साम्राज्यवादी नीतिको विरोध विश्वभर फैलिँदै
- आश्विन १०, २०८३
गाईजात्राको अवसरमा भक्तपुरको मूल बाटो, दोबाटो, चौबाटो, चोक, दबुमा थुप्रै सांस्कृतिक, आधुनिक नाचगानहरू प्रदर्शन भए । त्यस्तै धेरै नाटक र ख्यालहरू पनि देखाइए । ती नाचगान अनि ख्याल, नाटकहरूमा ५/६ वर्षदेखि २५/३० वर्षका नयाँ पुस्ताका कलाकारहरू गाईजात्रामा नाचेर रमाए । ८०/९० वर्षका ज्येष्ठ अग्रज कलाकारहरू पनि गाईजात्रामा नाचेर रमाए । थुप्रै सांस्कृतिक नाचगान अनि नाटक, ख्यालमा नयाँ पुस्ताका कलाकारहरूले राम्रो, आकर्षक नाचगान, वाद्यवादन र कला प्रस्तुत गरे । त्यसैले भक्तपुर कलाकारहरूको थलो हो भनेर त्यसै भनिएको होइन । उनीहरूमा कुनै न कुनै सीप र कला हुन्छन् । त्यसैले भक्तपुर एउटा विश्वविद्यालय मानिएको हो । भोक–प्यास, घाम–पानी नभनीकन जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म सात रात आठ दिन गाईजात्रा, नाचगान, नाटक ख्यालहरू हेरेर दर्शकहरू रमाउँछन् । यसरी भक्तपुर नगरमा धेरै नाचगानहरूको प्रदर्शन निरन्तर वा जीवित रहनुमा भक्तपुरका जनता, भक्तपुर नगरपालिकाको सधैँ साथ र सहयोग रहनु हो । नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले ऊर्जा दिइरहेको छ ।
गाईजात्रामा अमूर्त सम्पदाअन्तर्गत सांस्कृतिक भेषभूषा, गरगहना, घिन्ताङघिसी, भैरव, महाकाली, देवी, दैत्य, नागाचा, हनुमान, लाखे, मयुर, ख्या, कवांचा, माक, मथु, भौमैँचा, फाकंदली, गाइँचा, साँदेश, कपाय् फेनेगु, कलाँलीचा, जङ्गली, भालु, शेर, सिंह, खिचा, लाहुरे, झ्याउरे, गीतिनाटक आदि नाचगानहरू प्रस्तुत भए । त्यस्तै व्यङ्ग्यात्मक नाटक र ख्याल पनि देखाइयो । ती विभिन्न नाचगानमा जीवनजगत्सम्बन्धी संस्कृति र सभ्यतासँग सम्बन्धित इतिहास, किंवदन्ती र सन्देशहरू छन् । यसले समाज अनि देशलाई सभ्य र सुसंस्कृत बनाउन मद्दत गर्छ । त्यसै अवधिमा दत्तात्रय, बाराहीलगायतका देवी देवताहरूको खट जात्रा, भजनसहित नगर परिक्रमा हँुदै आएको छ ।
भक्तपुरका बाजागाजा र नाचगानमा लाग्दै आएका सांस्कृतिक गुरुहरूलाई नगद पुरस्कारसहित सम्मान, गाईजात्रा मूल्याङ्कनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका नाचगान टोली, कलाकारहरूलाई हरेक वर्ष भक्तपुर नगरपालिकाले सम्मान तथा नगद पुरस्कार प्रदान गरेर हौसला दिँदै आएको हो ।
पञ्चदान पर्व, पुलुकिसी, यामता, मुपात्र, इन्द्रायणी भैरवको जात्रा नगर परिक्रमा, नवदुर्गा, बिस्केटजात्रा र दसैँको भक्तपुरमा विशेष स्थान छ । त्यसैले संस्कृतिविद् जगदीशशमसेर राणाले भक्तपुरलाई त्यसै नाचगानको राजधानी भन्नुभएको होइन । नाचगानहरूको भेषभूषा, मकुन्डो गरगहना, बाजागाजा, हाउभाउ, अभिनय शैली फरक फरक छन् । यसले संवेग, मानसिक, शारीरिक व्यायाम पनि हुने नै भयो ।
घामपानी र पटकपटकको भूकम्पले चर्केका, भत्केका सांस्कृतिक सम्पदाहरू पाँचतले मन्दिर, भैरव मन्दिर, पचपन्न झ्याल दरबार थन्थु दरबार बन्दै छ । नृत्य वत्सला मन्दिरलगायत विभिन्न टोल, ठाउँमा रहेका विभिन्न रूप, आकार, शैलीका सुन्दर मन्दिरहरू भक्तपुर नगरपालिकाले जनताको साथ र सहयोगमा पुनःठड्याएको छ । तर, दरबार क्षेत्रको बेलायती शैलीको राणाकालीन लाल बैठकले कला, संस्कृतिप्रेमी जनताका आँखामा धुलो कसिङ्गरझैँ सधैँ बिझाइरहेको अनुभव गरिरहेकै छन् । भक्तपुर नगरपालिकाले पचपन्न झ्याले दरबार, न्हेकँ छँे दरबार, थन्थु दरबारजस्तै प्रमाणका आधारमा पुरानै शैलीमा भत्काएर लाल बैठक बनाउने अनुमति माग्दा युनेस्कोले (यो पनि सम्पदा हो भनेर) अनुमति दिएको छैन भन्ने सुनिन्छ । यो युनेस्को बेलायती साम्राज्यवादको छायाबाट मुक्त हुन नसकेको सङ्केत पो हो कि !
भक्तपुर नगरपालिकाले भक्तपुरमा पुरानै कलात्मक शैलीको सुन्दर घर बनाउन जनतालाई आर्थिक सहयोग गरेर प्रोत्साहन दिँदै आएको छ । दरबार क्षेत्र लाय्कुमा अवस्थित ताहाफल्चालगायतका टोल–टोलमा रहेका फल्चा (पार्टी) हरू, तचपालको पुजारी मठ, जङ्गममठ, इखालाछी मठलगायतका मठहरू, सत्तलहरू जीर्णोद्वार र पुनः निर्माण गरिसकेको छ । सिद्धपोखरी, रानीपोखरी, भाज्यापुखुलगायतका पोखरीहरू पुनःनिर्माण भएका छन् । हाल सलाँ गणेशको पुखु पनि पुनःनिर्माण गरेर सुन्दर बनाउने काम हुँदै छ । हनुमानघाट, मङ्गलतीर्थलगायतका घाट र तीर्थस्थलहरूको पनि पुनःनिर्माण गर्दै छ । यी सबै मूर्त अमूर्त सम्पदाहरू भक्तपुर नगरपालिकाले सबैको साथ र सहयोगमा पुनः ठड्याएको सबैले देखेकै हुन् ।
भक्तपुर नगरपालिकाले २०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त पारेका सम्पदाहरू २०७२ सालदेखि २०८३ साल साउनसम्ममा भक्तपुरका जनताको साथ र सहयोगमा विदेशीसँग हात नथापिकन आफ्नै खुट्टामा उभेर निर्माण, पुनः निर्माण गरिसकेको छ । स्रोतअनुसार त्यस्ता सम्पदाको सङ्ख्या १८५ पुगेको छ । बाँकी सम्पदाहरू त्यसरी नै सबैको सहयोगमा पुनःनिर्माण हुने क्रम जारी छ । पुनःनिर्माण सम्पन्न भएका सम्पदाहरूमा मन्दिर–४५, पाटी–६७, द्योछेँ – १४, प्रवेशद्वार – ४, पोखरी–१४, इनार – ९, सत्तल – ९, ढुङ्गेधारा–१० र अन्य सम्पदा – १३ रहेका छन् । नगरपालिका क्षेत्रभित्र ५० भन्दा बढी साना ठुला पोखरी, ३६४ वटा पाटी, ८७ वटा ढुङ्गेधारा रहेको तथ्याङ्क छ । जर्मन सम्पदाविद् निल्स गोत्सेले भक्तपुर नगरलाई जीवित सङ्ग्रहालय भनेका छन् । भक्तपुरको अनुसरण गरेर अरु नगरपालिका, गाउँपालिकाहरूले सम्पदा संरक्षण गर्न थालेको सञ्चारमाध्यममा आइरहेका छन् ।
मूर्त अमूर्त सम्पदा हेरेका देखेका, भोगेका अनुभव गरेका सांस्कृतिक सम्पदाको मर्म बुझेका जनता नगरलाई सांस्कृतिक नगर घोषणा गर्न विलम्ब किन भनेर बारम्बार वर्ष प्रश्न गर्दै छन् । जनताको यो माग र आवाजलाई आजका कुनै सरकारहरूले वास्ता गरेका छैनन् । देशमा कान चिरेका सरकारहरू मात्र आए । देशको गौरव, पहिचान भनेको नेपाली कला, संस्कृति हो । जनतालाई आफ्नो देशको मौलिक कला, संस्कृति देश प्यारो र गर्व लाग्छ । यो मर्म र महत्व बुझ्ने, बुझिदिने आफ्नै खुट्टामा उभिने सोच विचार, आचरण भएका मान्छे सरकारमा आएका भए उहीँ बेला, भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गरिसक्थ्यो । अहिले अरु नगरपालिकाहरू पनि जागरुक हुन थालेका छन् । यो देशको लागि गौरव र शुभ सङ्केत हो । नेपाल सरकारले विदेशी मित्र राष्ट्रका सरकार प्रमुखलगायतका विशिष्ट पाहुना तथा पर्यटकलाई छाती फुलाएर नेपाल भनेर स्वदेश र विदेशमा गर्वका साथ चिनाउने, घुमाउने भनेकै यी नै सम्पदाहरू हुन् । आकाश छुने कङ्क्रिट भवन, चौडा बाटाहरू हेर्न पर्यटकहरू धेरै पैसा खर्च गरेर सात समुद्रपारिबाट यहाँ आउँदैनन् । त्यसैले सरकारले भक्तपुर नगरलाई सांस्कृतिक नगर घोषणा गर्न विलम्ब गर्नुहुँदैन ।
Leave a Reply