भर्खरै :

सङ्गठनमा लाग्नुपर्नेबारे बहिनीलाई चिठी

सङ्गठनमा लाग्नुपर्नेबारे बहिनीलाई चिठी

मलाई माया गर्नुहुने दाजु,

सादर प्रणाम !
पत्र लेख्न ढिलो भएकोमा माफी पाऊँ । केही दिन कलेजकै गतिविधिमा लागेँ, दुईचार दिन अगाडि मात्रै इरानमाथि संरा अमेरिका र इजरायल मिलेर गरेको आक्रमणको विरोधमा युवा–विद्यार्थीहरूमाझ कलेज–कलेज, विद्यालय र टोल–टोलमा भएको प्रचारात्मक कार्यक्रममा सक्रिय रहेँ । त्यस कार्यक्रममा संरा अमेरिका समर्थक देशहरू बहराइन, कतार, कुबेत, साउदी अरेबिया, इजरायल आदिको भूगोल, इतिहास, जनसङ्ख्या, खनिज, व्यापार, राज्यको स्वरुप आदिबारे जानकारी दिनुको साथै इरान, लेवनानलगायत अरब देशहरूको समूहबारे पनि जानकारीमूलक कक्षा सञ्चालन हुँदै थियो ।
कार्यक्रममा इराक र सिरियाको स्थितिबारे केही साथीहरूले जानकारी दिएका थिए । २–३ कक्षामा पढ्दै गर्दा अग्रज दाइहरूले इराकमाथि अमेरिकी आक्रमण, इरानी जनताका राष्ट्रपति सद्दाम हुसेन र लिबियाका राष्ट्रपति कर्नेल गद्दाफीको हत्या संरा अमेरिकाको गुप्तचर विभागले गरेको बताउनुभएको थियो ।
त्यसबेला सबै आश्चर्य भएको थियो– इराक र लिवियालीले देशको तेल खानीलाई देशकै बनाइराख्ने र ती सबै तेलको खानी अमेरिकी कम्पनीहरूलाई लुट्न नदिने अडान लिएको कारण ती दुवै राष्ट्रपतिलाई हत्या गराइएको थियो । सिरियामा पनि अमेरिकी साम्राज्यवादी प्रशासन त्यहाँको तेल खानी लुट्न चाहन्थ्यो । तर त्यस्तो गर्न नदिएकै कारण १०–१५ वर्ष लडाइँ गरी सिरियालाई ध्वस्त बनाइयो ।
दाजु, हाम्री बज्यैलाई पढेर घर र देशको सेवा गर्न सकिन्छ भनी सम्झाउनै केही दिन लाग्यो । त्यसबेला दाजु घरमा पनि एक्लै हुनुहुन्थ्यो र अन्य साथीहरू पनि जिल्ला जिल्लामा पठाउनुभएको थाहा पाएको थिएँ ।
केही टोल, छिमेकी र नातागोताहरूले छोरी–नातिहरूलाई धेरै पढ्न दिनुहुन्न, जागिर खाएपछि घरको काम गर्दैनन् र विदेशमा गएपछि फर्केर आउँदैनन् भनी बज्यैलाई चुक्ली लगाएको कारण पढाइ छोडाउनमा बज्यै लाग्नुभएको थियो ।
हामी छोरी साथीहरू मिलेर धेरै उदाहरणहरू दिएर बज्यैलाई बल्ल बल्ल सम्झायौँ बुझायौँ – “धेरै उदाहरणहरू दिएर बज्यैलाई पढेलेखेकी छोरी–बुहारी र नातिनीहरूले पनि घर र समाज सम्हालेका छन् ।” बल्ल हिजोअस्तिदेखि उहाँ शान्त हुनुभयो ।
दाजु, कुराकानीको केही अंश प्रस्तुत गर्दै जसले हाम्रा प्रगतिशील विचारका शत्रुहरू कसरी लागेका रहेछन् भन्ने थाहा हुन्छ ।
बज्यैले सोध्नुभयो, “होइन, नानी तिमी सधैँ, त्यो दाइ भन्ने शिक्षककहाँ किन जान्छौ ? अरुले भनेअनुसार त उनी परिवारलाई कुनै फाइदा नहुने काममा लाग्छन् र उनको विचारले केटाकेटीहरूलाई जोगी बनाउँछन् रे !”
“बज्यै, हजुरले भन्नुभए जस्तै उहाँ शिक्षक हुनुहुन्छ, तर उहाँ अरूको लोभलालच गर्नुहुन्न । उहाँ आफूले मेहनत नगरेकोमा कसैले पैसा दिएमा लिनु हुन्न भन्नुहुन्छ । उहाँ अरूको पैसा चिट्ठामा लगाइदिन्छु भनी ठग्नु हुन्न । हरेक महिना चिट्ठा खुल्यो र हाम्रो भाग्य नै नहुँदा चिट्ठा हामीलाई परेन भनी जनतालाई ठग्छन् । हाम्रो शिक्षक त्यस्तो कामको खोइरो खन्नुहुन्छ र धेरै ठगहरू टोलटोलमा बस्न सकेर भागेका छन् र केहीलाई प्रहरीले पक्राउ पनि गरेका छन् ।”
एक दिन पछि बज्यैले फेरि मलाई सम्झाउन कोसिस गर्नुभयो, “हेर नानी, ती शिक्षक अर्कै जातको मान्छे हो रे, ऊ अरू अरूको सेवाको नाममा घर घरमा गएर केटाकेटीलाई फकाउँछन् र रोगको औषधि भनी गुलियो चकलेट भनी बिस्कुट र पोष्टकारी बाँड्छन् रे ! त्यसो हो भने त्यो ठाउँमा किन जाने तिमीहरू ।”
त्यसबेला वाणिज्यशास्त्रका मेरा एक साथीले बज्यैलाई सम्झाइन्, “बज्यै हजुर, हाम्रो शिक्षक नेपाली नै हुनुहुन्छ, विदेशी होइनन्, हाम्रा साथीहरू बिरामी हुँदा घर घरमा गएर औषधि उपचारमा सहयोग गर्नुहुन्थ्यो । औषधि किन्ने, डाक्टर बोलाएर ल्याउने, चर्काे ज्वरो आउँदा पानीपट्टी राख्न सिकाउनुहुन्थ्यो । चुरोट, जाँड र रक्सी नखान सम्झाउनुहुन्थ्यो ।”
अनि बज्यै झस्कनुभयो र भन्नुभयो, “मलाई त आफ्ना नातागोता घर–छिमेकीले पनि झगडा लगाउने काम गरेका रहेछन् । लौ न म नै अल्मलिएकी रहेछु ।”
यसरी बल्ल बल्ल २–४ दिनको छलफलले बज्यैको सहयोग लिँदै छौँ । आजलाई यति भयो, म पुनः नियमित लेख्ने प्रण गर्छु ।
तपार्इँको बहिनी तृप्ती श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *