भर्खरै :

सिद्धि गणेश साकोसको ३२ औँ वार्षिक साधारणसभाको तयारी बैठक

सिद्धि गणेश साकोसको ३२ औँ वार्षिक साधारणसभाको तयारी बैठक

भक्तपुर, १९ भदौ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को सञ्चालक समितिको आयोजनामा ३२ औँ वार्षिक साधारणसभाको तयारी एवं जानकारीका लागि संस्थाको समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, संस्थापक र कर्मचारीहरूको संयुक्त बैठक सिद्धि गणेश तालिम हल, खँचामा शुक्रबार सम्पन्न भयो ।
बैठकमा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले देशमा कतिवटा सहकारी छन् भन्ने स्पष्ट विवरण नआएको र सहकारी क्षेत्रमा रहेको अधिकांश रकम ठुला ६० वटा सहकारीमा रहेको जानकारी दिनुभयो । उहाँले हाल बजारमा रहेका राम्रा सहकारीबारे नबुझी खराब सहकारीहरूको चर्चा बढ्नाले पूरै सहकारी क्षेत्र बदनाम हुन गएको उल्लेख गर्नुभयो । अध्यक्ष लाखाले सहकारी संस्थाका सम्पूर्ण सदस्यहरूलाई सहकारीबारे जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले खराब सहकारीहरूको कारण ऐनमा संशोधन भएको उल्लेख गर्नुभयो । उहाँले सबै सहकारीको परिवेश भिन्न हुने भएकोले देशभरिका सबै सहकारीलाई एउटै नीति लागु गर्न नहुने विचार व्यक्त गर्नुभयो । उपाध्यक्ष दुमरुले देशका खराब सहकारीहरूले घरजग्गाजस्तो अनुत्पादनशील क्षेत्रमा लगानी गर्नाले सम्पूर्ण सहकारी क्षेत्रमा असर परेको उल्लेख गर्नुभयो ।
संस्थाका सचिव विष्णुप्रसाद दुमरुले सदस्यहरूको सुझावअनुरूप संस्थाको ३२ औँ वार्षिक साधारणसभा एकै ठाउँमा असोज १७ गते हुन गइरहेको जानकारी दिनुभयो । उहाँले संस्थाको आर्थिक कारोबार नीति सङ्गत गर्न संस्थाको आर्थिक नीति साधारणसभाबाट सम्बोधन हुने बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष जयराम गोर्खालीले संस्थाको आ.व. २०८२/०८३ को आय व्यय विवरण र आ.व. २०८३/०८४ को अनुमानित बजेटबारे जानकारी दिनुभयो ।
बैठकमा संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दु्मरुले सहकारी क्षेत्रमा विगत केही वर्षदेखि चुनौती थप्दै गएको उल्लेख गर्दै सहकारी क्षेत्रको नेतृत्व लिनेहरूसँग सहकारी अभियानको मोडालिटीबारे सचेत नभएकै कारण हाल देशका सहकारीहरूमा समस्या देखिएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *