भर्खरै :

के टिग्रे युद्ध चर्किएसँगै इथियोपियाका छिमेकी राष्ट्रहरूले हस्तक्षेप गर्लान् ?

  • आश्विन २४, २०८३
  • जेकारियास जेलालेम, अडिस अबाबा, इथियोपिया
  • विचार
के टिग्रे युद्ध चर्किएसँगै इथियोपियाका छिमेकी राष्ट्रहरूले हस्तक्षेप गर्लान् ?

(टिग्रेमा पुनः सुरु भएको युद्धले इथियोपियाको पहिलेदेखि नै तनावपूर्ण रहेको क्षेत्रीय सम्बन्धहरूको कडा परीक्षा लिइरहेको छ ।)
करिब दुई सातासम्म चलेको भिषण लडाइँपछि इथियोपियाको सङ्घीय सेना टिग्रे क्षेत्रको राजधानी मेकेल्लेमा प्रवेश गरेको छ । यस क्रममा टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (TPLF) सहितका विद्रोही समूहहरूको गठबन्धनले सहरबाट आफ्नो फौज फिर्ता गरेको बताइएको छ ।
गत महिनाको अन्त्यतिर सुरु भएको यो युद्धले सन् २०२२ मा भएको प्रिटोरिया युद्धविराम सम्झौता तथा त्यसपछि कायम रहेको नाजुक शान्तिलाई प्रभावकारी रूपमा समाप्त गरेको छ ।
तर, मेकेल्लेको नियन्त्रणमा आउनु सम्भवतः युद्धको अन्त्य नभई परम्परागत सैन्य सङ्घर्षको अन्त्य मात्र हुनसक्छ । टिग्रेका अन्य क्षेत्रमा लडाइँ जारी रहेको छ भने इरिट्रियाली सैनिकहरू उत्तरी टिग्रेका सहरहरूमा प्रवेश गरेको भन्ने रिपोर्टहरूले द्वन्द्वमा अझ खतरनाक क्षेत्रीय आयाम थपिदिएको छ ।
इथियोपियाली सङ्घीय सेनाले हवाई शक्ति र स्थल सेनाको प्रयोग गर्दै टिग्रेभरि आफ्नो अग्रसरता बढाएको थियो । अलामाटा र कोबो सहर आसपास लगातार पराजय भोगेपछि विद्रोही सेनाहरू वरपरका ग्रामीण क्षेत्रमा पछि हटेका थिए । उनीहरूले लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“हामी शत्रुसँग हाम्रो सर्तमा र हामीले रोजेको स्थानमा सामना गर्नेछौँ,” टीपीएलएफ नेता डेब्रेट्सियन गेब्रेमाइकलले भने ।
युद्ध समाप्त भइसकेको छैन
सन् २०२० मा सुरु भएको युद्धसँग यस घटनाको केही समानता देखिन्छ । त्यतिबेला प्रधानमन्त्री अबिइ अहमदको सरकारले सङ्घीय सेनाले मेकेल्ले कब्जा गरेपछि विजय घोषणा गरेको थियो । तर, त्यसपछि टिग्रेयन सेनाहरू पहाडी क्षेत्रमा पुनर्गठित भएका थिए, क्षेत्रको ठुलो भाग पुनः आफ्नो नियन्त्रणमा लिएका थिए र राजधानी पनि फिर्ता कब्जा गरेका थिए । यसले युद्धलाई झन्डै डेढ वर्षसम्म लम्ब्याएको थियो ।
नयाँ द्वन्द्वले पनि यस्तै दिशा लिन सक्ने सम्भावना छ, विशेष गरी यदि टीपीएलएफ र अन्य सशस्त्र समूहहरूले पहाडी भूभागलाई आधार बनाई दीर्घकालीन सशस्त्र विद्रोह सञ्चालन गर्न सफल भए भने ।
इथियोपिया अहिले अम्हारा र ओरोमिया क्षेत्रमा पनि विद्रोही गतिविधिहरूसँग जुधिरहेको छ । यसले सङ्घीय सेनामाथि एकै समयमा धेरै मोर्चाहरूमा लड्नुपर्ने दबाब बढ्न सक्ने अवस्था सिर्जना गरेको छ ।
तर, विद्रोही पक्षले भोगेका युद्ध क्षेत्रका पराजयले टिग्रेभन्दा टाढासम्म असर पार्न सक्ने सम्भावना छ । अफ्रिकी मामिलाका विश्लेषक होस्सामाल्दिन इब्राहिमका अनुसार यसले इजिप्ट तथा इथियोपियाका अन्य प्रतिद्वन्द्वीहरूमा चिन्ता बढाएको छ ।
“इजिप्टले पुनर्जागरण बाँध (Renaissance Dam) र इथियोपियाको कुनै पनि सैन्य गतिविधि लाल सागर (Red Sea) तर्फ अघि बढ्नुलाई रणनीतिक खतरा ठान्छ । त्यसैले, उसले इथियोपियाको एकपक्षीय कदमको प्रतिरोध गर्न इरिट्रिया, सुडान र सोमालियासँग गठबन्धन बनाएको छ,” इब्राहिमले अल जजीरालाई भने ।
“इथियोपिया समुद्रसम्म पहुँच खोजिरहेको छ भने इरिट्रियाले यसलाई आफ्नो अस्तित्वमाथिको खतराको रूपमा हेर्छ ।”
लाल सागरप्रति इथियोपियाको महत्वाकाङ्क्षा
सन् १९९१ मा इरिट्रियाले स्वतन्त्रता युद्ध जितेपछि इथियोपिया भूपरिवेष्ठित राष्ट्र बनेको थियो । त्यसयता अडिस अबाबा अन्तर्राष्ट्रिय व्यापारका लागि छिमेकी देशहरूमाथि अत्यधिक निर्भर रहँदै आएको छ ।
सन् २०२३ यता प्रधानमन्त्री अबिइ अहमदले लालसागरमा पहुँचलाई रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउँदै आएका छन् । विशेष गरी असाब बन्दरगाहलाई लिएर इथियोपियाको अभिप्रायबारे इरिट्रियामा चिन्ता बढेको छ ।
हाल इथियोपिया समुद्री व्यापारका लागि मुख्य रूपमा जिबुटीमा निर्भर छ । उसले केन्या र सोमालिल्यान्डमार्फत वैकल्पिक व्यवस्था खोज्ने प्रयास पनि गरिरहेको छ ।
जून १ मा भएको निर्वाचनमा आफ्नो दलको विजयपछि सोमबार अर्को पाँचवर्षे कार्यकालका लागि शपथ ग्रहण गरेका अबिइले संसद्मा सम्बोधन गर्दै पुनः यस मुद्दालाई प्राथमिकताका साथ उठाए ।
उनले संसद्लाई सम्बोधन गर्दै भने, “लिने र दिने सिद्धान्तका आधारमा, इथियोपियाले समुद्रसम्म पहँुच प्राप्त गर्ने सुनिश्चित गर्न हामी दृढतापूर्वक काम गर्नेछौँ ।”
यो मुद्दा क्रमशः व्यापक क्षेत्रीय प्रतिस्पर्धाको एक महत्वपूर्ण हिस्सा बन्दै गएको छ ।
एउटा खुकुलो क्षेत्रीय गठबन्धन
हालका महिनाहरूमा इजिप्ट, इरिट्रिया, सुडान र सोमालियाले इथियोपियाका क्षेत्रीय महत्वाकाङ्क्षाप्रति समान प्रकारका चिन्ता व्यक्त गर्दै आएका छन् । अक्टोबर ४ मा यी चार देशका नेताहरू इजिप्टको न्यु अलामेनमा आयोजित चारपक्षीय परामर्श शिखर सम्मेलनमा सहभागी भए, जहाँ उनीहरूले क्षेत्रीय मुद्दाहरूमा छलफल गर्दै राजनीतिक, आर्थिक र व्यापारिक सहयोगका साथै परामर्श र समन्वयलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यद्यपि, यो बैठकले कुनै औपचारिक सैन्य गठबन्धनको रूप लिएको छैन र अडिस अबाबासँगको सम्बन्धमा यी चारै देशका आ–आफ्नै फरक स्वार्थ र प्राथमिकताहरू छन् ।
शिखर सम्मेलनबाट जारी संयुक्त घोषणापत्रले सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त तथा विवादहरूको शान्तिपूर्ण समाधानमा समेत जोड दिएको छ ।
तर, लालसागर, नाइल नदी र हर्न अफ अफ्रिका क्षेत्रसँग सम्बन्धित इथियोपियाका महत्वाकाङ्क्षालाई लिएर यी देशहरूको चिन्ता क्रमशः एक–अर्कासँग मिल्दै गएको छ ।
प्रिटोरिया युद्धविराम सम्झौतापछि इथियोपिया र इरिट्रियाबिचको सम्बन्ध पनि तीव्र रूपमा बिग्रिएको छ । इथियोपियाले अक्टोबर १ मा इरिट्रियास्थित आफ्नो दूतावास बन्द ग¥यो र इरिट्रियाली कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै अस्मारामाथि शत्रुतापूर्ण गतिविधि तथा पुनः सुरु भएको युद्धमा संलग्न रहेको आरोप लगायो । जवाफमा इरिट्रियाले कूटनीतिक सम्बन्धविच्छेद ग¥यो, यद्यपि उसले विपक्षी गठबन्धनलाई समर्थन गरेको आरोप अस्वीकार गरेको छ । इजिप्ट र सुडानले पनि उक्त गठबन्धनलाई समर्थन गरिरहेको भन्ने इथियोपियाको आरोपलाई अस्वीकार गरेका छन् ।
टिग्रे क्षेत्रमा इथियोपियाली सेनाको अग्रसरताले यो प्रतिस्पर्धा र तनावमा थप नयाँ आयाम थपिदिएको छ ।
“टिग्रे क्षेत्रमा इथियोपियाली सेनाकोे अग्रसरताले प्रत्यक्ष रूपमा इरिट्रियाली राष्ट्रपति इसाइयास आफ्वेर्की र इरिट्रियाली राज्यलाई नै खतरा पु¥याएको छ,” मियामी विश्वविद्यालयका अफ्रिकी इतिहासका सहायक प्राध्यापक एटाना एच. डिन्काले भने ।
सन् २०२० देखि २०२२ सम्म चलेको टिग्रे युद्धका क्रममा इरिट्रियाली सेनाले इथियोपियाली सेनासँग मिलेर लडेको थियो, तर त्यसयता अबिइ र इसाइयासबिचको सम्बन्ध बिग्रिँदै गएको छ । उत्तरी टिग्रेका विभिन्न सहरहरूमा इरिट्रियाली सैनिकहरू देखिएको खबर सार्वजनिक भएको छ, जसले यस द्वन्द्वलाई सम्भावित रूपमा नयाँ र महत्वपूर्ण आयाम दिएको छ । एसोसिएटेड प्रेसका अनुसार, इरिट्रियाली सैनिकहरू इथियोपियाको सीमा पार गरेर आदिग्राट र इदागा–हमुसमा प्रवेश गरेका छन् । यद्यपि, इरिट्रियाले सैनिकहरूको उक्त गतिविधिबारे न त पुष्टि गरेको छ न त खण्डन नै ।
इरिट्रियाको भूमिका निर्णायक हुन सक्छ
इरिट्रियाका लागि युद्धको नतिजा जत्तिकै यसको स्थान पनि महत्वपूर्ण छ ।
टिग्रेमा लामो समयसम्म द्वन्द्व जारी रह्यो भने इथियोपियाली सेना त्यहीँ अल्झिरहन सक्छ र अडिस अबाबाको लालसागरसम्बन्धी महत्वाकाङ्क्षा अघि बढाउने क्षमता सीमित हुन सक्छ । तर, इथियोपियाले निर्णायक विजय हासिल गरेमा सङ्घीय सरकारलाई आफ्नो ध्यान क्षेत्रीय प्रतिद्वन्द्वीहरूतर्फ केन्द्रित गर्न थप स्वतन्त्रता मिल्न सक्छ ।
“इरिट्रियाली सैनिकहरू टिग्रेतर्फ अघि बढिरहेको भन्ने रिपोर्टहरूलाई हेर्दा, इरिट्रिया उत्तरतर्फ पछि हटिरहेका टीपीएलएफ बलहरूलाई सुदृढ बनाउन इच्छुक देखिन्छ, ताकि इथियोपियाली र इरिट्रियाली सैनिकहरूबिचको भिडन्त इरिट्रियाको भूमि नभई टिग्रे क्षेत्रभित्र होस्,” हर्न अफ अफ्रिकाको क्षेत्रका विषयमा अनुसन्धान गर्ने मोहम्मद खैर ओमरले भने ।
यसले इरिट्रियालाई प्रत्यक्ष युद्धमा संलग्न नभई पनि इथियोपियाली सेनालाई लामो समयसम्म व्यस्त राख्न सक्ने शक्तिहरूलाई समर्थन गर्ने प्रेरणा दिन सक्नेछ ।
सुडानले थपेको अर्को आयाम
सुडानको युद्धले क्षेत्रीय प्रतिस्पर्धामा अर्को आयाम थपेको छ ।
रोयटर्सका अनुसार, इजिप्टले सुडानी सेनालाई राजनीतिक समर्थनका साथै प्राविधिक र रसदसम्बन्धी सहयोग प्रदान गरेको छ । यसैबिच, ¥यापिड सपोर्ट फोर्सेस (RSF) माथि दार्फुर क्षेत्रमा अत्याचार गरेको आरोप लाग्दै आएको छ ।
इथियोपियामाथि आरएसएफलाई सहयोग पुग्ने वातावरण तयार गरिदिएको आरोप पनि लागेको छ । रोयटर्सको फेब्रुअरी महिनाको एक अनुसन्धानात्मक प्रतिवेदनअनुसार, इथियोपियाको पश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा आरएसएफसँग सम्बन्धित हजारौँ लडाकुहरूलाई तालिम दिइने शिविर सञ्चालन गरिएको थियो ।
रोयटर्सले आठ स्रोतलाई उद्धृत गर्दै, जसमा इथियोपिया सरकारका एक वरिष्ठ अधिकारी पनि समावेश थिए, संयुक्त अरब इमिरेट्स (यूएई) ले उक्त शिविर निर्माणका लागि आर्थिक सहयोग गरेको तथा सैन्य प्रशिक्षक र रसद सहायता उपलब्ध गराएको दाबी गरेको थियो । यूएईले यी आरोपहरू अस्वीकार गरेको थियो र रोयटर्सले पनि यूएईको भूमिकालाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको थियो ।
यी परस्पर प्रतिस्पर्धी सम्बन्धहरू नाइल नदी, सुडान, लालसागर तथा व्यापारिक मार्गहरूमा पहँुचसम्बन्धी व्यापक क्षेत्रीय प्रतिस्पर्धाको हिस्सा हुन् ।
इजिप्टका लागि ग्रान्ड इथियोपियन रेनेसाँस ड्याम (GERD) सम्बन्धी विवाद अझै प्रमुख रणनीतिक चिन्ताको विषय बनेको छ । इरिट्रियाका लागि भने इथियोपियाले लाल सागरमा पहुँच खोजिरहेको विषयलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट हेरिन्छ ।
सुडानका छिमेकी राष्ट्रहरूका लागि, यो द्वन्द्वले क्षेत्रीय शक्ति सन्तुलनलाई पुनः परिभाषित गर्न सक्ने खतरा बोकेको छ ।
के इजिप्ट, इरिट्रिया, सुडान र सोमालियाले हस्तक्षेप गर्ला ?
इथियोपियाका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरूबिच रहेका साझा हितहरूले आवश्यक रूपमा प्रत्यक्ष सैन्य हस्तक्षेपको अर्थ लगाउँदैनन् ।
इजिप्टका लागि नाइल नदी र सुडानसँग सम्बन्धित आफ्नै रणनीतिक हिसाबकिताबहरू छन् । इरिट्रियाको चासो भने टिग्रेमा भइरहेका घटनाक्रमसँग प्रत्यक्ष रूपमा राष्ट्रिय सुरक्षासँग जोडिएको छ । सोमालिया आफ्नै सुरक्षा चुनौतीहरू र अडिस अबाबासँगको जटिल सम्बन्धसँग जुधिरहेको छ । त्यस्तै, सुडान अझै पनि विनाशकारी गृहयुद्धमा अल्झिएको छ ।
यता, इथियोपियाका सङ्घीय सेनाले एकै समयमा धेरै मोर्चामा लड्नुपर्ने सम्भावनाको सामना गरिरहेका छन् ।
टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (TPLF), अम्हारा फानो र ओरोमो लिबरेसन आर्मी (OLA) ले देशका विभिन्न भागहरूमा सङ्घीय सरकारलाई चुनौती दिन खोजिरहेका छन् ।
यदि यी समूहहरूले प्रमुख जनघनत्व भएका सहरहरूबाट पछि हट्दै सेनामाथि निरन्तर दबाब कायम राख्न सके भने, मेकेल्लेको पतन सम्भवतः युद्धको अन्त्य नभई धेरै लामो द्वन्द्वको पहिलो चरण मात्र साबित हुन सक्छ ।
इथियोपियाका प्रतिद्वन्द्वी राष्ट्रहरूका लागि अहिलेको मुख्य प्रश्न भनेको त्यसको कमजोर अवस्थाको फाइदा उठाउने कि अर्को क्षेत्रीय युद्धमा तानिनबाट बच्ने भन्ने हो ।
क्षेत्रीय संलग्नताको स्तर अन्ततः टीपीएलएफले सङ्घीय सेनालाई टिग्रेमा व्यस्त राख्न र इरिट्रियाली सीमाबाट टाढा राख्न कत्तिको सफल हुन्छ भन्ने कुरामा निर्भर हुनसक्छ ।
“काइरोले वर्तमान युद्धमा इथियोपियालाई सफल हुन नदिन प्रतिबद्ध हुनुको कारण बुझ्न गा¥हो छैन, चाहे इथियोपियाली सेनाको उद्देश्य जे सुकै होस्, जसमा अबिइले बारम्बार उल्लेख गर्ने लालसागरसम्म पहुँचको लक्ष्य पनि समावेश छ,” मियामी विश्वविद्यालयका डिन्काले भने ।
अबको प्रश्न भनेको यी क्षेत्रीय रणनीतिक हिसाबकिताबहरू कूटनीतिक तहमा मात्र सीमित रहनेछन् वा प्रत्यक्ष रूपमा युद्धभूमिसम्म फैलिनेछन् भन्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *