भर्खरै :

बडा दसैँ २०८३ को अवसरमा सचेतना ¥याली सम्पन्न

बडा दसैँ २०८३ को अवसरमा सचेतना ¥याली सम्पन्न

भक्तपुर, असोज २४ । भक्तपुर नगरपालिका वडा नं. ९ स्थित सामुदायिक विद्यालयहरूको समन्वय समितिको वार्षिक कार्यतालिकाअनुसार शनिबार बडा दसैँ २०८३ को अवसरमा सचेतना ¥याली सम्पन्न भयो ।
वागीश्वरी मावि, सरस्वती विद्यागृह मावि र दत्तात्रय आविको संयुक्त आयोजनामा वागीश्वरीको प्राङ्गण च्याम्हासिंहबाट निकालिएको उक्त ¥याली सूर्यमढी, दत्तात्रय, इनाचो, गोल्मढी, लालाछेँ, भोलाछेँ, महालक्ष्मी, क्वाठण्डौ, नगांचा, मूलढोका, पाइपलाइन, लान्चाफल्चा, कमलविनायक आवास, तुमचो हुँदै सरस्वती विद्यागृहमा पुगी ¥याली टुङ्गिएको थियो ।
¥यालीमा ‘जुवा तास नखेलौँ, संस्कृतिलाई सभ्य बनाऔँ, चङ्गा उडाऔँ तर दुर्घटनाबाट जोगिऔँ, लङ्गुरबुर्जा नखेलौँ जुवाडे नबनौँ, मद्यपान नियन्त्रण गरौँ’ जस्ता अनेक प्लेकार्डहरू विद्यार्थीहरूले बोकेका थिए ।
¥यालीपछि आयोजित सभामा शुभकामना मन्तव्य दिँदै समन्वय समितिका संयोजक ज्ञानसागर प्रजापतिले ¥यालीमा सहभागी विद्यार्थीहरूलाई प्लेकार्डमा भएको नाराअनुसार गर्न सपथ खुवाउँदै समाजमा हामी आफै नमुना बन्न सक्नुपर्छ भन्नुभयो ।
सभामा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले सहभागी सबैलाई धन्यवाद दिँदै एकापसमा मिलेर संस्कृति सुन्दर बनाउने जिम्मा हामी सबैको हो भन्नुभयो भने सरस्वती विद्यागृहका प्रअ गुनराज साम्पाङले अनुशासित विद्यार्थीहरू नकारात्मक कुनै पनि क्रियाकलापमा नलाग्ने विश्वास व्यक्त गर्दै समाज सभ्य बनाउन विद्यार्थीहरूले ठुलो भूमिका निर्वाह गर्नसक्ने विचार व्यक्त गर्नुभयो । सभामा दत्तात्रय आविका प्रअ सज्जनमान प्रधानले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *