भर्खरै :

विपतको घडीमा चीन र नेपालबिच फाटो नल्याइयोस्

विपतको घडीमा चीन र नेपालबिच फाटो नल्याइयोस्

अगस्ट २६ मा गएको पहिरोले चीन र नेपाल दुवै देशका सीमावर्ती क्षेत्रमा गम्भीर असर पारेको छ । यस विपत्तिले जलवायु परिवर्तनको सामना गर्ने हाम्रो साझा चुनौतीबारे मानवतालाई एउटा पीडादायी स्मरण गराएको छ । तैपनि, अत्यन्तै खेदजनक कुरा के छ भने केही विदेशी सञ्चार माध्यमले वैज्ञानिक निष्कर्षलाई पूर्ण रूपमा बेवास्ता गर्दै तथा हाल जारी व्यापक उद्धार कार्यलाई नजरअन्दाज गर्दै यस प्राकृतिक विपत्तिलाई कसरी ‘मानव–निर्मित विपत्ति’का रूपमा प्रस्तुत गर्ने भन्नेमा मात्र ध्यान केन्द्रित गरेका छन् । जस्तै, चीनलाई पहिले नै ‘खलनायक’का रूपमा चित्रण गर्ने प्रयास गरिएको छ । यो नितान्त लज्जास्पद चाल विपत्तिको राजनीतीकरण र सत्यको तोडमरोड मात्र नभई दुवै देशका जनताको भावनाको ठाडो अपमान पनि हो ।
यस विपत्तिको मुख्य कारण नेपालको माउन्ट लाङटाङ लिरुङको उत्तरी ‘स्लोप’मा पाँच हजार २०० मिटरको उचाइमा रहेको हिमनदी क्षेत्रमा अवस्थित छ । यो हिउँ र चट्टान खस्दा सुरु भएको गेग्रानको एक विशिष्ट शृङ्खलाबद्ध प्रतिक्रिया थियो यो बाढी । विश्वभरका वैज्ञानिक अनुसन्धान संस्थाको साझा निष्कर्ष पनि यही हो । क्यानडा, फ्रान्स र अस्ट्रियालगायत देशका वैज्ञानिकले यस घटनाको उत्पत्तिका सम्बन्धमा गरेको विश्लेषणले पनि ठ्याक्कै उही स्थान र प्रक्रियालाई औँल्याएको छ । यस विपतको उत्पत्ति, कारण र ऊर्जाको परिमाणबारे चीन र नेपालका विज्ञ, स्याटेलाइट ‘रिमोट सेन्सिङ’ अनुगमन तथ्याङ्क तथा अन्तर्राष्ट्रिय भूकम्पीय तथ्याङ्कका आधारमा पुष्टि गरिएको छ ।
तर, ठुलो विपत्तिको घडीमा पनि केही विदेशी सञ्चार माध्यमले झुट र विभाजन फैलाउने कार्यलाई तीव्र पारेका छन्, जुन अत्यन्तै निन्दनीय छ । ‘चीनले नेपालसँग तथ्याङ्क आदानप्रदान गर्न अस्वीकार ग¥यो’ वा ‘चीनको ठुलो स्तरको निर्माण कार्यले दक्षिण एसियालाई जोखिममा पा¥यो’ जस्ता भ्रामक सूचना फैलाउनुका साथै विपत्तिको स्रोतबारे गरिएका वस्तुनिष्ठ विवरणलाई समेत ‘भाष्य तोडमरोड गरेको’ जस्ता आरोप लगाइएको छ । यी बेतुका दाबी विभिन्न कोणबाट आए पनि तिनको सुनियोजित उद्देश्य एउटै छ, जब–जब कुनै कुरा बिग्रन्छ, त्यसको दोष चीनमाथि नै थोपरिनुपर्छ । दोषारोपण गर्ने र हतारमा निर्णय सुनाउने यो प्रवृत्ति अत्यन्तै दुःखद छ ।
निरन्तर विश्वव्यापी जलवायु तापक्रम वृद्धिले उच्च उचाइमा रहेको हिमनदीको पर्माफ्रस्ट (माटो, चट्टान वा गेग्य्रानजस्ता कुनै पनि प्रकारको जमिन, जुन लगातार दुई वा सोभन्दा बढी वर्षसम्म ० डिग्री सेल्सियस वा सोभन्दा कम तापक्रममा रहिरहन्छ) लाई अस्थिर बनाएको छ, जसले गर्दा धेरै राष्ट्रले सामना गर्नुपरेको विश्वव्यापी जलवायु जोखिम खडा भएको छ । वास्तवमा, अमेरिकाको अलास्कामा रहेका हिमनदीले हालैका वर्षमा लगातार हिमनदी ताल विस्फोट र उच्च उचाइमा रहेको पहिरोको अनुभव गरेका छन्, जसले गर्दा तटीय सहर जोखिममा छन् ।
यसैबिच, हिमालयको भारतीय क्षेत्र पनि निरन्तर रूपमा प्रभावित छ ः २०२१ को हिमनदीको पतनले भग्नावशेषको प्रवाह निम्त्यायो, जसले दुई जलविद्युत् प्लान्ट नष्ट ग¥यो र सयौँ मानिस बेपत्ता भए । त्यस्तै, सन् २०२५ मा धेरै मनसुनी वर्षा र हिलोले सीमावर्ती गाउँलाई निल्यो, जसले गर्दा ठुलो क्षति भयो । यी सबै प्रकोप स्थानीय हिमनदीको अस्थिरताबाट उत्पन्न भएका थिए ।
चीन पनि यस विपतको अर्को पीडित हो । आफ्नै सीमावर्ती क्षेत्रमा गम्भीर क्षति पुगेको भए पनि चीनले नेपाललाई निरन्तर सहयोग गर्दै उद्धार तथा राहत कार्यमा पूर्ण रूपमा सक्रिय भूमिका निर्वाह गरेको छ । यस प्रकारको हार्दिक सद्भाव र सहयोगप्रति सांसददेखि मन्त्रीसम्मका नेपाली सरकारी अधिकारीले पटक–पटक सार्वजनिक रूपमा आभार व्यक्त गरेका छन् । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट रूपमा भनेका छन् कि विपतले नेपाल र चीन दुवैलाई प्रभावित पारेको भए पनि चीनले आफ्नै कठिनाइलाई पन्छाएर यथाशीघ्र नेपालप्रति समवेदना प्रकट गर्नुका साथै सहयोग उपलब्ध गराएको छ । नेपाली इन्टरनेट प्रयोगकर्ताले पनि चीनविरोधी भ्रामक प्रचारलाई चिर्न र खण्डन गर्न सामाजिक सञ्जालको प्रयोग गरेका छन् । स्पष्ट छ, चीन–नेपाल सम्बन्धमा दरार पैदा गर्ने कुनै पनि प्रयासले स्थान पाउन सक्दैन ।
विपतको समयमा भू–राजनीतिलाई स्थान दिनुहुँदैन । मानवीय जीवनको मूल्य कुनै पनि राजनीतिक दाउपेचभन्दा माथि हुन्छ । हिमनदीसम्बन्धी शृङ्खलाबद्ध विपत् सम्पूर्ण मानवजातिका लागि साझा चुनौती हुन् र यिनले विभाजन होइन, बरु ऐक्यबद्धताको सन्देश दिनुपर्छ । राजनीतिक पूर्वाग्रहलाई पन्छाएर वैज्ञानिक तथ्यको सम्मान गर्नु तथा विपतग्रस्त क्षेत्रमा पुनर्निर्माणका प्रयासलाई पूर्ण रूपमा सघाउनु नै जीवनप्रतिको आधारभूत सम्मान हो ।
ग्लोबल टाइम्सबाट/नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *