भर्खरै :

भक्तपुर बहिरा सङ्घको ३० औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशन उद्घाटन

भक्तपुर बहिरा सङ्घको ३० औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशन उद्घाटन

भक्तपुर, २० भदौ  । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर बहिरा सङ्घको ३० औँ वार्षिक साधारणसभा तथा १५ औँ अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले बहिरा नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी तथा सीप विकाससँग जोड्दै आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रजापतिले बहिरा हुनु कमजोरी नभएको उल्लेख गर्दै सबै नागरिक आफ्नो क्षेत्रमा सक्षम रहेको बताउनुभयो ।
“बहिरा हुँदैमा दिमाग कमजोर हुँदैन । कोहीभन्दा कम छैनन्,” उहाँले भन्नुभयो । देशभर लाखौँको सङ्ख्यामा बहिरा नागरिक रहेको उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितताले बहिरा नागरिकलाई पनि सशक्त ढङ्गले अगाडि बढ्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।
भक्तपुर नगरपालिकाले बहिरा सङ्घको भवनका लागि फर्निचर तथा सामग्री सहयोग गरेको र नगरपालिकाले अस्पताल, कलेज तथा वडा र बहिरा भएका व्यक्तिका परिवारलाई लक्षित गरी दुईमहिने दोभाषे तालिम सञ्चालन गरेको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
नगरपालिकामा अपाङ्गता भएका व्यक्तिलाई रोजगारीको अवसरसमेत प्रदान गरिएको उहाँले बताउनुभयो ।
“राम्रो तालिमले रोजगारी दिने हुँदा तालिम लिनुहोस्,” उहाँले आग्रह गर्दै सीपमूलक तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो । बहिरा सङ्घले बहिरा साथीहरूको आवाज उठाउन विशेष स्मारिका वा बुलेटिन प्रकाशन गर्नु उपयुक्त हुने उहाँको सुझाव थियो । समस्याको समाधानका लागि आफैँ अग्रसर हुनुपर्ने बताउँदै उहाँले विदेशी सहयोगबिना सङ्घ सञ्चालन हुनु सकारात्मक पक्ष भएको र आत्मनिर्भरतालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर बहिरा सङ्घका अध्यक्ष जयराम पकानेवारले बहिरा सङ्घले सञ्चालन गर्दै आएको विविध गतिविधिबारे प्रस्ट पार्दै आगामी दिनमा पनि स्थानीय सरकारको यस्तै साथ र सहयोग रहेको अपेक्षा गर्नुभयो  ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक गोपाल सिंहले बहिरा नागरिक विशिष्ट नागरिक भएको बताउनुभयो । भक्तपुर बहिरा सङ्घले जिल्लाभरिका बहिरा नागरिकका सबै समस्यामा हातेमालो गरिरहेको बताउदै ज्येष्ठ बहिरा नागरिकका लागि डे–केयर सेन्टर खोल्ने योजना सराहनीय रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर बहिरा सङ्घका सल्लाहकार गोकुल रिसालले सञ्चारमा पहुँच पु¥याउन दोभाषेको आवश्यकता रहेको बताउनुभयो । भक्तपुर बहिरा सङ्घ अभिभावकको भूमिकामा रहेको उल्लेख गर्दै सीपसम्बन्धी तालिम सञ्चालन गरी बहिरा नागरिकलाई रोजगारीसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सङ्घका संस्थापक अध्यक्ष नकुल अधिकारीले बहिरा हुनु कमजोरी नभएको भन्दै बहिरा नागरिकको एकता, हक तथा अधिकार प्राप्तिका लागि निरन्तर काम गर्नुपर्ने बताउनुभयो ।
गैसस महासङ्घ भक्तपुरका सदस्य न्हुच्छे प्रजापतिले बहिरा नागरिकको हकअधिकारका लागि सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।
काभ्रे जिल्ला बहिरा सङ्घका अध्यक्ष शर्मिला मानन्धरले भक्तपुर बहिरा सङ्घले विभिन्न उतारचढाव पार गर्दै धेरै उपलब्धि हासिल गरेको बताउनुभयो । आफ्नै भवन निर्माण हुनु गर्वको विषय भएको उल्लेख गर्दै स्थानीय तहसँग सहकार्य गर्दै सङ्घले थप विकास गर्दै जानुपर्ने उहाँको भनाइ थियो ।
दोभाषे सङ्घका पूर्वअध्यक्ष टीकाराम लामिछानेले अस्पताललगायत विभिन्न सङ्घसंस्थामा पनि दोभाषेको आवश्यकता रहेको बताउनुभयो । ज्येष्ठ नागरिकका लागि डे–केयर सेन्टर खोल्ने योजना सराहनीय रहेको उल्लेख गर्दै त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा ललितपुर बहिरा सङ्घकी अध्यक्ष शिखा प्रधानले शुभकामना मन्तव्य दिनुभयो । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सचिव सुशील बोहजुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *