भर्खरै :

सचेत र सङ्गठित शक्तिले मात्र क्रान्तिलाई सफलतामा पु¥याउने

सचेत र सङ्गठित शक्तिले मात्र क्रान्तिलाई सफलतामा पु¥याउने

भक्तपुर, १८ असोज । नेपाल प्राध्यापक समाज केन्द्रीय समितिको आयोजनामा ‘वातावरण सङ्कट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार ख्वप कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एउटै विषयवस्तुलाई फरक फरक दृष्टिकोणले हेर्दा फरक फरक विचार देखापर्ने चर्चा गर्दै भन्नुभयो, “गौतम बुद्धले संसारमा दुःख छ, दुःखको कारण छ, दुःखबाट मुक्ति पाउन सकिन्छ भनी विचार व्यक्त गर्नुभयो; भौतिकवादीहरूले दुःखको कारण शोषण हो भनी व्याख्या गर्नुभयो । अर्थशास्त्री माल्थसले जनसङ्ख्या वृद्धिले भोकमरी र युद्ध हुने, प्राकृतिक प्रकोप वा रोगब्याधी फैलिने र अन्तमा प्रकृतिले नै जनसङ्ख्या नियन्त्रण गर्ने कुरा उल्लेख गर्नुभयो । तर, उहाँले पुँजीपतिवर्गले उपभोग्य वस्तुको मूल्य वृद्धि गरेर गरीबहरू भोकमरीमा पर्ने, किटाणु, जीवाणु, परजीवीको कारण रोग लाग्ने कुराहरू उल्लेख गर्नुभएन ।”
जनसङ्ख्या धेरै भएर मात्र क्रान्ति नहुने बरू सचेत र सङ्गठित जनताले मात्र क्रान्ति गर्न सक्ने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले अमेरिकी स्वतन्त्रता आन्दोलनको समयमा संरा अमेरिकामा धेरै जनसङ्ख्या नभएको उदाहरण प्रस्तुत गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय स्रोत साधनको बढीभन्दा बढी सदुपयोग गर्न सकियो भने वातावरण संरक्षण हुनुको साथै देशको विकास र जनताका आवश्यकता पूरा हुनेछ । ब्राजिलको जङ्गललाई संसारकै फोक्सो मानिन्छ । तर त्यहाँका राष्ट्रपति बोल्सोनाराले रूखहरू काट्न लगाई वातावरण बिगार्ने काम गराए । इजरायलका प्रधानमन्त्रीले इरान र प्यालेस्टिनमाथि युद्ध थोपरे† संरा अमेरिकाले इजरायललाई सहयोग र साथ दियो । युद्धले वातावरण बिग्रिरहेको छ । यदि अमेरिकाले युद्धमा गरेको खर्च रकम गरिब देशको विकासमा सहयोग गरेको भए संसारका गरिबहरूले पनि सुखका साथ बाँच्न पाउँथे ।”
सत्तामा पुगेका पार्टीका नेता र उच्च ओहदाका कर्मचारीहरू जनताको सेवाभन्दा पनि व्यक्तिगत स्वार्थमा लिप्त भएका कारण देश विकासको योजना कार्यान्वयन हुन नसकिरहेको बारे बुद्धिजीवी र सचेत वर्गले बहुमत सर्वसाधारण जनतालाई राम्ररी बुझाउन जरूरी रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “चीनले उजाड मरूभूमिलाई पनि हरियाली बनाइरहेको छ† जलविद्युत् र सौर्यप्रणालीलाई जोड दिई विश्वको तापमाम वृद्धिलाई रोक्ने प्रयास गरिरहेको छ । तर, अमेरिकाले हतियार र युद्ध निर्यात गरी संसारमा अशान्ति मच्चाउने दुष्प्रयास गरिरहेको छ ।”
आयोजक समितिका उपाध्यक्ष एवम् ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले शिक्षक–प्राध्यापकहरू निरन्तर अध्ययनशील भई प्राकृतिक प्रकोपलगायत समसामयिक विषयमा छलफल, अन्तरक्रियाजस्ता कार्यक्रममा लागिरहँदा थप ऊर्जा प्राप्त हुने र त्यस्तो ऊर्जाशक्तिले समाजमा सचेतना बढाउन सकिने धारणा राख्नुभयो ।
आयोजक समाजका केन्द्रीय सचिव एवम् ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उहाँले इसानबाट प्रकाशित ‘वातावरणः सङ्कट र सभाधान’ पुस्तकमा उल्लेखित विषयको सङ्क्षिप्त जानकारी प्रस्तुत गर्नुभयो ।
समाजका केन्द्रीय सदस्य एवम् ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले ‘वातावरणीय सङकट, जलवायु परिवर्तन र पुँजीवाद’ बारे श्रव्य दृश्यसहित तथ्यगत जानकारी व्याख्यात्मक रूपमा प्रस्तुत गर्नुभयो ।
समाजका केन्द्रीय सदस्य एवम् ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले भू–गर्भविद्को हैसियतले पृथ्वीको बनोट, बाढी, पहिरो, भूकम्प, हिमाली क्षेत्रका प्राकृतिक प्रकोपलगायतका विषयमा श्रव्यदृश्यसहित व्याख्यात्मक प्रस्तुतीकरण गर्नुभयो ।
समाजका केन्द्रीय सदस्य एवम् वागीश्वरी कलेज अफ म्यानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले स्वागत मन्तव्य राख्दै भन्नुभयो, “प्राकृतिक विपद्ले मात्र होइन, मानवीय कारणले पनि वातावरणमा सङ्कट देखा परेको छ ।”
कार्यक्रममा ख्वप कलेजका शिक्षक सुनिता गाईसी, वागीश्वरी कलेजका राजन फेलुलगायतले जिज्ञासा राख्दै आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *