैनन् । तर, देशमा उनको नेतृत्व रहेको पुष्टि भएको छ । कुनै समय दृश्यवान् उपस्थितिमार्फत आफ्नो अधिकार प्रक्षेपण गर्ने सर्वोच्च नेता अहिले सुरक्षाको दृष्टिले सार्वजनिक रुपमा देखापरेका छैनन् ।
युद्धको बिचमा इरान आफ्नो कमान्ड संरचना पनि पुनर्निर्माण गर्न बाध्य भयो । पहिलो दिनको आक्रमणमा देशको शक्तिशाली ‘इस्लामिक रिभोलुस्नर गार्ड गोर्पस (आईआरजीसी) का कमान्डर मोहम्मद पाकपुर र राष्ट्रिय सेनाका प्रमुख अब्दुलरहिम मौसाबीको हत्या भयो । त्यसपछि पनि अन्य कैयौँ वरिष्ठ सैन्य कमान्डर मारिए । रिक्त पद भर्न १० अगस्टमा, मोज्तबाको नाममा एक आदेश जारी गरिएको थियो, जसमा नयाँ सैन्य नेतृत्वलाई औपचारिकता प्रदान गरियो ।
तीमध्ये आईआरजीसी प्रमुख अहमद वाहिदी र अली अब्दुल्लाही सेनाप्रमुख चुनिएका छन् । नियुक्ति गरिएका अधिकांश संस्थापनप्रतिको बफादारीका आधारमा चुनिएका हुन् । यसले झन् बढी सर्वाेच्च नेताप्रति बफादारहरूको सत्तामाथि पकड कायम रहने सङ्केत गर्छ । अर्थात् आगामी दिनमा तेहरानले आफ्नो अडान नरम पार्ने सम्भावना न्यून देखिन्छ ।
युद्ध आफ्नो सुरूकै आर्थिक स्वरूपमा फर्किएको सबैभन्दा स्पष्ट सङ्केत अगस्टको सुरूमा सैन्य अभियान स्थगित गरेदेखि वासिङटनले चलाएको तीव्र आर्थिक दबाब हो । २४ अगस्टमा, अमेरिकाको वित्त मन्त्रालयले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ सुरू ग¥यो । यस विस्तारित अभियानको उद्देश्य इरानको बाहिरी संसारसँगको बाँकी वित्तीय सम्बन्ध पनि तोड्नु रहेको छ । यसको असर देखिन थालिसकेको छ । इरानको तेल निर्यात युद्धअघि प्रतिदिन १८ लाख ब्यारेलनजिक रहेकामा अहिले पाँच लाख ब्यारेलभन्दा तल झरेको छ । मुद्रास्फीति ९० प्रतिशतनजिक पुगेको छ । खाद्यान्नको मूल्य एक वर्ष पहिलेको तुलनामा दोब्बरभन्दा बढी वृद्धि भएको छ ।
नाकाबन्दीको असर तीव्र हुनुको पछाडि लामो समयको प्रतिबन्धको कारण मात्र होइन । युद्धअघि नै सर्वोच्च नेता अली खामेनी र राष्ट्रपति पेजेस्कियानले नै प्रतिबन्धले मात्र सङ्कटलाई बढाउन भूमिका नखेलेको, यसमा प्रशासनको कुप्रबन्धको पनि जिम्मेवारी स्विकार्नुपर्ने बताएका थिए । अर्थात्, लक्षित राज्य पहिल्यै संरचनात्मक रूपमा कमजोर भइसकेको अवस्थामा आर्थिक नाकाबन्दी थप पीडादायी हुन्छ ।
इरानको संरचनात्मक नाजुकताले त्यहाँ लामो समयदेखि गुटगत द्वन्द्वलाई पनि उजागर गरिदिएको छ । वर्षौँदेखि, इरानको नेतृत्वले दुई प्रतिस्पर्धी कथ्यमार्फत आफ्ना सङ्कटको व्याख्या गर्दै आएको छ– एउटा पक्षले (जसमा मुख्यतः नागरिक राजनीति गर्नेहरू बढी छन्) आर्थिक शासनको असफलतालाई स्वीकार गर्छ भने अर्को पक्षले (जसमा मुख्यतः सुरक्षा प्रतिष्ठान छन्) बाह्य शत्रुलाई अधिकांश समस्याका लागि जिम्मेवार ठान्छन् । अहिले नाकाबन्दीबिच त्यो भिन्नता थप असहमतिमा परिणत भएको बताइएको छ तर बाह्य दुश्मनविरुद्ध लड्न एकताबद्ध पनि छन् ।
इरानका दुई सबैभन्दा वरिष्ठ नागरिक नेतृत्व राष्ट्रपति र सभामुखले सार्वजनिक रूपमै बमबारीले भन्दा भोकमरी देशको सबैभन्दा ठुलो खतरा हुने चेतावनी दिएका छन् । यसले युद्धको पहिलो महिनाको आत्मविश्वासी आवाज बदलिएको सङ्केत गर्छ । योसँगै अब इरानभित्र पछिल्लो अवस्थाका लागि जिम्मेवार को हो भन्ने विवाद पनि बढ्ने सङ्केत देखिँदै छ ।
युद्धको ६ महिनापछि इरानको नेतृत्वले अझै पनि युद्धको सुरूमा तय गरेकै मापनका आधारमा जितहारको व्याख्या गरिरहेको छ । अर्थात्, वर्तमान शासन प्रणाली बचेकाले बाँकी सबै कुरा समयक्रममा पुनः हासिल गर्न सकिन्छ । त्यो मापनका आधारमा इरानले जितेको मान्नुपर्ने हुन्छ । तर, अहिले आर्थिक दबाबले घरपरिवार र बजार प्रभावित हुनथालेपछि पहिलेजस्तै प्रतिरोधी भाषाले समाधान दिँदैन । यही परिप्रेक्ष्यमा इरान युद्धको सम्भावित अन्त्यका सङ्केत देखिँदै छन् । तर, अमेरिकी सेन्ट्रल कमान्डको आक्रामक गतिविधिका कारण दुईतर्फी प्रहार रोकिएको छैन । हाल बन्द भएको स्ट्रेट अफ हर्मुज खोलेको बदलामा इरानले आफूमाथिको नाकाबन्दी खोलाउने लेनदेनका आधारमा द्वन्द्वलाई अन्त्य हुने सम्भावना बढी देखिन्छ ।
(लेखक इरान र मध्यपूर्वी क्षेत्रका राजनीतिका विशेषज्ञ हुन् । )
– अलजजिराबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *