भर्खरै :

पूर्वजहरूको योगदानबारे नयाँ पुस्तालाई बोध गराउनु आवश्यक

पूर्वजहरूको योगदानबारे नयाँ पुस्तालाई बोध गराउनु आवश्यक

भक्तपुर, १० असोज । संगम बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य गोसाईले एकता र सहकार्यकै कारण भक्तपुरले आजको स्वरूपमा आफूलाई विकास गरेको उल्लेख गर्दै भन्नुभयो, “असल नेतृत्व, नीति र नियतका साथ गरिएका हरेक क्रियाकलापको सधैँ सकारात्मक प्रतिफल प्राप्त हुन्छ ।”
उहाँले भन्नुभयो, “सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा भक्तपुरमा भएको काम नेपालकै लागि नमुनाका रूपमा लिन थालिएको छ । आजको अवस्था ल्याउन हाम्रा पूर्वजहरूले गरेको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई यसको महत्वबारे बोध गराउनु आवश्यक छ ।”
समाजका जिम्मेवार नागरिकको हैसियतले सबैले समाजप्रति जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद गोसाईले भन्नुभयो, “समाजप्रति जिम्मेवार भएर गरिएका असल कामको सधैँ सराहना गर्दै गलत तत्वको डटेर प्रतिरोध गर्न सकेमा समाज प्रगतिको बाटोमा हिँड्छ ।”
उहाँले भन्नुभयो, “जिम्मेवार सहकारी संस्थाले आफ्ना सदस्यहरूको उमेर संरचना, पेसा र आवश्यकताअनुसार समूहगत छलफल सञ्चालन गर्नु जरुरी छ । यसले सदस्यहरूलाई संस्थाप्रति बढी भरोसा जगाउँछ† जिम्मेवारी पनि इमानदारीका साथ बहन गर्ने वातावरण निर्माण हुन्छ ।”
भक्तपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले साधारणसभाको सफलताको कामना गर्दै भक्तपुरमा सञ्चालित सहकारी संस्थाहरू सुरक्षित रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले शिशुस्याहारदेखि ज्येष्ठ नागरिक आश्रमसम्मका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै भक्तपुर नगरपालिकाले इतिहास, भूगोल, संस्कृति, अर्थशास्त्रलगायत विषयमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का सचिव जगन्नाथ प्रजापतिले सहकारी संस्था र सदस्य एकअर्काका परिपूरक भएको बताउँदै केही सहकारी संस्थामा भएका बदमासीका कारण समग्र सहकारी क्षेत्रलाई नियमनको नाममा नियन्त्रण गर्नु गलत भएको धारणा राख्नुभयो ।
संस्थाका सल्लाहकार न्हुछेराम भेलेले सहकारी क्षेत्रको काम बचत र ऋणसँग मात्र सम्बन्धित नभएकोले सदस्यहरूलाई सामाजिक तथा सांस्कृतिक पक्षबाट समेत शिक्षित बनाउनुपर्ने सुझाव दिनुभयो ।
अर्का सल्लाहकार राजाराम चवालले संस्थाको स्थापनाको प्रसङ्ग स्मरण गर्दै श्रमिक तथा किसानहरूले सानातिना आर्थिक समस्या समाधानको लागि साहुमहाजनको मुख ताक्नुपर्ने अवस्थामा संगम बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको बताउनुभयो ।
संस्थाका अध्यक्ष बलराम सिबन्जारको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष शिवराम किजूले स्वागत मन्तव्य र सञ्चालक सदस्य रामसुन्दर ख्याजुले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बन्दसत्रमा संस्थाका सचिव विजय लोहलाद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष बलराम नागाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा बजेट र लेखा समितिका संयोजक पुण्यराम भेलेले प्रस्तुत गर्नुभएको प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
बन्दसत्रमा निर्वाचन समितिका संयोजक न्हुछेराम भेलेको संयोजकत्वमा गठित निर्वाचन समितिले विद्यमान सञ्चालक समिति र लेखा समितिको कार्यकाल पूरा भएकोले ती समिति भङ्ग गरी निर्वाचन निर्देशिकाअनुसार प्रकाशित तालिकाबमोजिम उम्मेदवारी दर्ता गरेका सञ्चालक समिति र लेखा समितिका नयाँ पदाधिकारी निर्वाचित भएको घोषणा गरेको थियो ।
बन्दसत्रले निर्वाचन समितिको घोषणाअनुसार बलराम सिबन्जारको अध्यक्षतामा नयाँ सञ्चालक समिति र पुण्यराम भेलेको संयोजकत्वमा नयाँ लेखा समिति निर्वाचित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *