बाहिरी झिलिमिलीभन्दा पनि भित्री गुणलाई सुन्दरता मान्नुपर्ने
- भाद्र १७, २०८३
भक्तपुर, १८ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईको बिदाइ कार्यक्रम बिहीबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो । नगर प्रमुख सुनिल प्रजापतिले उहाँलाई पुष्पगुच्छा, खादा ओढाएर बिदाइ गर्नुभयो ।
बिदाइ कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत भट्टराईसँग ३३ महिना सँगै काम गर्ने अवसर पाएको बताउँदै उहाँको कार्यशैली, लेखनशैली तथा विभिन्न विषयमा काम गर्ने र मूल्याङ्कन गर्ने क्षमता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।
उहाँले कर्मचारीहरू कानुनी तथा आर्थिक पक्षका विषयमा अद्यावधिक र सचेत हुनुपर्नेमा जोड दिँदै नगरपालिकाको काममा कमी–कमजोरी नहोस् भन्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतहरूसँग निरन्तर छलफल गरी काम गरेको स्मरण गर्नुभयो ।
उपप्रमुख रजनी जोशीले भट्टराईको आगामी कार्यकालको सफलताको शुभकामना दिँंदै भट्टराई कार्यालय व्यवस्थापनमा अब्बल र परिपक्व प्रशासकीय अधिकृत रहेको बताउनुभयो । आगामी दिनमा महिला, बालबालिका तथा सम्बन्धित मन्त्रालयमा पनि उहाँले प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले २०८० मङ्सिर १८ गतेदेखि भक्तपुर नगरपालिकामा जोडिएर ३३ महिना काम गर्ने अवसर पाएको बताउँदै आफ्नो कार्यकालमा सधैँ नगरपालिकाको हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गर्नुभयो । भक्तपुरमा रहँदा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो ।
“सार्वजनिक सेवाका लागि असल दूतका रूपमा आगामी दिनमा पनि काम गर्नेछु” भन्दै उहाँले भक्तपुरमा रहँदा भक्तपुर नगरपालिकाको मासिक पत्रिका ‘भक्तपुर मासिक’ पत्रिकामा लेख्ने बानीसमेत बसेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले जनताको सेवा तथा विपद्का समयमा जनप्रतिनिधि र कर्मचारी एकजुट भएर अघि बढ्ने भावना सधैँ कायम रहनुपर्ने बताउनुभयो । उहाँले अन्य प्रमुख प्रशासकीय अधिकृतको तुलनामा भट्टराईले भक्तपुरमा लामो समय काम गरेको उल्लेख गर्नुभयो ।
कर्मचारी एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकामा धेरै प्रमुख प्रशासकीय अधिकृतहरू आइसकेको स्मरण गर्दै व्यक्तिगत हितभन्दा नगर र जनताको हितमा काम गर्ने प्रशासनिक नेतृत्व आवश्यक रहेको बताउनुभयो ।
भक्तपुरमा काम गर्न प्रमुख प्रशासकीय अधिकृतको रोजाइ पर्ने गरेको उल्लेख गर्दै उहाँले प्रमुख प्रशासकीय अधिकृतले राम्रोसँग काम गरे देशकै मुहार फेर्न योगदान पुग्ने धारणा राख्नुभयो ।
प्रमुख प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलाई आँखी झ्याल र नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
Leave a Reply