भर्खरै :

अध्ययनले शैक्षिक, बौद्धिक तथा चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्छ

अध्ययनले शैक्षिक, बौद्धिक तथा चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्छ

भक्तपुर, २० असोज । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा चिठी, कथा, निबन्ध तथा कविता वाचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले मजदुरहरूले आफ्नो कामसँगै अध्ययनलाई पनि निरन्तरता दिई विभिन्न विषय तथा क्षेत्रको ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभयो । अध्ययनले मानिसको शैक्षिक, बौद्धिक तथा चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
उहाँले साहित्यले समाजका विकृति, विसङ्गति र अन्यायबारे उजागर गर्दै जनचेतना अभिवृद्धि गर्न सहयोग पु¥याउने उल्लेख गर्नुभयो । साहित्यले श्रमिक तथा सर्वसाधारण जनताको सांस्कृतिक स्तर उकास्न महत्वपूर्ण योगदान दिने उहाँको भनाइ थियो । आफूले भोगेका र देखेका विषयलाई साहित्यका माध्यमबाट अभिव्यक्त गर्दै जीवन्त र जनमुखी सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले वर्गीय दृष्टिकोण र वैज्ञानिक विचारधारालाई आत्मसात् गर्दै समाज परिवर्तनका लागि अघि बढ्नुपर्ने बताउनुभयो । पुँजीवादी व्यवस्थामा जनताको श्रमको उचित मूल्याङ्कन नहुने उल्लेख गर्दै उहाँले जनताको सचेत र सङ्गठित प्रयासबाट मात्रै सामाजिक परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले विगतमा जनताले विभिन्न आन्दोलनमार्फत परिवर्तनका लागि सङ्घर्ष गरे पनि अहिले पनि समाजमा पुँजीवादी र साम्राज्यवादी प्रवृत्तिको समस्या देखिएको बताउनुभयो । यस्ता प्रवृत्तिविरुद्ध सचेत रहँदै जनताको पक्षमा निरन्तर आवाज उठाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा ई. राजेन्द्र हाडाले विगतका भोगाइ र अनुभवहरू सुनाउनुभयो ।
कार्यक्रमको सभापतित्व नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला अध्यक्ष विष्णुराम दुमरुले गर्नुभएको थियो ।
कार्यक्रममा सङ्घका विक्रम ढुकुछु, रामकृष्ण बखुन्छेँ, पञ्चरत्न सैंजु, कपिल दुवाल र राजेश वाङायोलगायतले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सङ्घका सचिव रमेश दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *