भर्खरै :

बर्लिनमा वामपन्थी दलको ठुलो जीत

बर्लिनमा वामपन्थी दलको ठुलो जीत

बर्लिन, २१ सेप्टेम्बर । जर्मनीको वामपन्थी पार्टी ‘डाइ लिङ्के’ ले बर्लिन प्रदेशको चुनावमा ठुलो जीत हासिल गरेको छ । पार्टीले करिब २६ प्रतिशत मत ल्याएर उक्त जीत प्राप्त गरेको हो । बर्लिन प्रदेशमा ‘डाइ लिङ्के पार्टी’ को यो पहिलो चुनावी जीत हो । पार्टीले चुनावमा बहुराष्ट्रिय कम्पनीहरूको स्वामित्वमा रहेका आवासहरूलाई राष्ट्रियकरण गर्ने र घरभाडामा सीमा तोक्ने विषयलाई आफ्नो प्रमुख मुद्दा बनाएको थियो ।
मतपरिणाम आएपछि डाइ लिङ्के पार्टीकी मुख्य उम्मेदवार एलिफ एराल्पले सबैसँगको सहकार्यमा बर्लिनमा परिवर्तन ल्याउने बताइन् । एराल्पका आमाबुबा टर्कीका वामपन्थी कार्यकर्ता थिए । सन् १९८० मा टर्कीमा सैनिक विद्रोह भएपछि उनीहरू टर्की छोडेर जर्मनी बसाइँ सरेका थिए ।
निर्वाचनमा जर्मन चान्सलर (प्रधानमन्त्री) फ्रेडरिक मर्जको ‘क्रिस्चियन डेमोक्र्याटिक युनियन पार्टी’ (सीडीयू) दोस्रो स्थानमा सीमित भयो । दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) ले करिब १६ प्रतिशत मत ल्याएर तेस्रो स्थान हासिल गरेको थियो ।
बर्लिनमा जस्तै मेक्लेनबर्ग–वेस्टर्न पोमेरेनिया प्रदेशमा पनि निर्वाचन सम्पन्न भयो । त्यहाँ ‘एएफडी’ ले ३८ प्रतिशत मत ल्याएर सबैभन्दा ठुलो पार्टी बन्ने अनुमान गरिएको छ । सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) ले ३५ प्रतिशत मत पाएको बताइएको छ ।
यस राज्यमा चान्सलर मर्जको पार्टी (सीडीयू) ले ५ प्रतिशतको न्यूनतम मतसीमा पार गर्न सकेन । त्यसैले ‘सीडीयू’ ले प्रदेशसभामा प्रवेश पाउन सकेन । मर्जले यस नतिजालाई ‘ठुलो सङ्कट’ भनेका छन् ।
निर्वाचनमा ‘एसपीडी’ की प्रदेश समिति अध्यक्ष मानुएला स्वेशिगको नेतृत्वमा वामपन्थी दलहरूले गठबन्धन गरेका थिए । सो गठबन्धनले प्रदेश सभामा बहुमत ल्याउन सक्ने सम्भावना छ । चुनावी प्रचारप्रसारको क्रममा स्वेशिगले ‘एएफडी’ लाई विजयी हुनबाट रोक्ने मुद्दालाई चर्को रूपमा उठाएकी थिइन् ।
चुनावी नतिजा आएपछि चान्सलर मर्जमाथि पार्टीभित्रै दबाब बढेको खबर छ । उनलाई पार्टी अध्यक्ष र चान्सलर पदबाट हटाउने सम्भावनाबारे पनि चर्चा हुन थालेको छ । यद्यपि, मर्जले अर्थव्यवस्था, कर प्रणाली र सामाजिक सुरक्षाका क्षेत्रमा सुधारहरू गर्दै अघि बढ्ने बताएका छन् ।
मर्जले भने, “सुधार अनिवार्य छ । यसका लागि साहस, दृढता र धैर्य जरुरी छ ।”
चुनावी नतिजाले जर्मनीमा घरभाडा, महँगी र आर्थिक समस्याप्रति जनताबिच असन्तोष बढिरहेको स्पष्ट हुन्छ । बर्लिनमा डाइ लिङ्केको सफलताले अन्य प्रमुख राजनीतिक दलहरूलाई पनि आवास तथा घरभाडासम्बन्धी समस्या समाधान गर्न दबाब बढाउने देखिन्छ ।
स्रोत : एमआर अनलाइन । सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *