नेमकिपाले जनताको सेवा गरेको मन नपरेर ‘भक्तपुर काण्ड’
- भाद्र १९, २०८३
भक्तपुर, २० भदौ । भक्तपुर नगरपालिका वडा नं. ६ वडा कार्यालयको आयोजनामा एसईई, प्लस टु, स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी उत्तीर्ण वडावासीहरूलाई बधाई ज्ञापन एवं प्रशंसापत्र वितरण तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले रसुवाको भोटेकोसी नदीमा आठसय वर्षअघि पनि हिमपहिरो आएको र जनधनको क्षति भएको सार्वजनिक भएको चर्चा गर्दै त्यसबेलाको अभिलेखबाट सचेत भएर सरकारले पूर्वसूचना प्रणालीको बन्दोबस्तसहित सुरक्षित ठाउँमा बस्ती विस्तार गरेको भएको यस्तो क्षति व्यहोर्नुपर्ने थिएन भन्नुभयो ।
उहाँले भन्नुभयो, “भेलबाढीमा पुरिएका र जलविद्युत् सुरूङमा थुनिएका दस दिनयता सकुशल उद्धार गरिएको सार्वजनिक भयो । सरकारले घटना भएकै दिनबाट उद्धारको निम्ति चीनलगायत मित्र देशहरूबाट जनशक्ति र उपकरण सहयोग ल्याउने तदारूकता देखाएन ।”
शिक्षाप्राप्त भएकाहरू अन्धविश्वासी नहुने र विज्ञानसम्मत हुने भएकोले नेमकिपाले ख्वप कलेजहरू स्थापना गरी एक घर एक स्नातकको लक्ष्य अगाडि बढाएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेमकिपाले पञ्चायती चुनावमा भाग लिएर देश र जनताको निःस्वार्थ सेवा गरेको हो । यो सेवाबाट चित्त नबुझेका पञ्चायती शासकहरूले कुटील राजनीति चालेर आफै व्यक्तिहत्या गरी नेमकिपाका नेता र कार्यकर्ताविरूद्ध ज्यान मुद्दाको षड्यन्त्र भक्तपुर काण्ड रचेको थियो । जनताविरूद्ध षड्यन्त्र गर्ने पञ्चायती व्यवस्था जनआन्दोलन २०४६ बाट समाप्त भयो ।”
नयाँ पुस्ताले उच्च शिक्षा प्राप्त गरी देश र जनताको निःस्वार्थ सेवामा लाग्ने र नेपाललाई आत्मनिर्भर बनाउन योगदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप बधाई कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै विद्यार्थीहरू अध्ययनशील भई देश र समाजको सेवामा लाग्नुपर्ने बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले शिक्षाको स्तरले देशको मूल्याङ्कन हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कला, संस्कृति संरक्षणमा विशेष जोड दिँदै कार्य गरिरहेको सराहनीय छ”, उहाँले भन्नुभयो ।
नेक्राशिसङ्घ भजिसका अध्यक्ष गणेशराम थुसाले ‘एक घर एक स्नातक’ अभियान सफल भइसकेको हुँदा अब एक घर एक पीएचड तयार गर्ने लक्ष्य लिई अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रोशनमैयाँ सुवाल, वडा सदस्यद्वय गोविन्द दुवाल, गोपिकृष्ण चाँगुभारी, सिद्धिराम सुवाल, विद्यार्थी यजु बजिको, जुबेल अवाल र सम्झना खाइजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply