काठमाडौँमा ‘भक्तपुर काण्ड’ को विरोध भत्र्सना
- भाद्र १७, २०८३
भक्तपुर, १७ भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, चाँगुनारायण नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शिक्षकहरूबिच बुधबार सम्पन्न भयो ।
उक्त विरोध तथा भत्र्सना कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले भक्तपुर काण्डबारे नयाँ पुस्तालाई जानकारी दिन र पुराना साथीहरूलाई स्मरण गराउनका साथै त्यस घटनाबाट पाठ सिकेर सचेत हुन कार्यक्रम गरिएको हो भन्नुभयो ।
उहाँले समाजवादी गणतन्त्रमा मात्र स्वास्थ्य र शिक्षा निःशुल्क हुने, योग्यताअनुसार काम, कामअनुसार ज्यालाको बन्दोबस्त हुने, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूको सम्मान, संरक्षण र भलाई हुने तथा व्यक्तित्व विकासमा समान अवसर पाउने भएकोले समाजवादी गणतन्त्रको अपरिहार्य भएको हो भन्नुभयो ।
उहाँले शिक्षक सङ्घमा लाग्ने पदाधिकारीहरू हरेक क्षेत्रमा योग्य र सक्षम हुन विभिन्न विषयवस्तुहरू अध्ययन गर्नुका साथै सन्दर्भ सामग्रीहरू र देश–विदेशका इतिहास, भूगोल, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र तथा विद्वान्हरूको जीवनी, लेख रचनाहरू अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले २०४५ साल भदौ ९ गते पञ्चायती राज्यस्तरबाट षड्यन्त्र गरी कर्ण ह्योजुलाई बलिको बोको बनाएको हो भन्नुभयो ।
उहाँले “जो आगोसँग खेल्छ त्यो आगोमै मर्छ, जो पानीसँग खेल्छ त्यो पानीमै मर्छ” भनेझैँ नेमकिपालाई समाप्त पार्न रचेको षड्यन्त्रमा आफै परी २०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्था समाप्त हुन पुग्यो भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, चाँगुनारायण नगर समितिका अध्यक्ष नारायणप्रसाद दुलालको सभापतित्वमा सम्पन्न भएको उक्त विरोध तथा भत्र्सना कार्यक्रममा समितिका सहसचिव सत्यप्रसाद प्रजापतिले भक्तपुर काण्डमा भक्तपुरका नेता तथा कार्यकर्तालगायत सर्वसाधारण जनताले दुःखकष्ट भोगेको कुरा बताउनुभयो ।
Leave a Reply