भर्खरै :

सहिदको अर्थ सार्वजनिक बिदा मात्र होइन

सहिदको अर्थ सार्वजनिक बिदा मात्र होइन

जेनजी आन्दोलनको नाममा गत वर्ष भदौ २३ गते भएको शान्तिपूर्ण सडक प्रदर्शनमा घुसपैठसमेत हुँदा काठमाडौँमा १७ जना र सुनसरीमा २ जनासमेत १९ जनाको मृत्यु भयो । तत्पश्चात् भदौ २४ गते बिहान एमालेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने अडान राखेका थिए । भदौ २४ गते देशभरिजस्तै आगजनी गरिएपछि सरकारी निवास बालुवाटारको भवनसमेतमा आगजनी सुरु भएपछि ओलीले अपराह्न १ः५० बजे प्रधानमन्त्री पदबाट राजीनामा दिई १२ दिन गुमनाम भए । ओलीको यही गल्तीको कारण भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई निर्वाचन सरकार प्रमुख बनाएर प्रतिनिधिसभासमेत विघटन गरे ।
नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको ३५ वर्ष भयो । यो अवधिमा नेका, एमाले, माओवादी, राप्रपाले पालैपालो सरकारको नेतृत्व गरे पनि देश र जनताको हितमा निःस्वार्थ रूपमा सेवा गरेनन् । देशलाई ३० खर्ब रूपैयाँ ऋणमा डुबाएको र करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाएर नेपाललाई परनिर्भर बनाएका ती शासकहरूको कारण गत फागुन २१ गते प्रतिनिधिसभाको चुनावमा सामाजिक सञ्जालको भरमा चुनाव प्रचार गरेकाहरूलाई मौका मिल्यो ।
नेपाली जनताले गत वर्ष भदौ २३ गते निहत्था जनताको हत्या गर्ने, जेनजी आन्दोलनमा घुसपैठ भएका र भोलिपल्ट भदौ २४ गते देशभरि आगजनी गर्नेहरूलाई कडा कारबाहीको माग गर्दै आएका हुन् । यसबारे अन्तरिम सरकारले गठन गरेको कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार मात्र सार्वजनिक गरी सत्य लुकाउने काम भइरहेको छ ।
सरकारको गतिविधिमा प्रभाव पार्नसक्ने भित्री या बाहिरी तत्वको छाता भएसम्म देशमा विध्वंस मच्चाउनेहरू सुरक्षित भइरहन्छ । संसारमा संरा अमेरिकी साम्राज्यवादको छाता ओढेका सरकारहरू देश र जनताविरोधी भए पनि टिकिरहने र त्यस्तो छाता नओढी स्वाभिमान हुन खोज्ने देश र सरकारलाई सङ्कटमा पु¥याइने षड्यन्त्र भइरहेको छ । संरा अमेरिकी साम्राज्यवादले यो षड्यन्त्रअघि बढाउन अमेरिकी गुप्तचर संस्था सीआईएको एक हाँगा NED लाई पनि प्रयोग गर्दै छ । नेपालमा गत वर्ष भदौ २३ र २४ गतेको विध्वंसमा नेडको पनि सम्बन्ध भएको यस अगाडि नै सार्वजनिक भइसकेको छ ।
संरा अमेरिकी सरकारले आफ्नो निर्देशन नमान्ने भेनेजुयला, इराक, लिबिया, क्युवा, प्रजग कोरियाविरुद्ध नाकाबन्दी, युद्धको धम्की, अपहरण, आक्रमणसमेत गर्दै आएको र चीनविरुद्ध अमेरिकी व्यापार युद्ध पनि यसैको सिलसिला भएको छर्लङ्ग विषय हो । अमेरिकी सरकारले नेडमार्फत आफ्ना कठपुतली देश युक्रेन, इजरायल, बङ्गलादेश, रुवान्डा, सिरियाका सरकार र तिनका नेताहरूदलाई काँधमा बोक्दै छ । गत वर्ष भदौ २३ र २४ गतेको विध्वंस मच्चाउन नेड, आइआरआई, बारबरा फाउन्डेसन, टीओबी, अमेरिकी युथ काउन्सिलको सहयोग र तालिम प्राप्त लाखौँ मानिस संलग्न भएको पनि सार्वजनिक भइसकेको विषय हो ।
रास्वपा सरकारले यही भदौ २१ गते ‘जेनजी सहिद स्मारक पार्क तथा सालिक स्तम्भ’ सिलान्यास ग¥यो भने भदौ २३ गतेलाई जेनजी सहिद दिवस नामाकरण गरी देशभर सार्वजनिक बिदा दियो । अघिल्ला सरकारहरूले राणा शासनविरुद्ध आफ्नो जीवन बलिदान दिनेहरूको स्मृतिमा सहिदगेट बनाई प्रत्येक वर्ष माघ १६ गते सहिद दिवसको बिदा दिइएको पनि धेरै भयो । सहिदको अर्थ देशको सार्वभौमिकता रक्षा, जनताको शिक्षा र स्वास्थ्य निःशुल्क, देशभित्र रोजगारी, आर्थिक समानता, विभेदको अन्त्य हो । सरकारहरूले यही भावनाअनुसार काम नगरेसम्म सहिद पार्क र दिवसको बिदाको औचित्य होला र ?
यसअघि तत्कालीन माओवादी सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस घोषणा गरी सार्वजनिक विदा दिएको थियो तर टिकेन । माओवादी ‘सशस्त्र द्वन्द्व’ पनि भारतको ट्रोजन हर्स भएको पुष्टि भयो । नेपाल र नेपाली जनतालाई साम्राज्यवादी र विस्तारवादीहरूको ‘क्रिडास्थल’ बनाउने सहिदको सपना होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *