भर्खरै :

होर्मुज जलडमरू मध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

होर्मुज जलडमरू मध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

कायरो, ७ सेप्टेम्बर (एपी) । इरानले होर्मुज जलडमरू मध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै जलडमरू मध्य बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको जनाएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार सरकारी सञ्चारमाध्यममार्फत यस्तो जानकारी दिनुभयो । उहाँका अनुसार आगामी केही दिन वा साताभित्र उक्त क्षेत्र घोषणा गरिनेछ ।
रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट सुरु भएर होर्मुज जलडमरूमध्यतर्फ फैलिनेछ र त्यस क्षेत्रबाट फारसको खाडीतर्फ पनि विस्तार हुनेछ । उहाँले होर्मुज जलडमरूमध्य पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने कुनै पनि पानीजहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी दिनुभयो ।
यद्यपि, इरानले उक्त क्षेत्रको सीमा कहाँबाट सुरु हुने भनेर स्पष्ट गरेको छैन । अमेरिकी नाकाबन्दी इरानी बन्दरगाहलाई लक्षित गर्दै इरानलाई तेल निर्यात गर्नबाट रोक्ने उद्देश्यले सञ्चालन भइरहेको बताइएको छ ।
अमेरिकी सेनाका अनुसार नाकाबन्दीलाई २० भन्दा बढी युद्धपोतले सहयोग गरिरहेका छन् । आइतबारसम्म उक्त नाकाबन्दीका कारण ९२ वटा व्यापारिक पानीजहाजको मार्ग परिवर्तन गरिएको र तीनवटा पानीजहाजलाई सञ्चालन गर्न नसक्ने बनाइएको जनाएको छ ।
अमेरिका र इरानबिचको तनाव बढिरहेका बेला पछिल्लो घोषणा आएको हो । वार्ता विफल भएपछि अमेरिकाले इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने उपायहरू अघि बढाइरहेको छ ।
यसैबिच, इरानले होर्मुज जलडमरूमध्य पार गर्न खोज्ने केही पानीजहाजमाथि आक्रमण जारी राखेको छ । विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक रहेको होर्मुज जलडमरूमध्य अहिले जारी युद्धमा इरानका लागि महत्वपूर्ण रणनीतिक दबाबको माध्यम बनेको छ ।
इरानी सरकारी सञ्चारमाध्यमले आइतबार होर्मुज जलडमरूमध्य प्रवेश गर्न खोजेको एउटा मानवरहित अमेरिकी पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेको थियो । तर, अमेरिकी सेनाले उक्त दाबीलाई पूर्ण रूपमा झुटो भन्दै अस्वीकार गरेको छ । इरान र अमेरिकाबिचको पछिल्लो तनाव फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धसँग जोडिएको छ ।
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान
इरान र ओमानबीच हर्मुज जलमार्गबाट सुरक्षित आवागमनका लागि अस्थायी मार्ग तोक्नेबारेको वार्ता अन्तिम चरणमा पुगेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार बताउनुभएको छ ।
मार्ग तोक्नेबारे दुई देशबीचको समझदारी आगामी दिनमा अन्तर्राष्ट्रिय समुद्री सङ्गठनमा दर्ता हुने सम्भावना रहेको बाघाईले तेहरानमा भएको साप्ताहिक पत्रकार सम्मेलनमा बताउनुभयो ।
जलमार्गमा असुरक्षा अमेरिका र इजरायलको इरानविरुद्धको ‘सैन्य आक्रमण’ को परिणाम भएको बताउँदै उहाँले भन्नुभयो, “यो अवस्था जारी रहेसम्म जहाजहरू यस मार्गबाट विश्वास र सुरक्षाको अनुभूतिसाथ यात्रा गर्न सक्ने छैनन् ।”
कतारको प्रतिनिधिमण्डलले आइतबार इरानको भ्रमण गरेकोबारे सोधिएको प्रश्नको जवाफमा बाघाईले यो भ्रमण क्षेत्रीय तनाव कम गर्ने कतारको प्रयासअन्तर्गत भएको बताउनुभयो ।
तनाव कम गर्न लामो समयदेखि प्रयास गरिरहेका केही मध्यपूर्व क्षेत्रीय देश र इरानबीच सम्पर्क ‘एक निरन्तर प्रक्रिया’ भएको उहाँले बताउनुभयो ।
गत महिनाको अन्त्यमा जारी संयुक्त वक्तव्यमा इरान र ओमानले हर्मुज जलमार्गमा अस्थायी संयुक्त नौपरिवहन मार्ग स्थापना गर्ने र जलसन्धिमा रहेका बारुद हटाउने संयुक्त परियोजना कार्यान्वयन गर्ने प्रस्तावित चरणबद्ध रूपरेखाबारे विचार आदानप्रदान गरेको घोषणा गरेका थिए ।
दुई देशबीच प्राविधिक वार्ता जारी रहने छ, जसमा स्थायी नौपरिवहन मार्ग तोक्ने, जलसन्धिको भविष्यको प्रशासन र जानकारी आदानप्रदान, ट्राफिक व्यवस्थापन तथा सुरक्षा व्यवस्थाका संयन्त्रबारे छलफल हुने वक्तव्यमा उल्लेख छ ।
इरानले फेब्रुअरी २८ २०२६ मा इजरायल र अमेरिकाले तेहरानमाथि संयुक्त आक्रमण गरेपछि ‘शत्रु’का जहाज वा उनीहरूसँग सम्बन्धित जहाजहरूलाई सुरक्षित आवागमनमा रोक लगाउँदै हर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कडा बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *