भर्खरै :

नागरिक र नगरपालिकाहरू

नागरिक र नगरपालिकाहरू

प्राचीनकालमा नागरिक र नगरपालिकाहरूको बयानबारे हडप्पा सभ्यता र महेन्जोडोले नगर सभ्यताबारे सुन्ने र पढ्ने गर्थे । युग अगाडि बढ्दै जाँदा नगरका अङ्कहरू साँघुरा हुँदै गए र नगरपालिका कमजोर हुँदै गए भने विषयमा छलफल हुनेगथ्र्याे । प्राचीन नगरहरूको उत्खनन् र अध्ययनहरूले आगो र पानीबाट ध्वस्त भएको हुँदा त्यसबेलाका समाजहरूको बिचमा लडाइँ हुँदा आगो र पानीको प्रयोग भयो कि भन्ने अड्कल काट्न सजिलो हुन्छ । नगरका अवशेषहरूमा खरानी र हरेक कोठा र तल्लामा बालुवाको थुप्रो देखिँदा युद्धमा आगो र पानीको प्रयोगको लख काटिन्थ्यो । भारत र नेपालका केही नगरहरू र त्यसबेलाका पुस्तकालय वा अभिलेखालयहरू शत्रु पक्षले आगो लगाएको कथा र लेखोट पाइन्छ ।
अर्काे सत्य के हो भने नगरको निर्माणमा भूगोलको ठुलो महत्व देखिन्छ । पानीको उपलब्धता, कृषिको सम्भावना र पशुपालन एवं बाढी पहिरोको जोखिम कम देखिने ठाउँ एवं अन्य दिशामा यात्रा गर्न जाने सम्भावनालाई समेत ध्यान दिनु तर्कसङ्गत विषय हो ।
केही नगरहरू बस्तीहरूको स्वाभाविक विकासले नगर बन्दै गएका होलान् भने मानिसको विकास र सभ्यतासँगै नियोजित रूपले नगरहरूको निर्माण भएका होलान् ।
एक आपसमा नजिकका बस्तीहरूको माझमा आवतजावत र सामानको साटफेर एवं शनै शनै व्यापार वाणिज्यले नगरहरू बढ्दै गए होलान् । हालैको भोटेकोसीको बाढी र हिमपहिरोजस्ता प्राकृतिक विपत्तिले कति बस्ती, गाउँ र स–साना नगरहरू बगे होलान् ।
त्यसपछिका गाउँ, बस्ती र नगरवासीहरूले आ–आफ्नै अनुभवले प्राकृतिक प्रकोपबाट क्षति हुने ढङ्गले घर र बस्तीहरू निर्माण गरे होलान् । तर, भूकम्पीय क्षेत्रमा पर्ने हाम्रो देशमा ५० वर्षमा एउटा ठुलो भूकम्प हुने क्षतिबाट घर निर्माण र नयाँ नयाँ प्रविधिको विकास गरे होलान् ।
हालसम्मका भक्तपुरकै जनताको सानो र छोटो अनुभवले पनि नगरलाई व्यवस्थित गर्न केही नभई नहुने मानवीय सेवा र शक्ति आवश्यक हुन्छ । जस्तैः– सफाइ मजदुर, जाँचकी, इन्स्पेक्टर, ऐन–कानुनको समेत ज्ञान भएका इन्जिनियर, आर्किटेक, समयअनुसार महँगो र ठुला ठुला निर्माणको जग हाल्नसमेत स्ट्रक्चर इन्जिनियर, नक्सापाससम्बन्धी साधारण जनता वा सेवाग्राहीलाई नक्सापासको आवश्यकताबारे बुझ्ने भाषामा सम्झाउन सक्ने वास्तुकलाविद् (आर्किटेक) ढल निर्माण र फोहर पानीको उपचारको निम्ति जानकार विशेषज्ञ तथा फोहर व्यवस्थापन र कुहिने वस्तु र नकुहिने वस्तुको पुनः प्रयोगका जानकारहरू पनि अति आवश्यक हुनु स्वाभाविक हो । खानेपानी, मासु पसल र अन्य खाद्य अनुसन्धानका प्रयोगशाला र विशेषज्ञ अति आवश्यक छ ।
माथि उल्लेखित कर्मचारी र प्राविधिकहरू देश र जनताप्रति समर्पित भावनाले प्रेरित भएमा देश र जनताले उपयुक्त सेवा प्राप्त गर्नेछन्, व्यक्तिगत स्वार्थ र पदोन्नतिलाई मात्र प्राथमिकता दिने र दोहरो–तेहरो आम्दानीको स्रोतकै निम्ति काम गर्ने कर्मचारीकै कारणले सरकारको निर्माण र सेवा सदा विवादमा पार्नु अस्वाभाविक होइन । पहिलेदेखि १० बजेदेखि ४ बजेसम्म काम गरी छिट्टै पेन्सन पकाएर आनन्दले जीवन बिताउने पुरानै कर्मचारी प्रवृत्तिले आजको जटिल समाजमा पुरानो मानसिकताले नगर त के गाउँपालिकामा समेत समस्या बढ्दै जानेबारे दुईमत नहोला !
माथिल्ला कर्मचारी, प्राविधिक एवं विशेषज्ञहरूको तलब, भत्ता र सहुलियत एवं पोशाक आदिबारे पहिले नै जनताको हिसाबकिताब टोल टोलमा र वडाहरूमा जानकारी दिन पाए नागरिक भावनाको उच्चत्तर विकास गर्न सजिलो हुनेछ । यसको जानकारीले जनतासँग श्रमदान र बजेट विनियोजनबारे जनतालाई शिक्षित गर्नु अत्यन्त लाभप्रद हुनेछ ।
समयअनुसार हरेक नगरले वर्तमानमा प्रदान गरेको सेवा र अब के कसरी थप सेवा उपलब्ध गराउने हो र त्यसबाट जनतालाई कसरी जानकारी दिँदै जाने हो भन्नेबारे नगरसभा र टोल टोल र वडाहरूमा पनि जानकारी दिने र छलफल चलाउनु नगर र नागरिक भावनाप्रतिको कर्तव्य पूरा हुने बाटोमा पाइला चालेको ठहर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *