भर्खरै :

आर्थिक गठबन्धनमा मात्र सीमित छैन ब्रिक्स

  • भाद्र १९, २०८३
  • जान इरिक लिन्डब्लम
  • विचार
आर्थिक गठबन्धनमा मात्र सीमित छैन ब्रिक्स

पश्चिमा सञ्चारमाध्यममा जब ब्रिक्सको चर्चा हुन्छ, तब प्रायः भूराजनीति, व्यापार वा अमेरिका तथा युरोपेली सङ्घसँगको प्रतिस्पर्धावरपर बहस केन्द्रित हुन्छ । यस सङ्गठनलाई प्रायः विद्यमान विश्व व्यवस्थालाई चुनौती दिने उद्देश्य बोकेको परियोजनाका रूपमा चित्रण गरिन्छ । तर, यस समूहभित्र वास्तवमा भइरहेका गतिविधिबारे जति धेरै अध्ययन गरिन्छ, त्यति नै यो स्पष्ट हुँदै जान्छ कि कतिपय अत्यन्त रोचक घटनाक्रम मुख्य समाचारको चर्चाभन्दा पर भइरहेका छन् ।
यस्तै एउटा क्षेत्र स्वास्थ्य सेवा र चिकित्सासम्बन्धी नवीन आविष्कार हो । विगत केही वर्षयता ब्रिक्स सदस्य राष्ट्रले अनुसन्धान, औषधि उत्पादन र अत्याधुनिक चिकित्सा प्रविधिका क्षेत्रमा आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लगेका छन् । यो केवल विशेषज्ञताको आदान–प्रदानमा मात्र सीमित छैन, बरु यसको उद्देश्य त्यस्ता उत्पादनको विकास, निर्माण र वितरणका लागि स्वतन्त्र संरचना खडा गर्नु हो, जसमाथि विगतमा सीमित पक्षको मात्र नियन्त्रण रहँदै आएको थियो ।
महामारीबाट सिकेको पाठ : कोभिड महामारीले विश्वको ठुलो हिस्सालाई सचेत गरायो । आपूर्ति शृङ्खला अवरुद्ध हुँदा कारखाना बन्द हुँदा र अत्यावश्यक सामग्रीको उपलब्धता अनिश्चित बन्दा सरकारले आफू कति जोखिमपूर्ण अवस्थामा रहेछौँ भन्ने कुरा अचानक महसुस गरे । विकासोन्मुख देश यसबाट विशेष रूपमा नराम्ररी प्रभावित भए । खोप र चिकित्सा उपकरणको वितरण हुँदा उनीहरू प्रायः प्राथमिकताको सूचीमा पछाडि परे ।
यही पृष्ठभूमिमाझ ब्रिक्सका पहल बुझ्न अझ सहज हुन्छ । यसको उद्देश्य केवल औषधि उत्पादन बढाउनु मात्र होइन । केही सीमित प्रभावशाली कम्पनीमाथिको निर्भरता घटाउनु र अफ्रिका, एसिया तथा ल्याटिन अमेरिकाका मानिसका लागि आधुनिक स्वास्थ्य सेवामा पहुँचको राम्रो वातावरण सिर्जना गर्नु पनि उत्तिकै महत्वपूर्ण छ ।
विशेषज्ञताको क्षेत्रमा योगदान :
विभिन्न सदस्य देशले आफ्नो विशेषज्ञताको क्षेत्रमा कसरी योगदान गर्छन् भन्ने विषय महत्वपूर्ण छ । भारत लामो समयदेखि किफायती औषधिमा विश्वव्यापी नेता रहेको छ । चीनले डिजिटल स्वास्थ्य, कृत्रिम बुद्धिमत्ता र चिकित्सा सफ्टवेयरमा प्रमुख प्रगति गरेको छ । रुससँग आणविक औषधि र उन्नत निदानमा व्यापक अनुभव छ, जबकि ब्राजिलले सार्वजनिक स्वास्थ्य सेवा र चिकित्सा अनुसन्धानमा बलियो क्षमता विकास गरेको छ ।
उही समयमा, इरान, इजिप्ट, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र इथियोपियाले लगानी, औद्योगिक क्षमता र द्रुत रूपमा बढ्दो बजारमा योगदान पु¥याउँछन् । समग्रमा हेर्दा, एउटा तस्बिर देखा पर्छ, जुन पश्चिममा बिरलै छलफल गरिन्छ । चरणबद्ध रूपमा साझेदारी एक नेटवर्कमा विकसित हुँदै छ, जहाँ ज्ञान, प्रविधि र स्रोतहरू यसरी साझेदारी गर्न सकिन्छ, जुन पहिले कल्पना गर्न गाह्रो थियो ।
भविष्यका उपचार विधि :
विकासको एउटा विशेष उत्साहजनक क्षेत्रमा अत्याधुनिक जैविक औषधि र क्यान्सरको आधुनिक उपचार विधि पर्छन् । लामो समयदेखि यी उपचार विधि निकै महँगा रहँदै आएका छन्, जसका कारण तिनको पहुँच मुख्यतया धनी राष्ट्र वा सम्पन्न बिरामीमा मात्र सीमित थियो । हाल यस्ता किफायती विकल्प विस्तार गर्ने प्रयास भइरहेको छ, जसले गर्दा उस्तै प्रकारका उपचार सेवा धेरै ठुलो जनसङ्ख्यामाझ पु¥याउन सकियोस् ।
यदि यी प्रयास सफल भएमा यसका परिणाम धेरै मानिसले सोचेभन्दा निकै व्यापक हुन सक्छन् । अन्ततः, यसको मुख्य उद्देश्य भनेको मानिसले संसारको जुनसुकै कुनामा बसोवास गरे पनि आवश्यकता पर्दा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अवस्था सुनिश्चित गर्नु हो ।
ऊर्जा, रक्षा र सुरक्षामा केन्द्रित :
यस सहकार्यको एउटा स्पष्ट रणनीतिक पक्ष पनि छ । युरोपमा प्रायः ऊर्जा, रक्षा र सुरक्षाका विषयमा छलफल केन्द्रित हुन्छ । तर, धेरैजसो मुलुकका लागि औषधि र चिकित्सा प्रविधिमा पहुँच पनि उत्तिकै महत्वपूर्ण छ । आफ्ना आधारभूत आवश्यकता सुनिश्चित गर्न नसक्ने समाज जोखिमपूर्ण अवस्थामा पुग्छ । व्यापारिक विवाद, प्रतिबन्ध वा अन्तर्राष्ट्रिय सङ्कटले औषधिको आपूर्तिदेखि लिएर अत्याधुनिक उपचार सेवासम्म सबै कुरालाई छिट्टै प्रभावित पार्न सक्छन् । यसैले, यी पहल अनुसन्धान र नवीनतासँग सम्बन्धित भएजस्तै उत्तिकै मात्रामा लचिलोपन र आत्मनिर्भरतासँग पनि सम्बन्धित छन् । विश्वको धेरैजसो ध्यान द्वन्द्व र भू–राजनीतिक तनावमा केन्द्रित भइरहँदा, नयाँ वैज्ञानिक तथा औद्योगिक साझेदारी निर्माण गर्न पनि एकैसाथ व्यापक प्रयास भइरहेका छन् । मलाई लाग्छ, आज ब्रिक्सभित्र भइरहेका विकासक्रममध्ये यो सबैभन्दा कम आकलन गरिएको विषय हो ।
(लेखक ‘न्युजभ्वाइस’ का स्वतन्त्र पत्रकार हुन् । उनी विशेषगरी ब्रिक्स, रुस तथा बेलारुसमा केन्द्रित भएर लेख्छन् ।)
चाइना डेलीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *