नेपालमा संसद् विघटनको सृङ्खला (२०१७–२०८२) दस पटक विघटनको सिफारिस, पाँच कार्यान्वयन र सर्वोच्च अदालतको व्याख्या
- आश्विन १२, २०८३
सांस्कृतिक नगर तथा नाचगानको राजधानीका रूपमा परिचित भक्तपुर मूर्त र अमूर्त सम्पदाले भरिएको नगर हो । टोल–टोलमा रहेका मठ–मन्दिर, देवालय, शिवालय, पाटी, सत्तल, ढुङ्गेधारा, पोखरीहरू लिच्छविकालीन र मल्लकालीन इतिहासका जीवन्त प्रमाण हुन् । त्यसैगरी परम्परागत नाचहरू, दाफा–भजनहरू र अन्य थुप्रै अमूर्त सम्पदाहरू पनि यहाँ जीवित छन् । समयक्रमसँगै कैयौँ महत्वपूर्ण मूर्त र अमूर्त सम्पदा लोप भइसके भने कैयौँ लोपोन्मुख अवस्थामा पुगे । भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको नीति लिएदेखि भने त्यस्ता सम्पदा लोप हुन पाएनन् मात्र होइन, धेरैले पुनर्जीवन पाए । नगरपालिकाले अधिकांश सम्पदालाई पुरानै मौलिक स्वरूपमा फर्काउने प्रयास गर्दै आएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले ठुलो धनजनको क्षतिसँगै भक्तपुरका सयौँ अमूल्य सम्पदामा पनि ठुलो क्षति पु¥यायो । विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले मन्दिर), भैरवनाथ मन्दिर, वत्सला मन्दिरदेखि लिएर नगरका साना–ठुला गरी सयौँ सम्पदामा आंशिक तथा पूर्ण क्षति भयो । त्यतिबेला देशैभरका स्थानीय निकाय जनप्रतिनिधिविहीन थिए । भूकम्पपीडितलाई सहयोग गर्ने नाममा विभिन्न देशका एनजीओ, आईएनजीओहरू पैसाको झोला बोकेर नेपाल आइपुगे ।
सोही क्रममा नेपाल सरकारले भक्तपुरको सम्पदा संरक्षणका लागि जर्मनी सरकारसँग १ करोड युरो (नेरु. करिब १ अर्ब २० करोड) सहयोगको सम्झौता ग¥यो । त्यो भक्तपुरका १० वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धारका लागि थियो । नगरपालिकामा जनप्रतिनिधिविहीनताको फाइदा उठाउँदै जर्मनहरू भक्तपुर आवतजावत गर्न थाले । नेपाल सरकारको निर्णयलाई त्यतिबेला नगरपालिकाका कार्यकारी अधिकृतले अस्वीकार गर्न सक्ने अवस्था थिएन ।
२०७४ साल वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भक्तपुर नगरपालिकामा सम्पूर्ण जनप्रतिनिधि नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएपछि शिक्षा, स्वास्थ्य, सरसफाइजस्ता आधारभूत कामसँगै सम्पदा पुनर्निर्माणलाई पनि प्राथमिकताका साथ अगाडि बढाइयो । नेपाल सरकारले जर्मन विकास बैङ्क (केएफडब्लू) सँग गरेको सम्झौताका कारण भक्तपुर नगरपालिकाले सम्पदा पुनर्निर्माणको काम अगाडि बढाउन सकिरहेको थिएन ।
सम्झौतामा जर्मनीको अनुदान रकमको लेखापरीक्षण उनीहरूकै लेखापरीक्षकले गर्ने, मुद्दा परेको खण्डमा जर्मनीको कानुनअनुसार जर्मनीमै मुद्दा चलाउने, प्राविधिकहरूको निर्देशक समिति जर्मनी पक्षले बनाउने, त्यसको सिफारिसमा मात्र सामान खरिद गर्ने तथा आवश्यक परेमा डन्डी, सिमेन्ट पनि प्रयोग गर्ने, पुनर्निर्माणको काम ठेक्कामा गराउनेजस्ता बुँदा थिए । त्यसबारे पटक–पटक छलफल भए पनि जर्मनी पक्ष सम्झौता संशोधनको पक्षमा थिएन ।
अन्ततः नगरपालिका जनताको भावनाअनुसार सशर्त विदेशी अनुदान नस्वीकार्ने निष्कर्षमा पुग्यो । जनताको सहयोगमा सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्ने नगरपालिकाको निर्णयपछि वडावडामा जनताको श्रमदान र सहयोगमा सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धारका काम भए । जनताको भावनात्मक एकताले छोटो समयमा भक्तपुरका सम्पदा उठ्न थाले । स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग गरी मौलिक स्वरूपमा बनेका सम्पदाले आज भक्तपुरवासीलाई गौरव गर्ने अवसर दिएका छन् ।
भक्तपुर नगरपालिकाले उपभोक्ता समितिमार्फत पुनर्निर्माण र जीर्णोद्धारको कामलाई अगाडि बढायो । पुर्खाले निर्माण गरेका सम्पदाको पुनर्निर्माण आफ्नै हातबाट गर्न पाउँदा स्थानीय जनता खुसी भए । जनताले सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धारका लागि टोल–टोलबाट आफैँ उठेर श्रमदान गरे, आर्थिक तथा जिन्सी सहयोग गरे र गर्दै आएका छन् ।
२०७४–०७९ सालसम्मको पहिलो कार्यकालमा पाँचतले मन्दिर, भैरवनाथ मन्दिरजस्ता महत्वपूर्ण सम्पदाको जीर्णोद्धारका साथै पाटी, ढुङ्गेधारा, सत्तल, इनार, पोखरी गरी १२४ वटाभन्दा बढी सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भए ।
२०७९ सालमा दोस्रो पटकको निर्वाचनपछि पनि जनप्रतिनिधिहरूले उक्त कार्यलाई निरन्तरता दिइरहे । भाज्या पोखरी, रानी पोखरी, लक्ष्मीनरसिंह मन्दिरजस्ता महत्वपूर्ण सम्पदाको काम पछिल्लो कार्यकालमा सम्पन्न भएका हुन् । दुई कार्यकालमा गरी अहिलेसम्म मूर्त सम्पदाअन्तर्गत मठ, मन्दिर, ढुङ्गेधारा, पोखरी, सत्तल, पाटीलगायत १८५ वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भइसकेका छन् भने डेढ दर्जनजति सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार भइरहेको छ । छिट्टै नै ती पनि सम्पन्न हुने क्रममा छन् ।
भक्तपुरको मौलिकता जोगाउन नगरपालिकाले कानुन बनाएर प्राचीन नगर क्षेत्रभित्र घर पुनर्निर्माण वा नवनिर्माण गर्नेहरूका लागि मोहडामा लाग्ने काठ, इँटा र झिङ्गटीमा अनुदानको व्यवस्था गर्दै आएको छ । त्यो भक्तपुरको मौलिकता जोगाउन नगरवासीलाई प्रोत्साहनस्वरूप दिइएको विशेष व्यवस्था हो । त्यसले भूकम्पले भत्केका धेरै निजी घर पनि मौलिक स्वरूपमै बनाउन थालिएको छ । सम्पदाले मात्र होइन, निजी घरहरूले पनि भक्तपुरको मौलिकता झल्काइरहेका छन् ।
नगरपालिकाले सम्पदालाई जीवन्तता दिन योगदान गर्ने दाफा, भजन र सांस्कृतिक गुरूहरूको हरेक वर्ष सम्मान गर्दै आएको छ । यसले अमूर्त सम्पदा, बाजा, दाफा, भजन तथा परम्परागत नाचलाई जीवन्तता दिन योगदान गर्ने सांस्कृतिक गुरूहरूमा उत्साह मिलेको पाइएको छ । आफ्नो योगदानको मूल्याङ्कन भएकोमा गुरूहरू खुसी देखिन्छन् ।
भक्तपुरमा थुप्रै अभौतिक अर्थात् अमूर्त सम्पदा पनि छन् । ती सबै जनताका साझा सम्पत्ति हुन् । भक्तपुर नगरपालिका राज्यको सम्पत्ति संरक्षण गर्ने काममा सचेततापूर्वक लाग्दै आएको छ । भक्तपुरका अभौतिक सम्पदालाई राष्ट्रिय सूचीकरणमा समावेश गर्न जुजु धौ, भादगाउँले टोपी, कवांचा प्याखँ, घातु म्ये, कसिमला पाँय्लगायतका लागि सम्बन्धित कार्यालयमा निवेदन पेस भइसकेको छ । हालसम्म औपचारिक रूपमा सूचीकरण भएको जानकारी प्राप्त भएको छैन । यद्यपि, नगरपालिकाको प्रयास भने जारी छ ।
यस नगरको दरबार क्षेत्र विश्व सम्पदामा सूचिकृत क्षेत्र पनि हो । अमेरिकी नागरिक ई. ए. पावेलले सन् १९२० तिर नेपाल भ्रमणको क्रममा भनेका थिए, “नेपालमा भक्तपुर दरबार क्षेत्रबाहेक अरू केही बाँकी रहेन भने पनि त्यसलाई हेर्नका लागि मात्रै पनि पृथ्वीको आधा चक्कर कट्नुसरह हुन्छ ।”
त्यस्तो महत्वपूर्ण नगरका नागरिक गौरवान्वित हुनुपर्छ । त्यस नगरलाई जर्मन वास्तुकलाविद् नील गोत्सोले संसारकै ठुलो जीवित सङ्ग्रहालय भनेका छन् । त्यस्तै संस्कृतिविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको राजधानीको संज्ञा दिएका छन् ।
हाम्रो प्राचीन संस्कृति र सम्पदा नै हाम्रो पहिचान हो । हाम्रो भाषा, संस्कृति र सम्पदा रहेनन् भने हाम्रो पहिचान क्रमशः समाप्त भएर जानेछ । यसबारे सम्पूर्ण भक्तपुरवासी जनता सचेत हुन जरूरी छ । भक्तपुरका जीवित कला र संस्कृति नै भक्तपुरवासीको सान र मान हुन् ।
भक्तपुरवासी मिलेर जुन भावनाले यहाँका सम्पदाको संरक्षण गरिरहेका छन्, त्यसको नेपालीले मात्र होइन, विश्वले नै प्रशंसा गरिरहेको छ । यसलाई अझै निरन्तरता दिँदै अघि बढ्नु आजको नयाँ पुस्ताको जिम्मेवारी र कर्तव्य हो ।
Leave a Reply