पूर्वजहरूको योगदानबारे नयाँ पुस्तालाई बोध गराउनु आवश्यक
- आश्विन १०, २०८३
भक्तपुर, १० असोज । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको असोज १७ गते ब्रह्मायणी पीठमा हुने २९ औँ वार्षिक साधारणसभाको जानकारी दिन संस्थाका संस्थापक र पूर्वपदाधिकारीहरूको भेला शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा संस्थाका सल्लाहकार एवम् संस्थापक कृष्णप्रसाद धन्छाले हरेक विज्ञहरूका कुरालाई वास्ता नगर्दा ठुला ठुला विपत्ति सामना गर्नुपरेको र जनधनको क्षति खेप्नुपरेको बताउनुभयो । उहाँले भक्तपुर बचतको संरक्षकत्वमा सञ्चालित भक्तपुर आदर निकेतनमा कुनै पनि कमीकमजोरी हुन नदिन लाग्नुपर्नेमा जोड दिँदै उक्त आदर निकेतनबाट व्यवहारिक पक्ष सिक्नका लागि विभिन्न विद्यालयका विद्यार्थीहरूले नियमित रूपमा अवलोकन भ्रमण गरिरहेको बताउनुभयो ।
उहाँले पँुजीवादी सोचअनुसारको सरकार भएकोले त्यसले निम्नवर्गीय जनताका लागि काम नगर्ने र स–साना पुँजीबाट चलेका सहकारीलाई बन्द गराउन विभिन्न नीतिहरूको निर्माण गरिएको बताउनुभयो ।
संस्थाका संस्थापक एवम् पूर्वअध्यक्ष बलराम प्रजापतिले २९ औँ वार्षिक साधारणसभालाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न संस्थापक र पूर्वपदाधिकारीहरूको साथ र सहयोग हुने बताउनुभयो ।
उहाँले ४० जना संस्थापकहरूबाट रोपेको बीउले आजको अवस्था पाउनु गर्वको कुरा रहेको बताउँदै संस्थाको स्थापनादेखि नै आर्थिक अनुशासन र पारदर्शितालाई अँगाल्दै अघि बढेको बताउनुभयो । विगतमा निकै दुःख र सङ्घर्षबाट हुर्केको जगलाई नयाँ पुस्ताले विभिन्न नीति र विधिका साथ मजबुत बनाएको उहाँ स्पष्ट पार्नुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भक्तपुर बचतलाई अन्य सहकारीहरूले ‘मार्केट लिडर’ का रूपमा हेरिरहेको बताउँदै प्राधिकणलगायतबाट आएका नीति र निर्देशनहरूलाई संस्थाले कसरी लिन्छ भनी सबैले निगरानी गरिरहेको औँल्याउनुभयो । संस्थाको २९ औँ साधारणसभाको तयारीबारे स्पष्ट पार्दै प्राधिकरणको नीति र निर्देशनलाई एक एक पाइला गरी पूरा गर्दै गएको उहाँको भनाइ छ । सहकारी अब स्वनियमनको अवस्थामा नरहेको हुँदा निर्देशन दिने संस्था धेरै हुँदा सहकारी संस्था झन् जटिल र भद्रगोलको अवस्थामा पुग्ने उहाँको तर्क छ ।
संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद कुसीले सरकारले सहकारीप्रति हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै सहकारीलाई एकपछि अर्को निर्देशनबाट उठ्नै नसक्ने अवस्थामा ल्याएको स्पष्ट पार्नुभयो । उहाँले भक्तपुर आदर निकेतनबारे जानकारी दिँदै निरन्तर सञ्चालनका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
संस्थाका संस्थापक केदारमान ज्याख्वले जिज्ञासा राखेको उक्त कार्यक्रममा व्यवस्थापक सत्यनारायण साँयजुले संस्थाको हालसम्मको वित्तीय अवस्थाबारे जानकारी दिनुभयो । भदौ मसान्तसम्ममा संस्थाको वासलात ४ अर्ब ३५ करोड रहेको उक्त संस्थाले प्रदान गर्दै आएको सेवा सुविधाबारे उहाँले स्पष्ट पार्नुभयो ।
Leave a Reply