सचेत र सङ्गठित शक्तिले मात्र क्रान्तिलाई सफलतामा पु¥याउने
- आश्विन १८, २०८३
भक्तपुर, १९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरका युवा पुस्ता सांस्कृतिक क्रियाकलापमा सक्रिय हुँदै संस्कृति संरक्षण र संवद्र्धनमा अग्रसर हुनु सांस्कृतिक उपलब्धि भएको बताउनुभएको छ ।
भक्तपुर नगरपालिका–५ को आयोजनामा आइतबार सम्पन्न सांस्कृतिक समूहको भेलामा बोल्दै अध्यक्ष बिजुक्छेँले मनोरञ्जन वा मठमन्दिरको भ्रमणको क्रममा मात्र बाजागाजाको प्रयोग नहुने बताउँदै युद्ध, जन्म, मृत्यु तथा अन्य सामाजिक अवसरमा समेत यसको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । उहाँले बाजागाजा हाम्रो संस्कृति र जीवनपद्धतिको अभिन्न अङ्ग भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “युवाहरू सांस्कृतिक क्रियाकलापमा अगाडि बढ्दै छन् । कला–संस्कृतिको संरक्षण र संवद्र्धनमा लागिपरेका छन् । यसलाई सांस्कृतिक उपलब्धि मान्न सकिन्छ । मनोरञ्जन वा मठमन्दिरको घुमघामका बेलामा मात्र बाजागाजाको उपयोग हुने होइन । बरु युद्धका बेला, मर्दापर्दासमेत यसको महत्व रहने हुँदा यो हाम्रो संस्कृति र जीवनपद्धति पनि हो ।”
मैथिली संस्कृतिमा सुख–दुःख मात्र नभई विभिन्न मनोभावसमेत गीतमार्फत अभिव्यक्त गर्ने परम्परा रहेको उल्लेख गर्दै उहाँले संस्कृति संरक्षणमा युवा पुस्ता अग्रसर हुनु सुखद पक्ष भएको बताउनुभयो ।
गाईजात्रा (सापारु) २०८३ को अवसरमा भक्तपुर नगरपालिकाले आयोजना गरेको विभिन्न विधाका सांस्कृतिक प्रदर्शनमा पुरस्कृत सांस्कृतिक समूह, संस्कृतिकर्मी तथा गुरुहरूलाई धन्यवाद तथा बधाई ज्ञापन गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले पाँच सांस्कृतिक समूह – श्री चण्डेश्वरी धिमे पुच, खिँछे दाफा भजन खल, मुक्ति सङ्गीत प्रशिक्षण केन्द्र, गलसी पुखु देवी प्याखं र ख्वप देवी प्याखं (महाकाली नाच) खल – लाई कदरपत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।
काठमाडौँ विश्वविद्यालयका सङ्गीत विधाका प्राध्यापक तथा सांस्कृतिक गुरु राजकुमार मानन्धरले नेपाली संस्कृतिको प्रमुख धरोहरमध्ये नौबाजा परम्परा अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । समय र संस्कृतिकर्मीको अभावका कारण यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उहाँले युवा पुस्ताको सक्रिय सहभागिताले नै गाईजात्रा तथा सापारु पर्वलाई जीवन्त राख्न सहयोग पुगेको बताउनुभयो ।
नयाँ पुस्ताका संस्कृतिकर्मी रेशिका जधारी, शुष्मी आचार्य, विविके दण्देख्या र विक्रम ढुकुछु तथा संस्कृति गुरु केदार किजूले संस्कृति संरक्षणमा युवाको भूमिकाबारे आ–आफ्नो धारणा राख्नुभयो ।
कार्यक्रमको सभापतित्व गर्दै वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले यस्ता भेटघाटले सामाजिक सम्बन्ध र संवादलाई जीवन्त राख्न सहयोग पुग्ने बताउनुभयो । उहाँले संस्कृति संरक्षणमा युवा पुस्ताको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रम सञ्चालन वडा सदस्य नारायणप्रसाद त्वानाबासुले गर्नुभएको थियो ।
Leave a Reply