भर्खरै :

हिमपहिरोपछि अविरल वर्षाबाट पीडित नेपाली

हिमपहिरोपछि अविरल वर्षाबाट पीडित नेपाली

असोज ८ गतेदेखि देशभरि परेको अविरल वर्षयता काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, धोवीखोला, मनोहरा, कोड्कु, कर्मनासलगायत नदीमा पानीको सतह बढ्यो । काठमाडौँ उपत्यका भूकम्पीय जोखिम क्षेत्रमा पनि परेको र यहाँको जमिन भारी संरचना सडक, पुल, भवन थेग्न नसक्ने भएको विज्ञहरूले बताएका छन् । सडक कालोपत्र, पुल डन्डी–सिमेन्ट र ढुङ्गा, घर पनि सिमेन्ट, ढुङ्गा, डण्डीबाट निर्माण गरिँदा वर्षाको पानी सतहमै बगेर नदीको बहाव बढेको पनि विज्ञहरूको मत छ । काठमाडौँ उपत्यकामा बसाइँसराइ बढाइएको हुँदा सडक, पुल, भवन निर्माण पनि बढिरहेको हो । पैँतीस वर्षयताका सरकारहरूमा देशको सन्तुलित विकासतर्फ सोच नहुँदा केही सहरमा मात्र बसाइँसराइ बढेको र सोहीबमोजिम खानेपानी, फोहरमैला, प्रदूषण, सडक जाम, अपराधसमेत बढिरहेको छ ।
जनसङ्ख्याकेन्द्रित गरिएको सङ्घीय राजधानी काठमाडौँसँग जिल्ला जिल्ला जोडिने सडकहरू अविरल वर्षासँगै अवरूद्ध पनि भइरहेका छन् । पृथ्वी राजमार्ग, शान्ति राजमार्ग, नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्धजस्तै हुँदा काठमाडौँ उपत्यकामा महँगी बढेको छ । यसले काठमाडौँमा बसाइँसराइ बढाइएको गलत साबित भइरहेको छ । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको हिमपहिरोयता धादिङको कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि काठमाडौँ उपत्यकामा थप महँगी बढेको सरकारले नियन्त्रण गर्न सकेन ।
यसपटकको अविरल वर्षाले हवाई उडानसमेत बन्द हुनुका साथै कतिपय जिल्लामा विद्यालय पनि बन्द भएका छन् । काभ्रेको बीपी राजमार्ग अवरूद्ध भएको, नमोबुद्ध–६ चौकीडाँडा, रोशी–७ स्थित चारसय वेशी, रोशी–८ गिम्दीवेसी र रोशी–११ माम्ली क्षेत्रमा पहिरो खसेको सार्वजनिक भयो । रोशी खोलामा पहिले पनि बरोबर पहिरो र बाढी आइरहेको हो । रसुवा पासाङल्हामु राजमार्ग बाढीले क्षति पु¥याएको कारण पूर्णरूपमा अवरूद्ध भएको सार्वजनिक भयो । यी जोखिम क्षेत्रहरूमा सम्भावित जनधनको क्षति रोक्ने पूर्वउपायतर्फ सरकारको सचेतता देखिएन ।
लगातारको वर्षाले हिमाली क्षेत्रमा हिमपात हुनुका साथै लामो दूरीका बस बन्द भइरहेको छ । मुस्ताङको ४ हजार ६ सय १० मिटर उचाइमा रहेको कोरला नाकामा यतिबेला बेमौसमी हिमपात भएको सार्वजनिक भयो । भारतले यहीबेला उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध खोल्ने सार्वजनिक ग¥यो । यसले महाकाली नदीमा बहाव बढ्ने र दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका तटीय क्षेत्रका बासिन्दालाई जोखिम बढ्नेछ । यसतर्फ पनि सरकार सचेत हुनु जरूरी छ ।
रसुवाको भोटेकोसी हिमपहिरोबाट पीडित नुवाकोटमा अस्थायी टहरामा बस्दै आएका परिवार अहिलेको निरन्तर वर्षामा थप पीडित छन् । भोटेकोसी हिमपहिरो पीडित जनताको पुनःस्थापनाको लागि करिब चार खर्ब रुपैयाँ आवश्यक हुने सार्वजनिक भयो । यतिखेर नेपाली जनता महँगी, बेरोजगारी, भ्रष्टाचार, सार्वजनिक ऋणको पीडामा छन् । गत वर्ष भदौ २३ र २४ गतेको उपद्रव यता नेपाली जनता सङ्कटमा छन् । यसकारण जनता थप सचेत हुनु जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *