शासक दलहरू सैद्धान्तिक प्रश्नमा किन बोल्दैनन् ?
- आश्विन १२, २०८३
मौसम अध्येताहरूले असोज ८ देखि १२ गतेसम्म देशभरि नै भारी वर्षा हुने पूर्वानुमान गरी सतर्क हुन आग्रह गरेका थिए । रास्वपा सरकार पनि पूर्वसूचना प्रवाहसहित देशभरि १६–१७ हजार सुरक्षाकर्मी खटाएको दाबी गर्दै छ । तर, अविरल वर्षामा गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, मुस्ताङ जिल्ला सबभन्दा बढी प्रभावित भएको सार्वजनिक भयो । असोज ९, १० र ११ गते तीन दिनको भारी वर्षासँगै पहिरोमा परेर २४ जनाको मृत्यु र १४ जना बेपत्ता भएको सार्वजनिक भयो । देशभरि २५६ ठाउँमा पहिरो गएको, १४३ घर पूर्णरूपमा क्षति भएको र ७४७ परिवार प्रत्यक्ष प्रभावित भएको बाहिरियो ।
अविरल वर्षाको कारण सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, काठमाडौँ–फाखेल–हेटौँडा सडक, दक्षिणकाली–सिस्नेरी–हेटौँडा सडक, त्रिभुवन राजपथ अवरुद्ध भएको सार्वजनिक भयो । नारायणी नदीमा पानीको बहाव इतिहासकै उच्च बिन्दुमा पुगेको र जलमापन केन्द्र देवघाटमा पानीको सतह ११.९१ मिटर पुग्यो । नारायणी नदीमा २०८१ असोज १२ गते ११.६ मिटर जलमापन पुगेको थियो । यो नदीमा जलमापन ९ मिटर पुग्नुलाई खतरा मानिन्छ ।
केही महिनाअघि नेपाल–भारत खुला सीमा रहेको नवलपरासीको सुस्तामा दुई देशको सीमाको रूपमा रहेको रुख बाढीले बगाएको सार्वजनिक भयो । वि.स. २०२२ सालयता नेपालको सुस्तामा भारतीय विस्तारवादको अतिक्रमण बढेको र झन्डै काठमाडौँ उपत्यकाको एकतिहाइ भूभाग बराबर भारतले मिचेको बाहिरियो । यतिबेला भारी वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी पसेको र प्रभावित बसोबासी थारु टोलका ८ सत्न्दा बढीलाई डुङ्गाको सहारामा सुरक्षित स्थानमा लगिएको थियो । यही मौकामा भारतीय विस्तारवादले सुस्तामा नेपाली भूमि अतिक्रमण तीव्र पार्ने खतरा बढ्यो ।
अविरल वर्षाले सर्लाहीको मलङ्गवा क्षेत्र डुबानमा प¥यो । मकवानपुरको ज्यामिरेमा जमिन चिरिएर करिब चार फिटसम्म तल सरेपछि बस्ती जोखिममा प¥यो भने स्थानीयलाई सुरक्षित स्थानमा सारियो । सिराहाको कमला नदीमा पानीको बहाव प्रतिसेकेन्ड नौ सय क्युसेक पुगेपछि बाँधलाई क्षति हुन नदिन बालुवाको बोरा राखियो ।
बाढीपहिरोको जोखिमलाई ध्यानमा राखी सुदरपश्चिमका भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग, जयपृथ्वी राजमार्ग बन्द गरियो । कर्णाली राजमार्गको कालिकोटस्थित गगने खोला र राप्ती राजमार्गको सल्यानस्थित कपुरकोट खण्ड अवरुद्ध भयो । हुम्लास्थित सर्केगाड खण्ड,मुगुको नाग्म–गमगढी सडक र बाजुराको साँफे–मार्तडी सडक पनि अवरूद्ध भयो ।
नेपाल मजदुर किसान पार्टीले २०४६ सालयता नेपालको हिमाली र पहाडी क्षेत्रमा रोपवे, सुरूङ मार्ग, केवलकारले जोड्नुपर्ने विषय सडक र संसद्मा उठाउँदै आएको हो । सरकारहरूले यो आवाजलाई बेवास्ता गरेको हुँदा आज सङ्कट गहिरिँदै छ ।
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको हिमपहिरोबाट धेरै जनधनको क्षति भएको पीडा सेलाउन नपाउँदै असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले थप जनधनको क्षति भयो । भोटेकोसी हिमपहिरोमा परेर मृत्यु भएकाहरूको बाँचेका परिवार ४६२७ र उद्धार गरिएका १३७२८ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । बाढीले ८६९२ घरधुरी बगाएको, ७५७० घर जीर्ण पारेको र २८२ घरलाई आंशिक क्षति पु¥याएको, सार्वजनिक निकायको भवन ४८, विद्यालय भवन १९, बैङ्क तथा वित्तीय संस्थाको भवन १४ बगाएको सार्वजनिक भयो ।
बाढीले कृषियोग्य भूमि १८०६ हेक्टर, ५५ किमि सडक, ३७ गाडी गुड्ने पुल, ६८ झोलुँगे पुल बगायो । क्षति पुनःस्थापनाको लागि जुटेको १४ अर्ब कोष हेलिकप्टर उडानमा खर्च भएको पनि सार्वजनिक भयो । पुनःनिर्माणको लागि ७–८ खर्ब लाग्ने हुँदा नेपाली जनतालाई थप भार हुनेछ ।
भूकम्प, कोभिड, बाढी, पहिरोलगायत सङ्कट र निर्वाचनमा केही उद्योगी–व्यापारीहरू कुम्ल्याउने धन्दामा लाग्छन् । यसकारण, पनि थप सङ्कट आउँदै छ । यतिबेला रास्वपा सरकार सचेत नभएको हुँदा नेपाली जनता नै सचेत हुनु जरूरी छ ।
Leave a Reply