नेपालमा संसद् विघटनको सृङ्खला (२०१७–२०८२) दस पटक विघटनको सिफारिस, पाँच कार्यान्वयन र सर्वोच्च अदालतको व्याख्या
- आश्विन १२, २०८३
हिन्दू र हिन्दूत्वलाई केन्द्रमा राखेर राजनीतिक अभियान चलाई सन् २०१४ देखि भारतमा भारतीय जनता पार्टी (बीजेपी) केन्द्रीय सत्तामा आयो । यही नारा र अभियानलाई तीव्र बनाउँदै हिन्दूत्वको भावनालाई क्यास गर्न पुराना स्थान, रोड विशेषको नाम परिवर्तनदेखि विश्वविद्यालयहरूमा अनावश्यक हस्तक्षेप, पाठ्यक्रममा जहातही हिन्दूत्व घुसाउनेदेखि सदियौँं पुरानो बाबरी मस्जिद भत्काई राममन्दिर निर्माणसमेत गरे । यसकै बाछिटा हामीसम्म उछिटिएर आएको समेत आशङ्का गर्न नसकिने होइन ।
मानव समाजमा धर्म र धार्मिक आस्थालाई संवेदनशील मानिन्छ । संसारका विभिन्न देशहरूमा धर्म र धार्मिक क्रियाकलापहरूको कारण व्यक्ति–व्यक्तिबिच वा निश्चित समूहबिच बेला मौकामा स–साना विवाददेखि ठुल्ठुलो दङ्गाफसाद र हत्या–हिंसाका घटनाहरू भएको धेरै उदाहरणहरू छन् । नेपालमा धार्मिक सहिष्णुताको परम्परा कायम भइरहेको हँुदा विगतमा यस्ता धार्मिक द्वन्द्वका घटनाहरू विरलै मात्र भएको पाइन्छ । नेपालको उत्तरी छिमेक चीनमा यस्तो घटनाका बारेमा हामी सुन्दैनौँ तर दक्षिण छिमेकी भारतमा भने समय समयमा यस्ता घटना दोहरिरहेको पाउछौँ । नेपालका नेताहरू स्वयं यस्ता धार्मिक अभिव्यक्ति र क्रियाकलापका कारण कहिलेकाहीँ विवादित भएका छन् ।
हिजोका नेताहरूले धर्म र धार्मिक संस्कार र धर्म गुरूहरूप्रति देखाएको मोहले राजनीतिक दबुमा ठुलै खैलाबैला मच्चाएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मकर मेलाको बेला पनौतीको रोशी खोलाको पानीमा डुबुल्की मारेको घटना होस् वा पूर्वराजा ज्ञानेन्द्र र अन्य नेताहरूको कालीबाबाको चरणकमलमा नतमस्त परेको सन्दर्भ होस् वा एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो ग्रहदशा शान्त गर्न महिषा पूजा गरेको प्रसङ्ग नै किन नहोस् । होलि वाइनको कथा र देउवाको जोतिषी मोह र हालै सिङ्गापुरबाट नेपाल फर्कदै गर्दा “म हिन्दू हँु, म हिन्दू हँु, हिन्दू हँु” भनी दिएको अभिव्यक्ति उत्तिकै विवादित

फेड्रिक म्याक्स मुलर
भयो । यही क्रममा युवा प्रधानमन्त्री स्ट्रकचरल इन्जिनियर बालेन शाहले समेत प्रधानमन्त्रीको शपथको दिनलाई ग्रहदशाको आधारमा तय गरेको प्रचारबाजी र अन्य पूजा–पाठको तामझाम देखाए । त्यस्तै, जेनजी आन्दोलनको वर्षगाँठ मान्न आयोजना गरिएको सभामा गृहमन्त्री सुधन गुरूङले तराईमा धार्मिक द्वन्द्व फैलाउन मूल भूमिका खेलेका श्वेताम्बर वस्त्रधारण गरी हिँड्ने दिनेश पण्डित र ठगीधन्दामा विवादित पीताम्बर वस्त्रधारण गरी हिँड्ने विजय भण्डारीलाई दायाँबायाँ राखेर कार्यक्रम चलाए । धर्मप्रति आस्थाका कारण यस्ता कुरातिर नेताहरू लागेका हुन् वा अन्य कुनै राजनीतिक उद्देश्य यसमा अन्तरनिहित छ भन्ने आशङ्का उठ्नु अस्वाभाविक होइन । यस्तो आशङ्काका आधारहरू पनि नभएका होइनन् ।
हिन्दू र हिन्दूत्वलाई केन्द्रमा राखेर राजनीतिक अभियान चलाई सन् २०१४ देखि भारतमा भारतीय जनता पार्टी (बीजेपी) केन्द्रीय सत्तामा आयो । यही नारा र अभियानलाई तीव्र बनाउँदै हिन्दूत्वको भावनालाई क्यास गर्न पुराना स्थान, रोड विशेषको नाम परिवर्तनदेखि विश्वविद्यालयहरूमा अनावश्यक हस्तक्षेप, पाठ्यक्रममा जहाँतहीँ हिन्दूत्व घुसाउनेदेखि सदियौँं पुरानो बाबरी मस्जिद भत्काई राममन्दिर निर्माणसमेत गरे । यसकै बाछिटा हामीसम्म उछिटिएर आएको समेत आशङ्का गर्न नसकिने होइन । एउटा धर्म निरपेक्ष घोषित देशमै सरकार स्वयंले यस्तोसम्मको धार्मिक क्रियाकलाप गरिरहँदा अन्य अल्पसङ्ख्य धर्मावलम्बीहरू कति पिल्सिए होलान् । यही सन्दर्भमा धर्म र यसको उदय र समाजमा यसको भूमिका र कार्य कस्तो हुन्छ भन्ने सम्बन्धमा यस छोटो आलेखमा मानवशास्त्रीय र समाजशास्त्रीय दृष्टिकोणको चर्चा गर्ने जर्मको गरिएको छ ।
समाजमा धर्मको उदय र उद्विकास
मानव समाज र सभ्यता जति पुरानो मानिन्छ त्यति नै पुरानो धर्म पनि । आदिमकालदेखि आजको समाजसम्म धर्मलाई मानव जीवनको अभिन्न अङ्गको रूपमा स्वीकार्दै आएको देखिन्छ । वैयक्तिक कुरादेखि उसको समुदाय र त्यसको सामाजिक घटना र परिघटना, राजनीति र अर्थतन्त्रमा समेत धर्मको प्रभाव प्रबल रहेको हुन्छ । त्यसैले, धर्म संवेदनशील हुन्छ । यही संवेदनशीलताको कारणले धर्मको नाउँमा इतिहासको विभिन्न कालखण्डहरूमा ठुला–ठुला युद्धहरूसमेत भए र सोही कारण विभिन्न चिन्तकहरूको लागि यो चासोको विषय हुन गयो ।
समाजमा धर्मको उत्पत्ति कसरी र कहिल्यैदेखि भयो भन्नेबारे सर्वसम्मत अवधारणा पाइँदैन । धर्मको उद्भव र उद्विकासको बारेमा मानवशास्त्री र इतिहासविद्हरूले उन्नाइसौँ शताब्दीतिर अन्वेषण र विश्लेषण गर्ने कोसिस गरेका थिए भने समाजशास्त्रीहरूले धर्मको कार्य र भूमिका समाजमा कस्तो रहेको भनी विश्लेषण गरेको पाइन्छ ।
बेलायती मानवशास्त्री सर एडवार्ड बर्नेट टेलर (Sir Edward Burnett Tylor -EB Tylor), जर्मन चिन्तक एवं भाषाविज्ञ जसलाई धर्मको पहिलो इतिहासकार पनि मानिन्छ फेडरिक म्याक्स मुलर (Fredric Max Muiiler) र रूडोल्फ ओटोले (Rudolf Otto) पहिलो पल्ट धर्मको उत्पत्तिको बारेमा व्यवस्थित अध्ययन गरेको देखिन्छ । टेलरका अनुसार आदिम मानवको बौद्धिक उत्सुकताको कारणले मानव जीवनका विभिन्न प्रक्रियाहरू जस्तै :– सपना, अर्धचेतना, जन्म, मृत्यु किन र कसरी भयो भन्ने प्रश्नको जवाफ खोज्ने सिलसिलामा धर्मको उदय भएको हो । उनका अनुसार आदिम मानवको त्यस जिज्ञासाले आत्मवाद वा जडात्मवाद (animism) लाई जन्म दियो । जसअनुसार मानव शरीरमा आत्माको बास हुन्छ जसले शरीरलाई चलायमान तुल्याउँछ । आत्माले शरीरलाई दुई प्रकारले त्याग्छ, अस्थायी रूपमा र स्थायी रूपमा । जब आत्माले अस्थायी रूपमा शरीरलाई त्याग्छ, मानिस अर्धचेत वा निद्रामा पर्छ र जब स्थायी रूपमा छोड्छ शरीर निष्प्राण वा उसको मृत्यु हुन्छ । टेलरका अनुसार यसपश्चात् नै मृतात्माको (दिवङ्गत आफ्ना पुर्खाहरूको) पूजा गर्ने वा श्राद्ध गर्ने चलन चलेको हुनुपर्छ । टेलरको यस विश्लेषणप्रति सहम

सर एडवार्ड रनेट टेलर
ति र असहमति दुवै व्यक्त गर्दै एफ म्याक्स मुलरले प्रकृतिवादको (naturism) विचारलाई अगाडि सारे । मुलरका अनुसार प्राग्ऐतिहासिक मानवको बौद्धिकभन्दा संवेगात्मक आवश्यकताले धर्मको उद्भव भएको हो । ज्वालामुखी विस्फोटन, आँधीहुरी, मेघगर्जन र बिजुली चम्काइजस्ता प्राकृतिक घटनाहरूले आदिम मानवलाई भयभित, चकित, हर्षित र दुखित तुल्यायो । यी नै मानव संवेगका कारण यी घटनाहरू किन र कसरी भयो भन्ने जिज्ञासाले प्रकृतिवादलाई जन्म दियो । यसअनुसार जसरी मानव शरीरलाई आत्माले जीवन्त तुल्याउँछ त्यसरी नै आत्माका कारणले प्रकृति पनि । टेलर र मुलरका यी विश्लेषणलाई मनन गर्दा जीवन र जगतलाई बुझ्ने प्रयास स्वरूप नै धर्मको प्रादुर्भाव भएकोले धर्मलाई आदिम दर्शन (primitive philosophy) पनि भनिन्छ । यसरी उद्भव भएको धर्मको रूप र आकार समय परिवर्तन भएअनुसार बहुईश्वरवाद (polytheism) बाट एकेश्वरवाद (monotheism) मा परिणत भएको विचार टेलर राख्छन् ।
समाजमा धर्मको भूमिका
धर्मको जुनसुकै रूप र आकार भए पनि यसको भूमिका समाजलाई एकताबद्ध गर्न नै मद्दत गर्ने गरेकोे विचार प्रकार्यवादी (functionalist) समाजशास्त्रीहरू राख्छन् । इमाइल दुर्खिम, ब्रनिस्ल मानिलोभोस्की, टाल्कोट पार्सनका अनुसार धर्म समाजमा सदस्यहरूको साझा आस्था र विश्वास भएकाले तिनीहरूबिच एकता रही समाज सुव्यवस्थित रूपमा अगाडि बढ्न यसले मद्दत गरेको हुन्छ । मानव सामाजिक जीवनमा दुःख, कष्ट, पीडा, डर, त्रास, भयजस्ता सङ्कटहरू (Life Crises) पनि आउँछन् मालिनोभोस्कीका अनुसार । यसबाट त्रान पाउन धर्म र धार्मिक संस्कारहरूले समाजलाई मद्दत गरिरहेका हुन्छन् । उनका अनुसार मृत्यु एउटा यस्तो सङ्कट हो जसबाट परिवारजन मर्माहत हुन्छन् र त्यसबेला समुदायका अन्य सदस्यहरूले सामूहिक रूपमा गर्ने शवयात्रा र अन्य धार्मिक सस्कारहरूले शोकाकुल परिवारलाई जीवन र समाजबाट विचलित हुनबाट रोक्दै जीवनलाई पुनःसामान्य बनाउन मद्दत गर्दछ । टाल्कोट पारसनका अनुुुसार कुनै व्यक्ति वा समुदायको व्यवहार उनको संस्कृतिमा निर्भर हुन्छ र संस्कृति धर्ममा । मानव जीवनमा धेरै कुरा उनको नियन्त्रणभन्दा बाहिर हुन्छन् । खेतीपाती गर्न अनुकूल मौसमको पूर्वानुमान उसले गर्न नसक्ने भएकोले विभिन्न धार्मिक संस्कारमार्फत उसले त्यस परिस्थितिको सामना गर्न आत्मविश्वास हासिल गर्छ । यसरी धर्मले समाजमा स्थायित्व कायम गर्न विभिन्न राहत प्रदान गरिरहेको हुन्छ ।
समाजमा धर्मको भूमिकाको बारेमा माक्र्सवादी दृष्टिकोण भने यसभन्दा भिन्न रहेको छ । समाजमा विशेष सुविधा प्राप्त वर्गले शोषित र निमुखा जनतामाथि गरिरहेको दमन र शोषणलाई उचित ठह¥याउन धर्मको सहायता लिएको हुन्छ । माक्र्सको आफ्नै शब्दमा, ‘धर्म शोषितहरूको सुस्केरा हो, हृदयविहीन संसारको हृदय हो, आत्माविहीन अवस्थाको आत्मा हो र जनताको लागि अफिम हो ।’
माक्र्सका अनुसार वास्तविक जीवनमा दुःखमा पिल्सिएका गरिब र असहायले धर्मको माध्यमले केही सान्त्वना पाउँछ । लोभ, पाप र अन्यायपूर्ण वास्तविक जीवनमा बेसहारा गरिबले धर्मबाट न्यानो मायाको अनुभूति मात्र गर्छ । अफिमले घाउ निको पार्दैन बरू ठुलोभन्दा ठुलो घाउरूपी शोषण र अन्यायलाई सहने शक्तिमात्र (दुखाइ कम गर्ने पेनकिलरको काम) प्रदान गर्छ । कष्टमय जीवनलाई कर्मको फल भन्दै स्वीकार्न लगाउदै साँचो खुसीबाट टाढामात्र राख्छ शोषितलाई धर्मले । त्यस्तै, लेनिनको शब्दमा, ‘धर्म एउटा आध्यात्मिक रक्सी (spiritual booze) हो, जसमा शोषित र दासहरूले आफ्नो न्यायोचित जीवनको लागि उठाउने मागलाई डुबाइ दिन्छ ।’ शोषण गर्नेहरूले राज्य शक्ति धर्मको आडमा गरिब र शोषितलाई मृत्युपछि स्वर्गको आश देखाउने र पुनर्जीवनमा सुखी जीवनको सपना मात्र देखाउँछ । यही वास्तविकतालाई मनन गरी लेनिनले राज्यलाई धर्मबाट अलग्याउनुपर्ने विचार राखेका थिए । उनका अनुसार धर्म नितान्त वैयक्तिक विषय हो र राज्यले यसलाई बोक्नु हँुदैन ।
दास, सामन्ती र औद्योगिक पुँजीवादी युुगमा हुने गरेका विभिन्न शोषणहरूलाई अन्त्य गर्न धर्मको केही भूमिका नदेखिएको बरू उल्टै यस्तो शोषण, असमानता र विभेदलाई ईश्वरले निर्धारण गरेका कुरा हुन् भनी यसलाई सहज रूपमा स्वीकार्नु पर्ने आग्रह विभिन्न धर्म र धार्मिक शास्त्रहरूमा उल्लेख भएका छन् । यो माक्र्सवादी विश्लेषण आधारित भएको सहजै अनुमान लगाउन सकिन्छ । त्यस्तै हिन्दू धर्ममा निहित वर्ण व्यवस्था र उचनीच जातको व्यवस्था, युरोप र अन्य देशहरूमा सामन्ती राजा रजौताहरूले आफूले दैवीशक्तिको प्रतिनिधित्व गरको भन्दै शासन गर्ने प्रथा, अमेरिकामा मालिकहरूले दासहरूलाई नरम बनाउन इसाई धर्ममा परिणत गराउने तथा औद्योगिक क्रान्तिताका बेलायतमा मजदुरहरूलाई दबाउँदै साम्य पार्न मालिक वर्गले धर्मको पूर्ण सहयोग र समर्थन लिएका घटनाहरूको सन्दर्भमा यो विश्लेषण आधारित भएको प्रस्ट हुन्छ ।
Leave a Reply