भर्खरै :

जनरल भीमसेन थापाको नेपाली चेली र देशमाथिको योगदान

  • आश्विन २०, २०८३
  • सोनिशा प्रजापति
  • विचार
जनरल भीमसेन थापाको नेपाली चेली र देशमाथिको योगदान

जनरल भीमसेन थापा नेपाली नारीमाथिको अन्यायलाई नसहने एक स्वच्छ छविका देशभक्त थिए । उनी विदेशी शक्तिसामु कहिल्यै नझुक्ने योद्धा पनि थिए । मुख्तियार भीमसेन थापा देशनिर्माता भएका कारण चित्तरञ्जन नेपालीले उनले देश निर्माणमा गरेका योगदानका बारेमा चर्चा गरेका छन् । लेखकले थापाको सरदार, काजी, मुख्तियार, जनरल कमान्डर इन चिफसम्मको यात्रालाई राम्रोसँग विश्लेषण गरेका छन् । उनको मृत्यु दर्दनाक रहेको कुरा पनि यसै पुस्तकबाट सबैले थाहा पाउन सकिन्छ ।
जनरल भीमसेन थापालाई फसाउन राजा राजेन्द्रविक्रम शाहकी जेठी महारानी साम्राज्यलक्ष्मी देवीले पाण्डेहरू तथा ब्रिटिश रेजिडेन्टसँग मिलेर गरेका षड्यन्त्रलाई यो पुस्तकले तथ्यसहित प्रस्तुत गरेको छ । विभिन्न षड्यन्त्रका बिच उनको आत्मबल कमजोर पार्न फैलाएको हल्लाले सबैलाई दुखित तुल्याउँछ । तर पनि उनी दृढ भएर ढुङ्गाजस्तै अडिग भएर बसे । उनको यो आत्मबल टुटाउन षड्यन्त्रकारीहरूले नैतिकताको सीमालाई लत्याई जेलमा परेका थापाको कानमा आफ्नी श्रीमतीलाई बिनावस्त्र सहर डुलाएको हेर्नुपर्ने हल्ला फैलाए ।
यस हल्लाले उनको आत्मसम्मानमा आघात भई झ्यालको ऐना फोडी त्यसैको टुक्राले आफ्नै गलामाथि प्रहार गरेको जस्ता प्रचार भयो । त्यसको नौ दिनसम्म छटपटाएर १८९६ साउन १६ गते उनले प्राण त्याग गरेको भ्रम फैलाइयो । तर, भीमसेन थापालाई चिन्ने, बुझ्ने उनको देशभक्ति विचार, आचरण र कदमलाई नजिकबाट नियाल्ने इतिहासविद्हरू त्यो आत्महत्यालाई स्वीकार्दैनन् । उनीहरू त्यो नाटक हो, झूट हो भनी विरोध गर्छन् । उनी त्यस्ता डरछेरुवा होइनन् । उनी संसार जित्छु भनेर आएका बेलायती साम्राज्यवादलाई एसियाबाट भगाउन लागिपरेका व्यक्ति हुन् । उनी देशभक्त लडाकु भनेर थाहा पाएपछि बेलायतीहरूले उनको टाउको बेलायत लगेको सुनिन्छ । इतिहास जित्नेले लेख्छन् भन्ने कुरा त्यसै भनिएको होइन ।
जनरल भीमसेन थापाले ३१ वर्षको अवधिमा राजनीतिक आकाशमा चम्केर आफ्नो बुद्धि, राजनीतिक कुशलता एवं इमानदारीबाट आफ्नो साम्राज्यको किल्ला गाड्नका निम्ति कैयौँ राष्ट्रहरूलाई निल्दै अगाडि बढेको अङ्ग्रेज शक्तिबाट नेपाललाई जोगाएका मात्र थिएनन् कि त्यस साम्राज्यवादी शक्तिको विरोधमा एक भई लड्नका निम्ति भारतका राज्य, चीन, बर्मा, पर्सिया (इरान) आदि एसियाली राष्ट्रहरूलाई आह्वानसमेत गरी संसारमा सबभन्दा पहिले एसियाली एकताको निम्ति आवाज उठाएका थिए । तर, भारतका ग्वालियरका राजाले आफू आक्रमणबाट बच्न भीमसेन थापाले पठाएको गोप्य चिठी बेलायती साम्राज्यवादको हातमा पु¥याइदिएर विश्वासघात गरेको हामी सुन्छौँ ।
दासप्रथाविरुद्धको कदम उनको उत्कृष्ट कदममध्ये एक हो । उसबेला नेपालमा सबै काम राष्ट्रिय दृष्टिकोणबाट सोचेर गर्ने चलन थिएन । विभिन्न जाति वा स्थानविशेषलाई लिएर कार्य गर्ने चलन थियो । त्यसैले उनले देवशमशेर, चन्द्रशमशेर र पृथ्वीनारायण शाहको कार्यबाट शिक्षा लिई करिया प्रथा (ऋण र ऋणको ब्याज तिर्न नसक्दा चेलीहरूलाई दास, कमारा बनाउने) ले एकैसाथ देशव्यापी तवरमा बन्द नगरी जाति विशेष र स्थान विशेषको आधारमा प्रतिबन्ध लगाउँदै गए । तर, त्यस्ता दास मालिकहरूको षड्यन्त्र, दरबारिया षड्यन्त्रका कारण उनको दासत्व प्रथालाई नेपालबाट अन्त्य गर्ने काम अधुरो हुन गयो । उनले झाराप्रथा, बेठबेगारी बन्द गरे । यसको अर्थ थियो कसैले कसैलाई बिनाज्याला सित्तै काम गराउन नपाउनु । त्यसपछि राष्ट्रिय कार्यमा बाहेक अरु निजी भारी सित्तैमा बोकाउने कामलाई अवैध घोषित गरियो र ज्यालामा मात्र काम लगाउन पाइने निर्णयले मजदुर जनताले आफ्नो परिश्रमको पारिश्रमिक पाउन थाले ।
सरकारी कर्मचारीहरूले घूस लेलान् भन्ने कुरामा पनि उनले घुस प्रथाविरोधी कदम उठाएका थिए । त्यस समय रूपैयाँभन्दा अनाज सस्तो थियो । उनले किसान मोहीमाथि विशेष ध्यान दिई उनीहरूको मर्म बुझी मोहीको घरमा धान रहेसम्म तल्सिङले रूपैयाँ चाहिन्छ भन्न नपाउने नियम बनाइदिए र किसानलाई तल्सिङको शासनबाट मुक्त गरिदिए ।
उनले माना पाथीको समताको प्रबन्ध गरे । यस्तै व्यवसायीहरूको कारोबार एवं व्यवसायको सुविधा र समताका निम्ति जनरल भीमसेन थापाले नगदीमा १० प्रतिशत र जिन्सीमा २५ प्रतिशत ब्याज लिन पाउने नीति निर्धारण गरे ।
उनले काठमाडौँ उपत्यकाका नेवारहरूको सामाजिक रीतिरिवाज र प्रचलनमा सुधार लयाए । उनले देशका विभिन्न ठाउँमा भाउज्यूसित करणी गर्ने प्रथा र मामाकी छोरी बिहे गर्ने प्रथा पनि हटाउने प्रयास गरे ।
टुँडिखेलनेर धरहरा, घण्टाघर, विभिन्न स्थानका नदीहरूमाथि पुल हाल्ने, बाटो बनाउने, पाटी–पौवा स्थापना गर्ने, किल्ला तयार गर्ने, धरहरानेर सुनधाराको निर्माणको साथै पिउने पानीका निम्ति धारा र खेतीका निम्ति कुलोको पनि प्रबन्ध गरेका थिए ।
उनले देशको आर्थिक स्रोत अब्बल बनाउन विभिन्न जिल्लामा सन्तुलित सहर र बजार बसाउनका निम्ति आवश्यक कदम उठाएका थिए ।
उनले मालपोतबाहेक भन्सारलाई पनि राष्ट्रिय आम्दानीको साधन बनाए । उनकै पालामा हातहतियार लुकाएर ल्याउने तथा सरकारले स्वीकार गरेको भन्दा बढ्ता मुद्रा देश बाहिर लैजाने माथि कडाइ गरिएको थियो ।
१८९३ मा अनावृष्टिको बेला उनले अनिकाल पर्न नदिन र कालाबजारी कम गरी जनता भोकै नपरून् भन्ने विचारले सरकारद्वारा निर्धारित भाउमा धान बेच्नुपर्ने नियम बनाए र धानको लागत सरकारलाई सबैले दिनैपर्ने नियम बनाए ।
नेपालको इतिहासमा यिनैको समयदेखि सर्वसाधारण जनतालाई पनि राष्ट्रको दोस्रो मुख्य पद मुख्तियार खुला रहन गयो । त्यसपछिबाट नेपाली जनताले पनि वास्तविक रूपमा राज्यको शासक बन्ने मौका पाउन थाले ।
यसरी भीमसेन थापाले आफ्नो शासनकालमा देशको शासन व्यवस्था सुधार कार्यमा विकास गरेका थिए । करियाप्रथाविरोधी कदमदेखि लिएर देशको प्रत्येक सामाजिक विकृति विसङ्गतिलगायत अन्य समस्या सुधार गर्ने प्रयास उनले गरेका थिए ।
सो पुस्तकमा भीमसेन थापाले आफ्नो जीवनकालमा गरेका योगदानलाई लालमोहर र विभिन्न पत्रहरू समेटेर प्रस्तुत गरेकाले पुस्तकलाई अझै राम्रो बनाएको छ । विदेशी इतिहासकारहरूले थुपारिएको नेपाली इतिहासका पुस्तकहरूमा यो पुस्तक एउटा पृथक महत्वपूर्ण ग्रन्थका रूपमा स्थापित देखिन्छ । पुस्तकका लेखक चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) र प्रकाशक रत्न पुस्तक भण्डारलाई साधुवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *